चिसो छल्न गाउँ छाडेका मुगुमवासीलाई मतदान गर्न सकस
मुगु : चिनसँग सिमाना जोडिएको जिल्लाकै अन्तिम गाउँ मुगुम कार्मारोङ गाउँपालिका–२ स्थित मुगुम गाउँका बासिन्दा हरेक वर्ष चिसो मौसम छल्न कार्तिक महिनाको अन्तिम सातादेखि आ-आफना घरमा ताला ठोकेर न्यानो स्थानतिर बसाइँ सर्ने गर्छन् र वैशाख पहिलो साता तिर मात्र गाउँमा पुग्ने गर्छन।
तर यो बर्ष दुई महिना अगावै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न गाउँ फर्कन पर्ने चिन्ता स्थानीयवासीमा देखिएको छ। उनीहरुले चिसोको समयमा कसरी मतदान गर्न गाउँ पुग्ने भन्ने सकस भईरहेको छ।
अघिल्ला निर्वाचनहरू वैशाख वा जेठ महिनामा हुने भएकाले अस्थायी बसोबासमा रहेका स्थानीयहरू सहजै गाउँ फर्केर मतदान गर्ने गर्थे। तर यस पटक जाडोयाममै निर्वाचन हुन लागेकाले अधिकांश मतदाताका लागि मतदान केन्द्रसम्म पुग्न चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।
मुगुम गाउँमा करिब ३ सय घरधुरी छन्। चिसो बढेपछि गाउँलेहरू घरमा ताला लगाएर गाउँबाट करिब दुई घण्टा टाढाको सिरानी चौर, जिल्ला सदरमुकाम गमगढी, जुम्ला तथा काठमाडौँसम्म बसाइँ सर्ने गरेका छन्।
अहिले गाउँमा रहेको गुम्बामा पुजा गर्न एक जना लामा गुरु मात्र पुग्ने गरेका छन् । उनी पनि सिरानी चौरबाट दैनिक आवतजावत गर्छन्। स्थानीयहरूका अनुसार मतदान गर्न सिरानी चौरबाट दुई घण्टा, गमगढीबाट दुई दिन तथा जुम्लाबाट करिब तीन दिन पैदल यात्रा गनुपर्ने बाध्यता छ।
वृद्धवृद्धा र बालबालिकालाई लिएर मतदान केन्द्रसम्म पुग्न झनै कठिन हुने उनीहरुको भनाइ छ। गमगढीबाट मतदान गर्न आउन–जान प्रतिव्यक्ति करिब तीन हजार भन्दा बढी रुपैयाँ खर्च हुने गर्छ, भने जुम्लाबाट आउ जाउ गर्न करिब १० हजाररुपैयाँभन्दा बढी खर्च लाग्ने स्थानीयको अनुमान छ।
एकै घरका तीन–चार जना मतदाता गाउँ फर्किँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने हुँदा धेरै मतदाता मतदानका लागि गाउँ पुग्न नसक्ने अवस्था देखिएको वडा अध्यक्ष च्यावा तामाङले बताए।
यस गाउँको मतदान केन्द्रमा कुल ६ सय ९ मतदाता रहेका छन्, जसमध्ये ३ सय ३८ पुरुष र २ सय ७१ महिला छन्। हाल अधिकांश मतदाता गाउँ बाहिर बसोबास गरिरहेका कारण निर्वाचनमा कसरी सहभागी गराउने भन्ने बारे निर्वाचनमा भाग लिएका राजनितिक दलहरुले खासै चिन्ता नलिएको गमगढीमा बस्दै आएका मुगुम बासिहरुले बताएका छन ।
सोही वडाका पूर्व वडा अध्यक्ष कार्मा तामाङका अनुसार अहिले गाउँ सुनसान छ। गाउँमा बासिन्दा नै नभएकाले राजनीतिक दलहरू समेत प्रचारप्रसारका लागि पुग्न सकेका छैनन्। सिरानी चौरमा भएका मतदाता २ घण्टा उकालो हिडेर पुग्नु पर्ने छ। अन्यत्र रहेकाहरुलाई झनै सकस छ। मतदान गर्न विशेषगरी चिसोको समयमा वृद्धवृद्धालाई ठूलो समस्या पर्ने उनको भनाइ छ।
सदरमुकाम गमगढीमा बस्दै आएका मुगुम गाउँका टुण्डुल तामङ भन्छन, जाडो मौसममै निर्वाचन हुन लागेकाले यस पटक गाउँका धेरै मतदाता मतदान प्रक्रियाबाट बाहिरिन सक्ने सम्भवना रहेको छ ।
प्रतिक्रिया दिनुहोस !