जसले आफैलाई मतदान गर्न पाउँदैनन्
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन १९ दिन मात्र बाँकी रहँदै गर्दा विभिन्न दलका शीर्ष नेताहरुले कहाँबाट मतदान गर्छन् भन्ने आम नागरिकमा चासो शुरु भएको छ । निर्वाचनमा शीर्ष नेताहरुले कहाँबाट चुनाव लड्दै छन् मात्र होइन कहाँबाट मतदान गर्लान् भन्ने पनि आम चासोको विषय हुने गरेको छ ।
यस पटक पनि प्रधानमन्त्रीको दाबेदारदेखि ठूलो संख्याका शीर्ष नेताहरुले आफू उम्मेदवार रहेकै क्षेत्रबाट मतदान गर्न नपाउने भएका छन् । जसका कारण उनीहरु आफैले आफैलाई मतदान गर्न नपाउने भएका हुन् । मतदाता नामावली एक ठाउँ र उम्मेदवारी अर्कै ठाउँ भएका कारण प्रधानमन्त्रीको दावीसहित मैदानमा उत्रिएका उम्मेदवारले आफैलाई भने भोट दिन नपाउने भएका हुन् ।
निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार नागरिकले मतदान गर्न पाउने स्थान भनेको उसको नाम सूचीकृत भएको मतदान केन्द्र मात्र हो । उम्मेदवार बन्न देशको जुनसुकै निर्वाचन क्षेत्र रोज्न सकिने भए पनि मतदान भने आफ्नो नामावली रहेको स्थानमै गर्नुपर्ने प्रावधान छ । यही कानुनी प्रावधानका कारण फागुन २१ मा हुने निर्वाचनमा शीर्ष र चर्चित उम्मेदवारहरु आफ्नै नाममा मत हाल्नबाट वञ्चित हुने देखिएको छ ।
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । तर उनको मतदाता नामावली भक्तपुर–२ मा रहेको छ । झापाबाट पटक–पटक विजयी हुँदै आएका ओलीले संविधानसभा निर्वाचनपछि मतदाता नामावली भक्तपुर सारेका थिए । यस पटक पनि उनी झापाबाटै चुनावी प्रतिष्पर्धामा छन्, तर मतदान गर्न चाहे भक्तपुरमै खसाल्नु पर्नेछ । त्यसैले उनले आफू उम्मेदवार रहेको क्षेत्रमा आफैंलाई मतदान गर्न पाउने छैनन् ।
नेपाली कांग्रेस सभापति गगनकुमार थापा पनि आफैले आफैलाई मतदान गर्न नपाउने अवस्थामा छन् । छन् । काठमाडौं–४ बाट लगातार चुनाव जित्दै आएका थापा यस पटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । तर उनको मतदाता नामावली काठमाडौं–४ मै छ । जेनजी आन्दोलनपछि रुपान्तरिक
कांग्रेसको सभापति बनेका थापा मधेस झरेपछि आफ्नो नाममा मत हाल्न बञ्चित हुने भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनावी मैदानमा उत्रिएका छन् । उनको मतदाता नामावली भने चितवन–३ मा छ । अघिल्ला निर्वाचनहरूमा विभिन्न क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डले २०७४ मा मात्र आफू मतदाता रहेको क्षेत्रबाट उम्मेदवारी दिएका थिए । यस पटक पुनः फरक क्षेत्र रोजेकाले उनी पनि आफ्नै नाममा मतदान गर्न नपाउने उम्मेदवारमा परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार छन्, तर उनको मतदाता नामावली काठमाडौं–३ मा छ । यसअघि उनी चितवन–२ बाट निर्वाचित भए पनि आफ्नो नामावली फरक क्षेत्रमा रहेकाले मतदान गर्न पाएका थिएनन् । यस पटक उनको अवस्था उस्तै छ ।
त्यस्तै, भावी प्रधानमन्त्रीमा दावी गर्दै चुनावी मैदानमा होमिएका काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ बाट एमाले अध्यक्ष ओलीको मुख्य प्रतिष्पर्धी उम्मेदवार बनेर चुनावी प्रतिष्पर्धामा छन् । उनको मतदाता नामावली भने काठमाडौं–२ मा छ । बालेनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार छन्, तर उनको नामावली मोरङ–५ मा छ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार छन्, उनको पनि मतदाता नामावली गोरखा–२ मा छ । कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट चुनाव लड्दै छन्, तर मतदाता नामावली तनहुँ–२ मा छ ।
रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१ बाट उम्मेदवार छन्, तर उनको नामावली गोरखा–१ मा छ । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं–१ बाट उम्मेदवार भए पनि मतदाता नामावली ललितपुरमा छ । एमाले सचिव भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार छन्, तर उनको नामावली मोरङ–३ मा छ।
कांग्रेस नेता डा. शेखर कोइराला मोरङ–६ बाट चुनाव लड्दै छन्, तर उनको मतदाता नामावली मोरङ–४ मा छ । कांग्रेसका मीनेन्द्र रिजाल मोरङ–२ बाट उम्मेदवार भए पनि उनको नामावली मोरङ–४ मै छ । यस्तै, महालक्ष्मी उपाध्याय (डिना), जुली महतो, वासुदेव घिमिरे, प्रमोद यादव, देवेन्द्र पौडेल, प्रेम आले, यसोदा सुवेदीलगायतका नेता पनि फरक क्षेत्रबाट उम्मेदवार बनेकाले आफैंलाई मत हाल्न नपाउने भएका छन् ।
स्वतन्त्र र साना दलका उम्मेदवारहरू पनि यही अवस्थाबाट अछुतो छैनन् । महावीर पुन, लालबहादुर घर्ती, रवीन्द्र मल्ल, शशीकुमार यादव, ऋषि धमलालगायतका उम्मेदवारको मतदाता नामावली र उम्मेदवारी क्षेत्र फरक–फरक छन् ।
प्रतिक्रिया दिनुहोस !