कांग्रेसमा अभूतपूर्व एकता छ : अजयबाबु शिवाकोटी
दोलखा : आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पार्टीभित्र हालसम्मकै बलियो र अभूतपूर्व एकता कायम रहेको बताएका छन् । नेपाल शिक्षक संघ जिल्ला प्रतिनिधि भेला, दोलखामा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उनले कांग्रेसभित्र अब ‘मिलेर जानुपर्छ’ भन्ने शब्द उच्चारण गर्नुपर्ने अवस्था नै नरहेको दाबी गरे।
‘पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका सबै नेता तथा कार्यकर्ता एउटै उद्देश्य र लक्ष्यमा केन्द्रित रहेका छौँ । आज कांग्रेसभित्र एकताको विषयमा सम्झाउनुपर्ने अवस्था छैन’, उनले भने । सबै नेता–कार्यकर्ता स्वस्फूर्त रूपमा एक भएर चुनावी अभियानमा लागेको पनि उनले बताए । उनले मिलेरै परिणाम निकाल्ने विषयमा सबै प्रतिबद्ध रहेको पनि दावी गरे ।
कांग्रेस यस पटक नयाँ अनुहारसहित जनतामाझ गएको उल्लेख गर्दै त्यसले जनतामा आशा र अपेक्षा बढाएको शिवाकोटील बताए । आफू नयाँ अनुहार भएकै कारण ‘केही गर्छ’ भन्ने हुटहुटी जनतामा देखिएको उनको भनाइ थियो ।
‘नयाँ अनुहार हुँदा जनतामा काम गर्छ भन्ने चाहना हुन्छ’, उनले भने । कांग्रेस नयाँ सोच र नयाँ ऊर्जासहित अघि बढेको पार्टी हो भन्ने कुरा शिक्षक गुरूहरूले जनतामाझ पुर्याइ दिन आग्रह गरेका थिए । शिक्षक समाजका दिग्गज, सचेत र विश्वासिलो व्यक्तित्वको रूपमा चित्रण गर्दै उनले शिक्षकहरूको भूमिका निर्णायक हुने बताए । शिक्षकले बोलेको कुरा विद्यार्थी, अभिभावक र समग्र समाजले गम्भीर रूपमा लिने भएकाले चुनावी सन्देश प्रवाहमा शिक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
मत माग्ने सन्दर्भमा तपाईले पढाएका विद्यार्थी, छोराछोरी, जेन्जीलाई मात्र होइन, उनीहरूका परिवार र सम्पूर्ण कुल कुटुम्बसँग मत मागिदिनुहोस् भनेर शिक्षकलाई आग्रह गरेका थिए । समाजका दिग्गज गुरूले भनेको कुरा सबैले मान्ने विचार पनि व्यक्तm गरेका थिए । शिक्षक समुदायको भरोसा र साथ भएकाले कांग्रेसलाई जनतासँग अझ नजिक पुर्याउने उनको विश्वास थियो ।
कार्यक्रममा उनले कांग्रेसको संगठनात्मक संरचना, कार्यकर्ताको सक्रियता र पार्टीभित्रको एकताले दोलखामा कांग्रेसलाई बलियो अवस्थामा पुर्याएको दाबी गरे । शिक्षक, बौद्धिक वर्ग र युवाको साथ पाएमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले स्पष्ट र उत्साहजनक परिणाम हासिल गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !