साइकल संस्कृति : सभ्यताको मेरुदण्ड

साइकल संस्कृति : सभ्यताको मेरुदण्ड
फाइल तस्बिर

कुनै समय नेपालमा एउटा साइकल किन्न चार तोलासम्म सुन खर्चिनु पथ्र्यो । वि.सं. १९६७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराका नाति शूरशमशेरले पहिलोपटक नेपालमा साइकल भित्र्याएका थिए । यो साधन केवल यातायातमात्र नभई प्रतिष्ठा र आधुनिकताको उच्च प्रतीक थियो । जसमा राणा खलक, राजपरिवार र भारदारहरूको मात्र पहुँच सीमित थियो ।

बेलायती कम्पनीका ती साइकलहरू भीमफेदीबाट भरियाले काँधमा बोकेर काठमाडौं ल्याउँथे । सडकमा साइकल गुड्दा सर्वसाधारण अचम्म मान्दै हेर्थे । सामान्य जागिरेको मासिक तलब पाँच–दस रुपैयाँ मात्र हुने त्यो समयमा सय रुपैयाँभन्दा महँगो साइकल चढ्नु ‘ठूलो मान्छे’ हुनुको प्रमाण मानिन्थ्यो । सर्वसाधारणका लागि साइकल तब पहुँचभन्दा बिलकुलै परको विलासिता थियो ।

वि.सं. १९८१ मा अष्टनारायण मानन्धरले असनमा पहिलो पसल खोलेपछि साइकलको प्रयोग विस्तार भयो । त्यतिबेला साइकल चालकले आजका मोटरसाइकलले जस्तै कडा नियम पालना गर्नुपथ्र्यो । साइकल नगरपालिकामा दर्ता हुनुपर्ने, नम्बर प्लेट र लाइसेन्स पुस्तिका अनिवार्य थियो । नियमित कर, राति बाल्ने डायनोमा बत्ती र चुस्त घण्टी नभए तुरुन्तै जरिवाना गरिन्थ्यो । राज्यले यसलाई अत्यन्तै महत्त्वपूर्ण यातायातको साधन मानेको थियो ।

साइकलको स्वर्ण युग : २००७ सालको राजनीतिक परिवर्तनपछि साइकलमा सर्वसाधारणको पहुँच बढ्यो । २०१७ देखि २०४६ सालसम्मको तीन दशकलाई नेपालमा ‘साइकलको स्वर्ण युग’ मानिन्छ । भारतमा ठूलो मात्रामा उत्पादन सुरु भएपछि यसको मूल्य सस्तियो । यो अवधिमा साइकल मध्यम र निम्न–मध्यम वर्गको मुख्य सहारा बन्यो । तराई र काठमाडौंको आर्थिक गतिविधिका लागि त यो मेरुदण्ड नै साबित भयो । दूधवाला, तरकारीवाला र विद्यार्थीका लागि साइकल एक अनिवार्य र भरपर्दो साधन बन्यो ।

दुई दशक अघिसम्म चितवन ‘साइकलको जिल्ला’का रूपमा चर्चित थियो । त्यहाँ साइकल मानिसहरूको दैनिकीको अभिन्न हिस्सा थियो । बिहान–साँझ घाँस–दाउरा ओसार्ने र दिउँसो स्कुल–कार्यालय जाने यो नै मुख्य माध्यम थियो । यसले तत्कालीन ग्रामीण र अर्ध–सहरी समाजको आर्थिक सक्रियता र सामाजिक चलायमानतालाई स्पष्ट झल्काउँथ्यो । तर विडम्बना, हिजोको त्यो भरपर्दो साधन आज राज्य र समाज दुवैको नजरमा उपेक्षित बन्दै गएको छ ।

श्रमको अपमान र प्रतिष्ठाको गलत मानक : दुई दशक अघिसम्म तराईको घरघरमा देखिने साइकलको प्रतिष्ठा अहिले गुमेको छ । हिजोआज साइकल चढ्नुलाई गरिबी वा पछौटेपनको पर्याय मान्ने गलत भाष्य स्थापित भएको छ । मोटरसाइकल र गाडी चढ्नु नै प्रगति र सफलताको मानक 
बनेको छ । यो सोच सामाजिक चेतनामा मात्र होइन, राज्यको नीतिमा पनि प्रस्ट झल्किन्छ ।

यथार्थमा, २०७८ सालको जनगणनाअनुसार ३५.२१ प्रतिशत नेपाली घरधुरीमा अझै साइकल छ । तराई–मधेस र ग्रामीण भेगमा यो आज पनि मुख्य यातायातको साधन हो । देशको अर्थतन्त्र धान्ने मजदुर, मिस्त्री, तरकारी र दूधवालाका लागि साइकल नै ढुवानीको मुख्य सहारा हो । विडम्बना, श्रमिक वर्गले प्रयोग गर्ने भएकैले साइकललाई हेयको दृष्टिले हेर्न थालियो । साइकललाई तुच्छ ठान्नु भनेको लाखौं परिश्रमी नागरिकको श्रम र योगदानको अवमूल्यन गर्नु हो ।

सडक कसका लागि ? : साइकलप्रतिको हेयपूर्ण दृष्टिको परिणाम हाम्रा सडकहरूमा प्रस्ट देखिन्छ । राष्ट्रिय राजमार्ग र चक्रपथहरूमा साइकल लेन नहुनुले गम्भीर प्रश्न उब्जाएको छ— के यी सडक भुइँमान्छेका लागि होइनन् ? सहरी र ग्रामीण क्षेत्रका सडकमा साइकल यात्रीको सुरक्षा र पहुँचलाई पूर्णतः बेवास्ता गरिएको छ । यो अत्यन्त विडम्बनापूर्ण स्थिति हो ।

हामीले साइकललाई ‘गरिबको साधन’ ठानेर उपेक्षा गर्दा विकसित देशले यसलाई प्रतिष्ठा र बुद्धिमानीसँग जोडेका छन् । नेदरल्यान्ड्समा त प्रधानमन्त्री र मन्त्रीहरू समेत साइकलमै कार्यालय जानु सामान्य मानिन्छ । त्यहाँ मानिसको संख्याभन्दा धेरै साइकल छन् । डेनमार्कको कोपेनहेगनमा साइकलका लागि ‘सुपरहाइवे’ र ‘ग्रिन वेभ’ प्रविधि जडान गरिएको छ । त्यस्तै, जापानले जमिनमुनि रोबोटिक पार्किङ बनाएर यसलाई प्रविधिसँग जोडेको छ । यी देशहरूले साइकललाई केवल साधनमात्र होइन, सहरको स्वास्थ्य र सभ्यताको मानकका रूपमा विकास गरेका छन् ।

कालो बादलमा चाँदीको घेरा : सर्वत्र उपेक्षाका बीच ललितपुर महानगरपालिकाले ३२ किलोमिटरको ‘साझा साइकल लेन’ निर्माण गरेर सराह्रनीय सुरुआत गरेको छ । पुल्चोक, कुपण्डोल र लगनखेलजस्ता मुख्य क्षेत्रमा हरियो रङ र साइकलको चिह्न अंकित गरिएका यी लेनले ललितपुरलाई पहिलो ‘साइकलमैत्री सहर’को पहिचान दिएका छन् । यो दिगो विकास र वातावरण संरक्षणका लागि सुखद कदम हो । यद्यपि, भौतिक अवरोध (बोल्लार्डस्) बिनाको रङको रेखामात्रै हुँदा यो लेन असुरक्षित छ । ठूला सवारीको अतिक्रमण र अव्यवस्थित पार्किङले साइकल यात्रीलाई जोखिममा पारेको छ । यसलाई प्रभावकारी बनाउन भौतिक खम्बाहरू थप्ने, सहरभरि अन्तरसम्बन्धित सञ्जाल बनाउने र नियम मिच्नेलाई कडा जरिवाना गर्ने नीति आवश्यक छ । पछिल्लो समय झापाको दमक र चितवनको सौराहामा पनि साइकल ट्र्याक खोलिनुले स्थानीय सरकारहरूमा सकारात्मक चासो बढेको देखिन्छ ।

स्वास्थ्य, वातावरण र अर्थतन्त्रको साझा समाधानः नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगहरू हुन् । मधुमेह र मुटुरोगजस्ता समस्याका लागि साइकल ‘निःशुल्क औषधि’ र ‘प्रभावकारी व्यायाम’ हो । नियमित साइकल चलाउँदा मुटुरोगको जोखिम ४० प्रतिशतसम्म घट्ने वैज्ञानिक तथ्य छ । वातावरणीय रूपमा यो शून्य उत्सर्जन गर्ने साधन हो । साथै, यसले पेट्रोलियम आयात घटाएर मुलुकको व्यापार घाटा कम गर्न समेत ठूलो मद्दत पुर्‍याउँछ ।

प्रतीकात्मक होइन, संरचनागत परिवर्तन : नेपालमा साइकल संस्कृति र वातावरण संरक्षणका प्रबल अभियन्ता डा. प्रल्हाद योञ्जन हुनुहुन्थ्यो । विडम्बना, २०६८ कात्तिक १४ मा बल्खुमा ट्रकको ठक्करबाट साइकल यात्री डा. योञ्जनको असामयिक निधन भयो । यो वियोगान्त घटनाले संरक्षण क्षेत्रमा अपूरणीय क्षति पुर्‍यायो । उनको योगदानको सम्मान र सुरक्षित साइकल यात्राको वकालत गर्न अभियन्ताहरूले कात्तिक १४ लाई ‘नेपाल साइकल दिवस’ घोषणा गर्न माग गर्दै आएका छन् । यो दिवसले डा. योञ्जनप्रति सच्चा श्रद्धाञ्जलीमात्र दिने छैन, दिगो विकास र वातावरणमैत्री जीवनशैलीका लागि नयाँ प्रेरणा समेत दिनेछ ।

सम्मान, सुरक्षा र भविष्यको सवाल : साइकल संस्कृतिको पुनर्जागरण पुरानो समयमा फर्कनु होइन, बरु स्वास्थ्य, वातावरण र दिगोपनको भविष्यतर्फ अघि बढ्नु हो । जबसम्म राज्य र समाजले साइकललाई हेय दृष्टिले हेर्न छाड्दैनन्, तबसम्म स्वच्छ र समावेशी सहरको सपना अधुरै रहनेछ । डा. योञ्जनको बलिदानको वास्तविक सम्मान तबमात्र हुनेछ, जब नेपालका सडकमा बालक, महिला, ज्येष्ठ नागरिक र श्रमिक सबैले सम्मानका साथ सुरक्षित भएर साइकल चलाउन पाउनेछन् । अब ढिला गर्ने समय छैन; हामीले हाम्रो सोच र सडकको संरचना दुवै बदल्नैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.