मांसपेशी केवल सौन्दर्य होइन
मांसपेशी अथवा स्ट्रेन्थ ट्रेनिङ भन्नेबित्तिकै अझै पनि जो कोहीको मनमा एउटै दृश्य झाट्ट आउँछ, त्यो हो जिम सेन्टरमा भारी वजन (तौल) उठाउँदै गरेको बलियो पुरुष। वर्षौंदेखि बनेको यस्तै संकुचित धारणाका कारण मांसपेशीलाई सौन्दर्य, खेलकुद वा शारीरिक प्रदर्शनसँग मात्र जोड्ने प्रवृत्ति रहँदै आएको छ। परिणामस्वरूप मांसपेशी स्वास्थ्यको वास्तविक महत्त्वलाई ओझेलमा परेको छ।
यही बुझाइले स्ट्रेन्थ ट्रेनिङबारे विभिन्न मिथ्याहरूलाई थप बलियो बनाएको छ। मांसपेशी बलियो बनाउनु सजिलो प्रक्रिया होइन। यसका लागि दीर्घकालीन अभ्यास, निरन्तर तालिम र प्रयासको आवश्यक हुन्छ। तर, यस्ता तथ्यहरूभन्दा बाहिर गएर बनेका धारणाले मांसपेशीको मूल उद्देश्य स्वास्थ्य संरक्षणलाई गौण बनाइदिएका छन्। वास्तवमा, मांसपेशी शरीरको मेटाबोलिक स्वास्थ्यको केन्द्रमा रहन्छ। मांसपेशी सक्रिय तन्तु हो। जसले ऊर्जा प्रयोग गर्छ। र, शरीरको मेटाबोलजिम प्रक्रियालाई सन्तुलनमा राख्छ।
पर्याप्त मांसपेशी भएको शरीरमा टाइप– २ मधुमेहजस्ता दीर्घरोगको जोखिम कम हुन्छ भन्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन्। यसको कारण मांसपेशीले ग्लुकोज अवशोषणमा भूमिका खेल्नु र इन्सुलिनको प्रभावकारिता सुधार्नु हो। मांसपेशी स्वास्थ्यले हृदय–रक्तसञ्चार प्रणालीमा पनि सकारात्मक प्रभाव पार्छ। यसले रक्तसञ्चार सुधार्न मद्दत गर्छ। रक्तचाप सन्तुलनमा राख्छ र समग्र मुटु (हृदय) स्वास्थ्यलाई सहयोग पुर्याउँछ। नयाँ अनुसन्धानहरूले मांसपेशी स्वास्थ्यलाई मस्तिष्कको कार्यक्षमता, भावनात्मक सन्तुलन र दीर्घायुसँग समेत जोड्न थालेका छन्।
सामान्यतया, राम्रो मांसपेशी शक्ति भएका व्यक्तिहरू दीर्घकालीन रूपमा स्वस्थ र सक्रिय रहने सम्भावना बढी देखिन्छ। तर मांसपेशी स्वास्थ्य स्थिर रहँदैन। उमेर ढल्केसँगै मांसपेशी पनि क्रमशः घट्न थाल्छ। अध्ययनअनुसार, वयस्क अवस्थामा प्रवेश गरेपछि करिब ३० वर्षको उमेरदेखि मांसपेशी क्रमशः घट्न थाल्छ। बर्सेनि एक/दुई प्रतिशतका दरले हुने यो कमी दशकौंमा उल्लेख्य रूपमा घट्न पुग्छ। जसलाई सार्कोपेनिया भनिन्छ। मांसपेशी घटेसँगै मेटाबोलिक दर घट्छ, तौल व्यवस्थापन चुनौतीपूर्ण बन्छ। र शारीरिक क्षमता कमजोर हुँदै जान्छ। ६० वर्षपछि यो प्रक्रिया झनै तीव्र भई चोटपटकको जोखिम बढ्न सक्छ। र, दीर्घकालीन स्वतन्त्रतामा असर पार्न सक्छ।
यद्यपि, मांसपेशी घट्नु अपरिहार्य होइन। नियमित शारीरिक गतिविधि (विशेषगरी रेसिस्टेन्स वा स्ट्रेन्थ ट्रेनिङ) नै मांसपेशी जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। यो अभ्यास तौल प्रयोग गरेर वा आफ्नै शरीरको तौल प्रयोग गरेर पनि गर्न सकिन्छ। यससँगै सन्तुलित पोषण अत्यावश्यक हुन्छ। पर्याप्त प्रोटिनले मांसपेशीको मर्मत र वृद्धिमा सहयोग गर्छ। जुन मासु, माछा, अन्डा, दूध, दाल तथा सोया, तोफुजस्ता वनस्पति स्रोतबाट प्राप्त गर्न सकिन्छ। स्वस्थ बोसो, जटिल कार्बोहाइड्रेट र भिटामिन डी, क्याल्सियम तथा म्याग्नेसियमजस्ता पोषक तत्त्वहरूले मांसपेशी र हड्डी स्वास्थ्यलाई थप मजबुत बनाउँछन्।
औपचारिक व्यायामका अतिरिक्त, दैनिक हिँडडुल, सिँढी चढ्ने र अन्य नियमित गतिविधिले पनि मांसपेशी जोगाउन र मुटु स्वास्थ्य सुधार्न मद्दत पुर्याउँछ। यसका साथै पर्याप्त वि श्राम पनि अपरिहार्य छ। मांसपेशीको मर्मत र विकास मुख्यतः निद्राका बेला हुने भएकाले ७ देखि ९ घण्टाको गुणस्तरीय निद्रा दीर्घकालीन मांसपेशी स्वास्थ्यका लागि आवश्यक मानिन्छ।
अन्ततः, मांसपेशी कुनै सौन्दर्य लक्ष्य वा अस्थायी फिटनेस ट्रेन्डमात्र होइन। यो समग्र स्वास्थ्य, रोग निवारण र जीवनको गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित विषय हो। मांसपेशी जोगाउनु भनेको मेटाबोलिक जोखिम घटाउनु, शारीरिक क्षमता कायम राख्नु र दीर्घकालीन रूपमा स्वतन्त्र जीवन बाँच्ने आधार बलियो बनाउनु हो। अब आवश्यक कुरा भनेको मांसपेशी र स्ट्रेन्थ ट्रेनिङलाई लिंग, सौन्दर्य वा पूर्वाग्रहको सीमाबाट बाहिर ल्याउनु हो। मांसपेशी स्वास्थ्य कुनै विशेष समूहका लागि होइन। यो त सबैका लागि हो। जीवनभरका लागि आवश्यक विषय हो।
डा. जेलिना बस्नेत
पीएचडी, मिसिसिपी यूएसए
प्रतिक्रिया दिनुहोस !