वीरगन्जमा बालेनको ‘रोड शो’
वीरगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले बुधबार वीरगन्जमा ‘रोड शो’ गरेका छन्। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा मंगलबारबाट सप्तरीदेखि चुनावी प्रचार अभियान सुरु गरेका बालेन बुधबार दिउँसो वीरगन्ज आएर 'रोड शो' गरेका हुन्।
वीरगन्ज-१५ प्रतिमा चोकबाट वीरगन्ज महानगर क्षेत्रका प्रवेश गरेका बालेन गाडीबाटै 'रोड शो' गर्दै भानु चोक, नगवा, इर्न्वा, इदगहा चोक पुगेर त्यहाँबाट छपकैया, वीर्ता, आदर्शनगर, माईस्थान हुदैं घण्टाघर चोकमा पुगेका थिए।
घण्टाघर चोकमा बालेनलाई हेर्नका लागि हजारौंको संख्यामा जेनजी पुस्ताका युवायुवतीहरू उनी आउनुअघि नै भेला भइसकेका थिए। रोड शो गर्दै घण्टाघर चोकमा बालेन पुग्दा उनका समर्थकहरूले ‘अबकी बार बालेन सरकार’ ‘जय घण्टी’लगायतका नारा लगाउँदै स्वागत गरेका थिए। त्यसक्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै आफ्ना समर्थकहरूलाई अभिभावदन गरेका थिए।
उनको रोड शोमा रास्वपाबाट पर्साका चारै क्षेत्रका उम्मेदवारहरू हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य पनि एउटै गाडीमा सवार भएर घण्टी बजाउँदै सहभागी भएका थिए।
घण्टाघरबाट बालेनको रोड शो मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै बाराको जीतपुर-सिमराका लागि प्रस्थान गरेको रास्वपाबाट पर्सा-२ का उम्मेदवार सुशील साह कानुले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !