कस्तो होला फागुन २१ वरिपरिको मौसम ?

लिम्पियाधुरा, तिंकर, लोमान्थाङवासी भन्छन् ‘गाउँ जानै सकिन्न’

कस्तो होला फागुन २१ वरिपरिको मौसम ?
फाइल तस्बिर

काठमाडौं : दार्चुलाको व्यास गाउँपालिकाका–१ स्थित छाङरु, तिंकर, लिम्पियाधुरावासी यतिबेला जाडो छल्न अन्यत्रै बसाइँ सरेका छन्। चैत, वैशाखतिर मात्रै गाउँ फर्किन्छन्।

गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार त्यहाँका १ र २ नम्बर वडामा धेरै हिउँ पर्छ। वडा नम्बर १ को छाङरु, तिंकर, लिम्पियाधुराका बासिन्दा ६ महिनामात्रै गाउँमा बस्छन्। तर, १ वडाको तुलनामा २ नम्बर वडामा अलि कम जाडो छ। र, पनि यहाँका बासिन्दा जाडोमा सदरमुकाम वा अन्तै सर्छन्। दार्चुलामा ९ वटा गाउँपालिका छन्। व्यास गाउँपालिकामा जस्तै नौगाड, अपि हिमाल गाउँपालिकामा पनि चिसोको समस्या छ। तर, ती ठाउँमा १ वडामा भन्दा अलि कम जाडो हुन्छ। 

प्रधानमन्त्री सुशीला कार्कीले केही दिन पहिला मौसमले साथ नदिए दुई चरणमा चुनाव गराउन सकिन्छ भन्दै दिएको अभिव्यक्तिका कारण फागुन २१ वरिपरि कस्तो मौसम होला ? भन्ने कौतुहल जागेको छ। दार्चुलातिरका बासिन्दाले पनि मौसमका बारेमा चासो राखेको गाउँपालिका अध्यक्ष धामीले बताए। ‘सदरमुकामतिर रहेकाहरू चैत, वैशाखमा मात्रै फर्किन्छन्। 

मौसम बिग्रियो भने वैशाखसम्म हिउँ पर्छ’ धामीले थपे, ‘निर्वाचनको हिसाबले कसैले वातावरण मिलाइदिए गाउँमा बस्दिन्छौं। नत्र त यहाँका मानिस गाउँ आउन सक्दैनन्।’ यहाँका दुई/तीनवटा गाउँपालिकाबाहेक अन्यमा चुनाव गर्न अलि सजिलो हुने बताउँदै उनले भने, ‘हामी त चुच्चे नक्सा बनाइएको ठाउँका बासिन्दा हौं। जाडो भएकाले गाह्रो छ यहाँ बस्नलाई।’ 

हुम्लाका केही क्षेत्र पनि प्राविधिक रूपमा अलि अप्ठ्यारो रहेको हुम्लाको नाम्खा गाउँपालिकाका पूर्वअध्यक्ष विष्णुबहादुर लामाले बताए। उनका अनुसार यहाँ मौसम बिग्रियो भने चैत/वैशाखसम्मै हिउँ पर्छ। उनले भने, ‘६ वडामा रहेको लिमी भन्ने गाउँ हिमाल पारि पर्छ। कैलाश मानसरोवरसँगै जोडिएको छ। ५ हजार १ सय मिटरमाथि रहेको यो गाउँमा मतदान गर्न कठिन छ।’

लामाका अनुसार मतदाताहरू काठमाडौंतिरै छन्। गाउँमा घर कुर्नेबाहेक अरू कोही हुँदैनन्। लामाले पुनः थपे, ‘भोटर नै नभएको ठाउँमा के निर्वाचन गर्नु ? लिमीका ८० प्रतिशत मानिस काठमाडौंमा छन्। तल्लो क्षेत्रका मानिस मात्रै गाउँमा हुन्छन्।’

पहिला–पहिला हिउँदभरि हिउँ परे पनि हिजोआज मौसम परिवर्तन भएको उनको अनुभव सुनाए। फागुन, चैततिर मौसम बिग्रिएर हिउँ पर्न थालेको र तल्लो क्षेत्रको हिउँ पग्लिँदै गए पनि माथिल्लो क्षेत्रमा हिउँ थपिँदै जाने हुँदा बाटो छिचोलेर गाउँ पुग्न नसकिने उनले बताए। ‘प्रकृतिसँग जुध्न सकिन्न। त्यतिबेला के होला भन्न सकिन्न। चुनाव त एकैपटक भएकै राम्रो नि !,’ लामाले भने।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनोर्बु गुरुङले फागुन २१ को चुनाव हिमालका बासिन्दाका लागि उपयुक्त नपरेको प्रतिक्रिया दिए। उनको गाउँपालिकामा जस्तै मुस्ताङका अन्य तीनवटा गाउँपालिकामा पनि हिउँ परेर कठिनाइ हुने गरेको गुरुङले बताए। 
‘पानी पर्‍यो भने यता वैशाखसम्मै हिउँ पर्छ। फागुन २१ को चुनाव हिमालका बासिन्दाका लागि उपयुक्त नभएकै हो, गुरुङले भने। उनका अनुसार त्यहाँका ८० प्रतिशत बासिन्दा पोखरा, काठमाडौं र भारततिर छन्। चैत अन्तिम अथवा वैशाखतिर चुनाव भए राम्रो हुने गुरुङले बताए। 

लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी विष्ट गुरुङ यतिबेला पोखरातिरै बसिरहेकी छन्। त्यहाँका स्थानीय कम्तीमा तीन महिना अन्यत्रै बस्ने गरेको उनले बताइन्। मुस्ताङमा पाँच वटा गाउँपालिकामध्ये लोमान्थाङ सबैभन्दा उच्च स्थानमा पर्छ। फागुन २१ वरिपरिको मौसम कस्तो हुन्छ त्यसै भन्न नसकिने बताइन्। किनभने मौसमी फेरबदलका कारण हिउँदमा भन्दा फागुन–चैततिर वर्षा र हिमपात हुन थालेको गुरुङले बताइन्। 

तर, मुगुमा भने अन्य जिल्लामा जस्तो धेरै समस्या नहुने छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णु भामले बताए। मुगुमा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू छन्। भामले भने, ‘अस्ति दुईपटक हिमपात भएको थियो। आजकल मौसम ठीकै छ। फागुनमा चुनाव भए पनि खासै असर पर्दैन होला। किनभने फागुनमा यता हिउँ खासै पर्दैन।’ भामका अनुसार फागुन सकिए लगत्तै पहाडतिर मानिसहरू खेतीको काममा जाने हतारमा हुन्छन्। 
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद्, वरुण पौडेलले विगत ३० वर्षको अवधिको डाटा अध्ययन गर्दा फागुनमा खासै पानी नपरेको बताए। लामो समयको पूर्वानुमान गर्ने अभ्यास कतै पनि नभएको र ठ्याक्कै मिल्न पनि गाह्रो हुने उनले बताए। 

विभागले ३० वर्षको अवधिको हिमाली क्षेत्रका अधिकतम र न्यूनतम तापक्रम, औसत वर्षा जस्ता विषयमा तथ्यांक केलाएर त्यसै अनुरूप निर्वाचन आयोगलाई जानकारी गराएको थियो। पौडेलले भने, ‘आयोगमा पत्राचारका साथै मौखिक ब्रिफिङ पनि भएको हो। मौसममा अचानक परिवर्तन भए उहाँहरूसँग परामर्स गर्ने छौं।’ 

आयोगलाई समग्रमा फागुन १५ सम्ममा औसतभन्दा कम वर्षा हुने जानकारी गराइएको छ। पौडेलका अनुसार कुनै बेला हिमाली क्षेत्रमा फागुनमा हिमपात भएको छ। कुनै बेला भएको पनि छैन। त्यस्ता विषयहरू केलाएर नै आकलन गरिएको हो। 

सिजनल पूर्वानुमानअनुसार तीन/चार महिनाको अवधिमा कति पानी पर्छ भन्न सके पनि ठ्याक्कै यो दिन भन्न गाह्रो हुने पौडेलले बताए। विभागले सात दिनसम्मको पूर्वानुमान गर्दै आएको छ। पौडेलले थपे, ‘चुनाव जति नजिकिन्छ। साता, साताको पूर्वानुमान गर्दै जाने छौं। हामी अझै अपडेट गर्दै जान्छौं। नियमित बुलेटिन निकाल्छौं।’ 

हिमपात हुनलाई पश्चिमबाट सिस्टमहरू आउँछ। त्यसैले हुम्ला, डोल्पा, दार्चुलाजस्ता उपल्लो स्थानहरूमा हिमपात हुने हो। तर, अहिले नै कस्तो सिस्टम आउँछ भन्न नसकिने उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.