हङकङका मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई २० वर्ष जेल सजाय

हङकङका मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई २० वर्ष जेल सजाय
सुन्नुहोस्

काठमाडौं : पूर्व हङकङ मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्ष कैद सजाय सुनाइएको छ। यससँगै वर्षौं लामो कानुनी लडाइँ टुंगिएको छ, जसलाई बेइजिङले हङकङमाथि गरेको व्यापक दमनको प्रतीकका रूपमा हेरिएको छ।

७८ वर्षीय अर्बपति लाइ सन् २०२० मा चीनले हङकङमा लागू गरेको कठोर राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अभियोग लगाइएका सबैभन्दा 'हाइ प्रोफाइल' आलोचकहरूमध्ये एक हुन्। यो सजाय उक्त कानुनअन्तर्गत सुनाइएको अहिलेसम्मकै सबैभन्दा लामो सजाय भएको सीएनएनले उल्लेख गरेको छ।

यस फैसलापछि लाइको रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय स्तरमा दबाब बढेको छ। पश्चिमी देशका नेताहरूले नजिकबाट नियालिरहेको यस मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसअघि 'जिमी लाइलाई बाहिर निकाल्ने' प्रतिबद्धता व्यक्त गरेका थिए। ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न चीन जाने अपेक्षा गरिएको छ, जहाँ लाइका समर्थकहरूले यो मुद्दा उठाउन दबाब दिने तयारी गरेका छन्।

लाइका छोरा सेबास्टियन लाइले उक्त सजायलाई 'अमानवीय र जीवनका लागि खतरा' भएको बताएका छन्। उनकी छोरी क्लेयर लाइले पनि यसलाई 'अत्यन्तै हृदयविदारक र निर्दयी' निर्णयको संज्ञा दिइन्। 'बुबाको स्वास्थ्य दिनप्रतिदिन खस्कँदै गएको देखिरहेकी छु। उनलाई राखिएको अवस्था झन् खराब हुँदै गएको छ। यदि यो सजाय कार्यान्वयन भयो भने, मेरो बुबाको जेलमै सहिद बन्नुहुन्छ,' उनले भनिन्।

लाइ  प्रजातन्त्र समर्थक ट्याब्लोइड पत्रिका एप्पल डेली का संस्थापक पनि हुन्। जुन यसअघि नै बन्द भइसकेको छ। उनले हङकङको स्वतन्त्रताको पक्षमा खुलेर वकालत गर्दै आएका थिए। बेइजिङ र हङकङ प्रशासनले भने लाइको मुद्दालाई लिएर आएको अन्तर्राष्ट्रिय आलोचना अस्वीकार गर्दै उनको गिरफ्तारी राजनीतिक उद्देश्यबाट प्रेरित नभएको दाबी गरेका छन्। प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको आरोपलाई पनि उनीहरूले खारेज गरेका छन्। अधिकारीहरूका अनुसार जेलमा लाइलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

हङकङका मुख्य कार्यकारी जोन लीले सोमबार भने, 'लाइले एप्पल डेली प्रयोग गरेर नागरिकहरूको दिमाग विषाक्त बनाए, घृणा फैलाए, तथ्य बङ्ग्याए, समाजमा विभाजन सिर्जना गरे, हिंसाको प्रशंसा गरे र चीन तथा हङकङ विशेष प्रशासनिक क्षेत्रमाथि प्रतिबन्ध लगाउन विदेशी शक्तिहरूसँग खुलेआम गुहार मागे।' डिसेम्बरमा अदालतले लाइलाई दुई राष्ट्रिय सुरक्षा मुद्दा र एक देशद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको थियो। सोमबार सजाय सुनाउँदा सेतो ज्याकेट लगाएका, दुब्लाउँदै देखिएका लाइले हल्का मुस्कान दिएका थिए। 

अदालतमा प्रवेश गर्नु अघि उनले दर्शकदीर्घातर्फ हात जोडेर अभिवादन गरेका थिए। त्यहाँ उनका एप्पल डेलीका छ जना पूर्व सहकर्मी पनि सजायको प्रतीक्षामा थिए। ती सहकर्मीहरूलाई पनि ६ वर्ष ९ महिना देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ। एप्पल डेली र यससँग सम्बन्धित कम्पनीहरूलाई ६० लाख हङकङ डलर (करिब ७ लाख ६७ हजार अमेरिकी डलर) जरिवाना गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.