नवलपरासीमा सरकारी भवनमा उम्मेदवारको सम्पर्क कार्यालय
परासी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक उम्मेदवारले नवलपरासीको सरकारी भवनमा सम्पर्क कार्यालय खोलेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ की उम्मेदवार सिन्धु ‘जलेसा’ बुढाथोकीले कार्यकर्तासहित पुगेर सुस्ता गाउँपालिकाले निर्माण गरेको भवनमा सम्पर्क कार्यालय स्थापना गरेकी हुन् ।
आचारसंहिता विपरीत उम्मेदवार बुढाथोकीले सुस्ता–२ कुडियामा निर्माण गरिएको आयुर्वेद औषधालयको भवनमा सम्पर्क कार्यालय खोलेकी हुन् । सुस्ता गाउँपालिकाले औषधालय राख्नका लागि चार कोठे भवन निर्माण गरेको हो । उक्त भवनमा केही समयका लागि एक सहकारी बस्दै आएको छ ।
‘यही महिना उद्घाटन गरेर स्वास्थ्य संस्था राख्ने सोंचेमा थियौं । आचारसंहिता लागु भएपछि रोकिएको हो । एकाएक नेकपाका उम्मेदवारले सम्पर्क कार्यालय खोलेको सूचना पाएपछि हटाउन भनेका छौं’, गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भने ।
उम्मेदवारले सार्वजनिक भवनमा सम्पर्क कार्यालय खोल्नु निर्वाचन आचारसंहिता विपरीत भएकाले त्यसलाई तत्काल हटाउन भनिएको आचारसंहिता अनुगमन अधिकृत एंव सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले बताए ।
जिल्लामा अहिलेसम्म १० वटा आचारसंहिता उल्लघंनका उजुरी दर्ता भएका छन् । ‘केही मौखिक र लिखित उजुरी आएका छन् । एक पटकलाई सचेत गराएका छौं । पुनः दोहोरिए कानुनी कारबाही प्रक्रिया अघि बढाउँछौं’, अनुगमन अधिकृत भण्डारीले भने । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा २३ स्वतन्त्रसहित ५५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस !