यसरी मनाइयो नेपाली सेना दिवस र महाशिवरात्रि पर्व (तस्वीरहरु)
काठमाडौं : नेपाली सेनाले महाशिवरात्रि पर्व तथा २६३ औं सेना दिवस बिशेष समारोह आयोजना गरी मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिह राउत र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेका थिए ।
समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो । त्यस्तै सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गरेका थिए। उनले ‘फ्रि फल जम्प’ मा प्रथम प्रमुख सेनानी विवेकबिक्रम शाह र दोस्रो भएका हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरे ।
राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । तस्वीरहरु : अभिषेक महर्जन










प्रतिक्रिया दिनुहोस !