'मिस्ट्री स्पिनर' शेर र उनको यादगार डेब्यु

'मिस्ट्री स्पिनर' शेर र उनको यादगार डेब्यु
सुन्नुहोस्

मुम्बई : प्रत्येक खेलाडीको सपना हुन्छ, विश्वकप खेल्ने। त्यो सपना शेर मल्लले पनि पूरा गरे, त्यो पनि क्रिकेटका शक्ति राष्ट्र इङ्ल्यान्डविरुद्ध।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले मल्ललाई डेब्यु क्याप प्रदान गरेका थिए। नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गर्ने मल्ल ५३औं खेलाडी हुन्। विश्वकपमा डेब्यु गरेपछि मल्लले अन्नपूर्णसँग भने, ‘नेपाली राष्ट्रिय टिमको डेब्यु राम्रो भयो। इङ्ल्यान्डलाई जितेको भए अझ राम्रो हुन्थ्यो।’

इङ्ल्यान्डविद्धको खेलमा कप्तान रोहित पौडेलले दोस्रो ओभरमै मल्लको हातमा बल थमाएका थिए। यसको कारण थियो, रोहितको कप्तानीमा नै शेरले लुम्बिनी लायन्सको टिमलाई दिलाएको सफलता र विश्वास। त्यो विश्वासलाई उनले पहिलो बलमै प्रमाणित पनि गरिदिए। उनले डेब्यु खेलको डेब्यु बलमै विकेट लिन सफल भए। टी-२० वरीयतामा ब्याटिङतर्फ दोस्रो स्थानमा रहेका फिल साल्टलाई उनले आउट गराएका थिए। 

उनी नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको एउटा नयाँ ‘मिस्ट्री’ स्पिनर हुन्। ‘म बलिङमा भेरियसन राम्रो फाल्न सक्छु। बलिङमा नयाँपन ल्याउन सक्ने बलरलाई ‘मिस्ट्री’ स्पिनर भनिन्छ। आजभोलि टी-२० क्रिकेटमा यस प्रकारको बलरको डिमान्ड बढी छ,’ शेरले भने।

शेर मल्लले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शनसहित उदयीमान खेलाडीको रूपमा नाम बनाए। एनपीएलमा गरेको प्रदर्शनकै आधारमा उनले विश्वकपको टिममा नेपालका लागि बन्द प्रशिक्षणमा स्थान पनि बनाए। यसैक्रममा उनको नाम अन्तिम १५ मा अटायो। उनले भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना भइरहेको विश्वकप खेल्ने टिममा परे। उनको लागि यो सपनासरह थियो। लामो समयको मेहनतको फल थियो। 

उनले भने, ‘नेपालका लागि क्याप लगाउने इच्छा पूरा भयो। यो मौका विश्वमा निकै कम खेलाडीले पाउँछ। जुन मैले पाएँ। विश्वस्तरीय खेलाडीलाई जसलाई म टेलिभिजनमा हेर्थे, उनीहरूको बीचमा खेल्न पाएँ,’ अन्नपूर्णसँग उनले भने।

उनका लागि यो डेब्यु निकै यादगार बन्यो। उनी भन्छन्, ‘मेरा लागि राष्ट्रिय टिमको डेब्यु निकै यादगार रह्यो। पहिलो बलमा नै विकेट लिएँ। मेरो लागि ड्रिम डेब्यु भयो।’

होटलबाट मैदानमा जाँदै गर्दा छिमेकी राष्ट्र भारतको बाटोमा नेपाली समर्थकलाई देख्दा उनी भावुक बनेका थिए। उनको लागि डेब्युको दिन थियो। उनी आफ्नो क्षमतामाथि विश्वास राख्छन्। ‘बिहान बसमा जाँदा बाटोमा नेपाली समर्थकहरूलाई देखेको थिएँ। त्यतिबेला मलाई निकै नर्भस, शरीरमा काँडा फुलेको जस्तो महसुस भएको थियो।’

घरेलु क्रिकेटमा सन् २०१० देखि लामो समयको मेहनतको फल शेरले पाएका थिए। त्यो थियो, नेपाली राष्ट्रिय टिमको डेब्यु क्याप। उनलाई डेब्यु क्याप पारस खड्काले दिएका थिए। ‘त्यो क्याप लिँदा भित्रदेखि नर्भस लागिरहेको थियो। अलिकति आफ्नो यात्रालाई सम्झिँदा गर्विलो महसुस पनि भइरहेको थियो। म इमोस्नल भएँ,’ शेरले भने।

डोटीबाट पञ्जाब र पञ्जाबदेखि राष्ट्रिय टिमको यात्रा
बुबा रामबहादुर र आमा कृष्ण मल्लको कोखबाट जन्मिएका दोस्रो सन्तान हुन् शेर मल्ल। डोटीमा जन्मिएर भारतमा हुर्किएका उनको एक दिदी, भाइ र बहिनी छन्। दुई वर्षको उमेरमै उनको परिवार नेपालबाट भारत आयो। रोजगारीका सिलसिलामा बुबासँगै भारतको पन्जाबमा शेर भारतीय क्रिकेट कल्चरसँगै हुर्किए।

सन् २०१० मा आफ्ना बुबाले साथीको छोरा खेल्न थालेपछि उनलाई पनि क्रिकेट एकाडेमीमा भर्ना गराइदिए। यसरी सुरु भएको शेरको क्रिकेट यात्रा हालः राष्ट्रिय टिममा विश्वकपमा चम्कियो।

हरेक व्याक्तिलाई सफल हुन जीवनमा उतारचढाव आउँछ। त्यस्तै क्रिकेट करिअर रोजेका शेरको जिन्दगीमा पनि तुफान नआएको होइन। विसं २०७२ सालतिर बुबा बिरामी भएपछि उनले क्रिकेट छोड्ने अवस्था आएको थियो। एक दिन उनको भेट धनगढीमा उनका काका सुवास शाहीसँग भयो। सुवासले नै उनलाई क्रिकेट खेल्न पूर्ण प्रेरित गरे। विसं २०७५ सालमा उनले सुदूरपश्चिमबाट प्रधानमन्त्री क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाए। प्रधानमन्त्री कपमा राम्रो प्रभाव जमाएपछि शेर मल्लले नेपालको यु-१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाए। तर, टिममा स्थान भने बनाउन सकेनन्।

दोस्रो संस्करणको प्रधानमन्त्री कपमा उनले चार खेलमा ११ विकेट लिए। आठौं राष्ट्रिय प्रतियोगितामा एपीएफसँग जोडिएर तीन विकेट लिए। नेपाल पुलिस क्लबविरुद्ध तीन विकेट लिनुको साथै ४१ रन उनले बनाएका थिए। २०१९ को प्रधानमन्त्री कपमा शेरले सुदूरपश्चिम प्रदेशको कप्तानी गरे। प्रधानमन्त्री कपमा सबैभन्दा सानो उमेरमा कप्तानी गर्ने खेलाडीमध्ये एक शेर पनि हुन्। मल्लले कप्तानीसँगै ११ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा समेत परे।

त्यसपछि भने नेपालको क्रिकेटमा शेर मल्लको प्रभाव लगातार बनिरह्यो। सन् २०२० मा सुनसरीमा सम्पन्न भएको मोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सेमीफाइनलसम्म पुर्‍याउन शेर मल्लले महत्वपूर्ण योगदान गरे।

सन् २०२० मा शेर मल्ल नेपाल ‘ए’को आइसीसी विश्वकप त्रिकोणात्मक एकदिवसीय सिरिजमा शेर मल्लले ७.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर चार विकेट लिएका थिए। शेरको उक्त प्रदर्शनमा नेपालले दिएको ११२ रनको सामान्य लक्ष्य पछाएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट भएको थियो।

सन् २०२४ को प्रधानमन्त्री कपमा उनले ९ खेल खेल्दै सर्वाधिक २४ विकेट लिने खेलाडी बने। त्यसपछि शेरले नेपाल ‘ए’को टिममा स्थान बनाए। उनले आयरल्यान्ड 'ए' र क्यानडा 'ए'सँगको सिरिजमा नेपाल एको तर्फबाट खेलेका थिए।

२०२५ को प्रधानमन्त्री कपमा पनि उनले ९ खेलमा १८ विकेट लिएका थिए। त्यसपछि उनले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा गरेको म्याच विनिङ प्रदर्शन नै उनका लागि राष्ट्रिय टिमको ढोका खोल्ने माध्यम बन्यो। उनले १० खेलमा १७ विकेट लिँदै लुम्बिनी लायन्ससँग एनपीएलको व्याक्तिगत दोस्रो स्वर्ण पदक जिते। उनले पहिलो संस्करणमा जनकपुर बोल्ट्सका लागि खेल्दै एनपीएलको पहिलो स्वर्ण पदक जितेका थिए। पहिलो संस्करणमा खासै चर्चामा आउन नपाएका शेरले दोस्रो संस्करणमा भने सनसनी मच्चाएका थिए।

‘एनपीएल अगाडि नेपाली टिमले विश्वकप क्वालिफार्यस खेलेको थियो। मलाई त्यो खेल हेरेपछि लागिरहेको थियो, यसपटक केही फरक र मध्यम खालको प्रदर्शनभन्दा बढी गर्नुपर्छ, तबमात्रै मेरो राष्ट्रिय टिममा पुग्ने सपना साकार हुन्छ,’ उनले भने। त्यसका लागि उनले भारतमा ६ महिना लामो प्रशिक्षण गरेका थिए। त्यही प्रशिक्षणका दौरान भारतीय मिस्ट्री स्पिनर वरुण चक्रवर्तीलाई पनि उनले भेटेका थिए। 

उनले २० दिनभन्दा लामो समय वरुणसँगै नयाँ दिल्लीस्थित प्रदीप साहुको क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने मौका पाएका थिए। यसैको फलस्वरुप हालः शेरले विश्वकपमा डेब्यु गर्न सफल भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.