नेमकिपाको घोषणापत्र सार्वजनिक
काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभा निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको छ। पार्टीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो। पार्टी अध्यक्ष नारायणमान बिजुक्छें रोहित लगायतले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरे।
सम्मेलनमा पार्टी अध्यक्ष बिजुक्छेंले निर्वाचनको मुख्य काम र केन्द्र प्रधानमन्त्री बन्नु नरहेको बताए। ठूला दलहरूले अहिले निर्वाचनलाई प्रधानमन्त्री बन्ने मुख्य नारा बनाएको भन्दै दुःख व्यक्त गरे। नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले निर्वाचनपछिको प्रधानमन्त्री घोषणा गरेको भन्दै यसले पदका लागि राजनीति गरेको प्रस्ट भएको बताए।
पार्टीले देश र जनताको निःस्वार्थ सेवाका लागि समाजवादी प्रचार अभियानलाई थप सशक्त बनाउँदै निर्वाचनलाई राजनीतिक शिक्षाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने बताएको छ। २०३१ माघ १० गते स्थापना भएको नेमकिपाले स्थापनाकालदेखि नै किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा तथा साम्राज्यवाद विरोधी आन्दोलनको नेतृत्व गर्दै आएको दाबी गरेको छ।
पछिल्ला ३५ वर्षमा पालैपालो सरकारमा गएका दलहरूले जनताका समस्या समाधान गर्न नसकेको र मुलुक सम्भावित दुर्घटनाबाट जोगिन नसकेको टिप्पणी गर्दै पार्टीले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएको छ। पार्टीका अनुसार निर्वाचन आमूल परिवर्तनको संकेत दिने ‘ब्यारोमिटर’ भए पनि केवल निर्वाचनमार्फत समाजवाद स्थापना सम्भव छैन।
प्रतिक्रिया दिनुहोस !