कस्तो छ, सुन्ने क्षमता ?

कस्तो छ, सुन्ने क्षमता ?
सुन्नुहोस्

पाको उमेरमा कान कम सुनिने हुन्छ। यस समस्यालाई धेरैजसोले उमेरसँगै आउने सामान्य समस्याको रूपमा ठान्छन्। बुढ्यौली लागेपछि त यस्तो त भइहाल्छ नि भन्दै बेवास्ता गरिन्छ। तर वास्तवमा यो समस्या सामान्य होइन। यो सेन्सोरिन्युरल हियरिङ लस (श्रवणशक्तिमा ह्रास) हो। अर्थात् कानभित्रको नसामा क्षति भएर सुनाइ कम हुने अवस्था हो। जसले मानिसलाई विस्तारै मौनतर्फ धकेल्छ। 

यो समस्या कानको भित्री भाग कोक्लिया भनिने संवेदनशील स्थान बिग्रिँदा हुन्छ। कसैकसैमा यो जन्मैदेखि देखिन पनि सक्छ। तर धेरैजसोमा जीवनको कुनै चरणमा पुगेर विकास हुन्छ। कहिलेकाहीँ ज्वरो, संक्रमण, टाउकोमा चोट, विस्फोट, आतसबाजी, उद्योगका मेसिन वा लामो समयसम्म इयरफोन र हेडफोनको अत्यधिक प्रयोगका कारण अचानक पनि श्रवणशक्ति घट्न सक्छ। चर्को आवाजले भरिएको जीवनशैलीले यो समस्या चुपचाप बढाइरहेको छ। 

विशेषगरी ५० वर्ष नाघेपछि यो समस्या धेरै देखिन थाल्छ। सुरुवातमा व्यक्तिले हल्का आवाज नसुन्ने अनुभव गर्छ। विस्तारै ठूलो आवाज पनि अस्पष्ट लाग्न थाल्छ। मानिस बोलिरहेको त सुनिन्छ, तर शब्द बुझ्न गाह्रो हुन्छ। रेस्टुरेन्ट, भिडभाड वा समूहमा भएको कुराकानी सुन्न झन् कष्टकर हुन्छ। कतिपयको कानमा घण्टी, गुनगुन वा भुनभुनजस्तो आवाज पनि सुनिन सक्छ। यसको कारण कानभित्र रहेका साना–साना ‘हेयर सेल’ नामका कोषिकाहरू बिग्रिनु हो। यी कोषिकाले बाहिरको आवाजलाई मस्तिष्कले बुझ्ने संकेतमा बदल्ने काम गर्छन्। एकपटक क्षति भएपछि यी कोषिका आफैं निको हुँदैनन्। यही कारण यो समस्या प्रायः स्थायी हुन्छ। सुरुमा उच्च आवाज जसले बोली स्पष्ट बनाउँछ सो क्रिया हराउँछन्। स्वर सुनिए पनि अर्थ छुट्छ। त्यसैले कतिपयले सुनिरहेको तर बुझदनँ भन्ने गुनासो गरेको पाइन्छ। 

नेपालीहरूमा पनि यो समस्या बढ्दो छ। उमेरसँगै कानका समस्या बढ्दै जाने हुन्छ। कानका रोग, दीर्घकालीन स्वास्थ्य समस्या र उपचारमा ढिलाइले श्रवणको अवस्था झन् गम्भीर बनाउँछ। नेपालमा कानभित्रको नसाजन्य सुनाइ ह्रास कति जनामा छ ? कुन उमेरमा कति गम्भीर समस्या छ ? भन्ने स्पष्ट राष्ट्रिय तथ्यांक छैन। अध्ययन अनुसन्धान पनि हुन सकेको छैन। नवजात शिशुको श्रवण परीक्षण, नियमित जाँच कार्यक्रम र राष्ट्रिय अभिलेख प्रणाली अझै व्यापक रूपमा लागू हुन सकेका छैनन्। 

सुन्ने क्षमतामा ह्रास आउनुको अर्थ जीवन समाप्त हुनु भन्ने होइन। यद्यपि यो पूर्ण रूपमा निको नहुन सक्छ। तर यसको व्यवस्थापन सम्भव छ। धेरै व्यक्तिका लागि श्रवण यन्त्र (हियरिङ एड) निकै उपयोगि हुन सक्छ। अत्यधिक गम्भीर अवस्थामा कोक्लियर इम्प्लान्टले नयाँ आशा दिन सक्छ। अचानक सुनाइमा कमी आएको अवस्थामा समयमै सम्बन्धित विशेषज्ञसँग जँचाउने र परामर्श लिनु पर्छ। उपचारबाट केही हदसम्म श्रवणशक्ति फर्किन पनि सक्छ। सबैभन्दा महत्त्वपूर्ण पक्ष ठूलो आवाजबाट कान जोगाउनु र समस्या देखिनासाथ जाँच गराउनु हो। 

कान कम सुन्नु भनेको केवल कानको समस्या होइन। यो संवाद, आत्मविश्वास र सामाजिक सम्बन्धसँग जोडिएको विषय हो। नसुन्नेभन्दा पनि नबुझिने पिडा मानिसका लागि सबैभन्दा ठूलो बोझ हो। अब समय आएको छ। हामीले यस समस्यालाई सामान्य ठानेर टार्ने होइन। चिन्नुपर्ने, बुझ्नुपर्ने र समयमै उपचारतर्फ लाग्नु बुद्धिमानी हुन्छ। सही जानकारी, समयमै जाँच र उचित हेरचाह भयो भने अर्थपूर्ण र सम्मानजनक जीवन सम्भव छ।

पुनम थापा, वैज्ञानिक
नाक, कान र घाँटी विभाग, युनिभर्सिटी अफ मिसिसिपी मेडिकल सेन्टर, अमेरिका


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.