बंगलादेशमा जेनजी आन्दोलनबाट उदाएको युवा नेतृत्वको पार्टीलाई ठूलो झट्का

बंगलादेशमा जेनजी आन्दोलनबाट उदाएको युवा नेतृत्वको पार्टीलाई ठूलो झट्का

ढाका : जेनजी विद्रोहपछि आह्वान गरिएको बंगलादेशको संसदीय निर्वाचनमा युवा पुस्ताले नेतृत्व गरेको दलले अपेक्षित सफलता हासिल गर्न सकेन। ३०० सदस्यीय संसदमा नयाँ शक्ति बनेर उदाएको द नेशनल सिटिजन पार्टी (एनसीपी)ले जम्मा ६ सिटमा मात्र जित निकाल्न सक्यो। यसले सडक आन्दोलनको ऊर्जा मतमा रूपान्तरण गर्न कठिन रहेको देखाएको विश्लेषकहरूले बताएका छन्। 

शुक्रबार सार्वजनिक परिणामअनुसार मतदाताले अत्यधिक रूपमा पुरानै दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)लाई रोजेका छन्। बीएनपी यसअघि तीनपटक सरकारको नेतृत्व गरिसकेको दल हो। पछिल्लो पटक बीएनपीले सन् २००१ देखि २००६ सम्म शासन गरेको थियो।

सन् २०२४ को आन्दोलनबाट उदाएको एनसीपीले पूर्वप्रधानमन्त्री शेख हसिनाको पतनपछि नयाँ राजनीतिक विकल्पका रूपमा आफूहरू आएको दाबी गर्दै आएको थियो। एनसीपीका धेरै समर्थकले इस्लामवादी दल जमात इ-इस्लामीसँग गठबन्धन गर्ने निर्णयलाई ‘विश्वासघात’ का रूपमा लिएका छन्। सुरुमा अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने योजना बनाएको एनसीपी अन्ततः गठबन्धनमार्फत ३० सिटमा मात्र उठेको थियो। आन्दोलनका एक प्रमुख सदस्यको ढाकामा हत्या भएपछि ठूलो दलको साथ आवश्यक भएको भन्दै उसले गठबन्धन रोजेको जनाएको थियो।

विश्लेषकहरूका अनुसार निर्वाचनअघि पर्याप्त संगठन र जनाधार निर्माण गर्न नसक्नु पनि एनसीपीको कमजोर प्रदर्शनको कारण बन्यो। २३ वर्षीय विद्यार्थी सोहानुर रहमानले भने, '२०२४ को विद्रोहपछि जनताले देखेका आशा र सपनालाई एनसीपीले पूरा गर्न सकेन। जमातसँगको सहकार्यले धेरै युवालाई निराश बनायो।'

एनसीपीबाट निर्वाचित ६ जनामध्ये एक ३२ वर्षीय अधिवक्ता अब्दुल्लाह अल अमिनले पार्टीले अझ बढी सिट जित्ने अपेक्षा गरेको बताए। 'हामीले केही सिट सानो मतान्तरले गुमायौं। हाम्रो यात्रा भर्खर सुरु भएको छ,' उनले भने। यद्यपि जहाँगीरनगर विश्वविद्यालयका राजनीति प्राध्यापक शाकिल अहमदका अनुसार जमातसँगको गठबन्धनले नयाँ राजनीतिक वर्गको अपेक्षा गरेका युवालाई टाढा धकेल्यो। 

'धेरैले यसलाई पुरानै राजनीतितर्फ फर्किएको रूपमा बुझे,' उनले भने। उनका अनुसार यसले तारिक रहमान नेतृत्वको बीएनपीलाई थप संगठित र सक्षम विकल्पका रूपमा प्रस्तुत गर्न सहयोग गर्‍यो।

एनसीपीका प्रवक्ता आसिफ महमुदले पार्टीले अब प्रतिपक्षमा रहेर संगठन सुदृढ गर्ने र एक वर्षपछि हुने स्थानीय तह निर्वाचनमा ध्यान केन्द्रित गर्ने बताए। पार्टी प्रमुख नाहिद इस्लामले यसअघि संगठन निर्माणका लागि पर्याप्त समय नपाएको, स्रोत अभाव र महिला तथा अल्पसंख्यक अधिकारजस्ता मुद्दामा स्पष्ट धारणा नबनिसकेको स्वीकारेका थिए।

यसैबीच, गठबन्धनको विरोधमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेकी ३१ वर्षीया चिकित्सक तस्नीम जाराले ढाकाबाट ४४ हजारभन्दा बढी मत पाए पनि बीएनपी उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भइन्। 'सफा र इमानदार अभियानमार्फत जनताको मन जित्न सकिन्छ भन्ने देखायौं, तर बलियो संगठन बिना स्वच्छ राजनीति टिकाउन गाह्रो हुन्छ,' उनले भनिन्। जाराले बेलायत फर्केर चिकित्सा अभ्यास नगर्ने बताउँदै राजनीतिक यात्रालाई निरन्तरता दिने संकेत गरेकी छन्।
-अल्जाजिराबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.