कुलमानको घोषणा– ‘५ वर्षमै देश बदल्छौं’

कुलमानको घोषणा– ‘५ वर्षमै देश बदल्छौं’
सुन्नुहोस्

विराटनगर : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई ५ वर्षभित्र ठोस रूपान्तरणको दिशामा अघि बढाउने दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र आर्थिक आत्मनिर्भरतामार्फत मात्रै समग्र परिवर्तन सम्भव हुने बताएका छन्। 

विराटनगरमा बिहीबार साँझ उनले आफ्नो नेतृत्वको विगतको कार्य अनुभवलाई आगामी राजनीतिक यात्रासँग जोड्दै ऊर्जा क्षेत्रमा हासिल गरिएको उपलब्धिलाई अब राष्ट्रिय रूपान्तरणको आधार बनाइने सन्देश दिएका हुन्। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को पार्टी सम्पर्क कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताको सक्रिय सहभागिताबिना परिवर्तन सम्भव नहुने उल्लेख गरे। 

आफूहरू जेनजी पुस्ताको आकांक्षा र ऊर्जालाई प्रतिनिधित्व गर्दै राजनीतिमा आएको दाबी गर्दै घिसिङले भने, ‘हामीलाई सशक्त जेनजी पुस्ताको साथ छ। देशको परिवर्तन र समृद्धिका लागि युवा पुस्ता अग्रसर हुनुपर्छ। जेनजी आन्दोलनमा संलग्नहरू उज्यालो नेपाल पार्टीमा आबद्ध छन्। जेनजीले खोजेको राजनीतिक विकल्प यही हो। जसले काम गरेर र परिणाम दिएर देखाइसकेको छ।’

घिसिङले विगतमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दा लोडसेडिङ अन्त्य गरिएको प्रसंग स्मरण गर्दै त्यसलाई परिणाममुखी कार्यशैलीको उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्। ‘हिजो लोडसेडिङ अन्त्य गरेर आएका हौं। त्यो एउटा क्षेत्र मात्र थियो। अब देशका हरेक क्षेत्रमा देखिएको अँध्यारो हटाउनुपर्छ। देशमा कायापलट गर्ने लक्ष्यका साथ आएका छौं। ५ वर्षमै देश बदल्छौं,’ उनले भने। उनले ऊर्जा क्षेत्रको सुधारलाई सुशासन र व्यवस्थापन क्षमताको प्रमाणका रूपमा व्याख्या गर्दै अब त्यही अनुभवलाई समग्र प्रशासनिक र आर्थिक क्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, घट्दो उत्पादनशीलता र कमजोर संस्थागत संस्कारलाई अहिलेको प्रमुख चुनौतीका रूपमा औंल्याए। घिसिङका अनुसार उज्यालो नेपाल पार्टीको प्राथमिक कार्यसूची भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता हो। ‘देशको भ्रष्टाचार अन्त्य गर्नुपर्छ। पारदर्शी र जवाफदेही शासन प्रणाली निर्माण गर्नुपर्छ,’ उनले भने, ‘देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ। त्यसका लागि स्पष्ट नीति र इमानदार नेतृत्व चाहिन्छ।’

घिसिङले मतदानमार्फत अवसर दिए ५ वर्षपछि जनताले निराश हुने अवस्था नआउने दाबी गरे। ‘भोलि जनताले प्रश्न सोध्ने अवस्था आउँदैन। हामी परिणाम दिन्छौं,’ उनले भने, ‘उज्यालो नेपाल पार्टीलाई खोज्दै जनता नै आउने वातावरण बनाउँछौं।’ 

उनले परम्परागत राजनीतिक शैली र अभ्यासले देश अघि बढ्न नसकेको संकेत गर्दै परिणाममुखी, जवाफदेही र लक्ष्य केन्द्रित राजनीतिक संस्कारको आवश्यकता औंल्याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.