१० वर्षदेखि अलपत्र पुलको ठेकेदार रास्वपाका उम्मेदवार
जनकपुरधाम : आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विकास र समृद्धिको नारासहित धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ जनतासामु मत मागिरहेका छन्। उनले समृद्धि र विकासको नारासहित जनताको घरदैलोमा मत मागिरहँदा उनको कम्पनीले भने १० वर्षअघि कबोल गरेका निर्माण योजनाहरू अलपत्र छाडेका छन्।
धनुषाको जलाद नदीमा पुल सुरु भएको ९ वर्षभन्दा बढी भइसक्यो। दुई वर्षमै सकिने गरी छिरेश्वरनाथ नगरपालिका–७ र ९ तथा मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत जलाद खोलाको पुल निर्माण थालिएको हो। तर, पुल अलपत्र छ। धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र छाड्ने पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ। जसको मालिक हुन् पूर्वजनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जनमत परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भएका किशोरी साह ‘कमल’ !
पुल बनाउने जिम्मा किशोरी साह ‘कमल’ को पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ। यो जोइन्ट भेन्चर कम्पनीका दुई साहुजीमध्ये उनी एक हुन्। मिथिलामध्यमा परिक्रमा सडकखण्डसँग जोडिएको जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका बासिन्दा समस्या भोग्दै आएका छन्। वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको जनमत पार्टीका नेता अमृत महतो बताउँछन्। उनले भने, ‘पुल नबन्दा हरेक वर्ष वर्षायाममा नदीले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेको र आउन जान सास्ती खेप्नु परेको छ।’
सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७६ पुस १९ गते पुलको काम सम्पन्न गर्ने गरी २०७४ असार १९ गते ठेक्का दिइएको थियो। पुलको लम्बाइ १ सय २० मिटर र चौडाइ ११ मिटर छ। निर्माण कम्पनीले १२ करोड ३५ लाख ६३ हजार २ सय २४ रुपैयाँमा निर्माणको जिम्मा पाएको हो। ठेक्काको समयसीमा नाघेपछि २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो। म्याद थप गरिए पनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको कामलाई अगाडि बढाएको छैन।
यसैगरी काम सम्पन्न हुन नसक्दा २०८२ मसान्तसम्म तेस्रोपटक म्याद थप गरिएको डिभिजन कार्यालय जनकपुरका सीडीई दारोगा प्रसादले जानकारी दिए। पुल निर्माणको ठेक्का पाएको पप्पु कमल जेभी निर्माण कम्पनीका तत्कालीन समयका मालिक किशोरी साह ‘कमल’ थिए। उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेकपाबाट प्रदेशसभामा निर्वाचित भएका थिए। निर्वाचनअघि उनले आफ्नो नामको कम्पनी अन्य व्यक्तिको नाममा स्थानान्तरण गरेका थिए। हाल जलाद खोला पुलको अख्तियारी सञ्जीव साह भन्ने नातेदारलाई अख्तियारी दिएर काम गराइरहेका छन्।
डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख सीडीई दारोगा प्रसादका अनुसार विगतमा ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भएको हो। उनले भने, ‘पुरानो फाइल हेर्दा पटक–पटक ताकेता गरेको देखिन्छ। तर, ठेकेदार कम्पनीले पुल निर्माणमा सक्रियता नदेखाएको पाइएको छ। तर, म आएपछि काममा तीव्रता पाएको छ।’ हाल पुल निर्माणको प्रगति ७५ प्रतिशतको दाबी गरिए पनि दुईवटा स्पामको काम पनि पूर्ण हुन सकेको छैन।
ठेक्का सकार गरेको अढाई वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि नबनेपछि स्थानीयले तत्काल पुल निर्माणको माग गर्दै पटक–पटक दबाबका कार्यक्रम गर्दै आएका छन्। २०८० माघ ३ गते तत्कालीन सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुणकुमार लाल कर्णको अध्यक्षतामा बसेको बैठकले २०८१ जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने काम अगाडि बढाउने सहमति भएको थियो। द्विपक्षीय सम्झौतामा दोस्रो स्पान २०८० फागुन १० भित्र, तेस्रो (अन्तिम) स्पान २०८० जेठ मसान्तभित्र सम्पन्न गर्ने उल्लेख छ। त्यसैगरी, २०८१ असार मसान्तभित्र यातायात सञ्चालन हुने गरी माटो तथा ग्राभेलको काम सम्पन्न हुनेगरी सम्झौता भएको थियो।
तर, सम्झौता कागजको खोस्टामा सीमित भएको नेपाली कम्युनिस्ट पार्टीका नेता शिवशंकर महतोको भनाइ छ। उनले भने, ‘सम्झौता त भयो तर कार्यान्वयन भएन। हालसम्म पनि ६५ प्रतिशत जति काम भएको छ। हामी भुइँमान्छेको आवाज कसैले सुनिदिएन। एमालेका नेता तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, तत्कालीन एकीकृत समाजवादी नेता भौतिक पूर्वाधारमन्त्री किसान श्रेष्ठलगायत नेता आएर आश्वासन दिए पनि काम भएन।
प्रतिक्रिया दिनुहोस !