एआई विश्व शिखर सम्मेलन दिल्लीमा, प्रधानमन्त्री मोदीले आज मुख्य सत्रको उद्घाटन गर्ने
नयाँदिल्ली : नयाँदिल्लीमा बिहीबारदेखि एआई इम्प्याक्ट शिखर सम्मेलन सुरु हुँदैछ। झन्डै ३ हजार सहभागीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एआई इम्प्याक्ट समिट २०२६’ का मुख्य सत्रको उद्घाटन गर्ने कार्यक्रम छ। विभिन्न देशका राष्ट्र प्रमुख र प्रविधि जगतका दिग्गज व्यक्तिहरूको उपस्थितिमा प्रधानमन्त्री मोदीले एआई इम्प्याक्ट समिटको मुख्य सत्रहरूको उद्घाटन गर्ने भारतीय सूचना तथा प्रसारण मन्त्रालयले जानकारी दिएको छ।
मुख्य सत्रमा प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, माइक्रोसप्टका संस्थापक बिल गेट्स, गुगलका सिइओ सुन्दर पिचाई, ओपनएआईका सीईओ साम अल्टम्यानलगायतसँग एआईसँगै द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन्।
नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने मुख्य सत्रमा एन्थ्रोपिकका सिइओ ड्यारिओ अमोद, गुगल डिपमाइन्डका सिइओ डेमिस हसबिस, कृत्रिम बुद्धिमत्ता विज्ञ यान्न लेकुन, क्वालकमका सिइओ क्रिस्टियानो एमोन, माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथ पनि मुख्य वक्ताका रूपमा रहनेछन्। त्यस्तै संयुक्त अरब इमिरेट्स (अबुधाबी)का युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान, भुटान, बोलिभिया, क्रोएसिया, एस्टोनिया, फिनल्यान्ड, स्पेन, श्रीलंका, सर्बिया, स्लोभाकिया, नेदरल्यान्ड्सलगायत देशका प्रतिनिधिहरूले भारतमा एआईको विकास र साझेदारीका विषयमा छलफल गर्नेछन्।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले एआई एक्सपोको शुभारम्भ गरेका थिए। सोमबारदेखि सुरु भएको एआई एक्सपोको अवलोकन गर्दै प्रधानमन्त्री मोदीले एआईलाई मानव प्रगतिको शक्तिशाली साधनका रूपमा प्रयोग गर्नुपर्नेमा बताए। उनले जिम्मेवार, समावेशी र मानव– केन्द्रित एआई विकासमार्फत विश्वव्यापी हितमा योगदान पुर्याउनुपर्ने बताए। ‘सम्मेलनको उद्देश्य एआईका लाभ सबै वर्गसम्म पुर्याउनु र यसको सम्भावना तथा जोखिमबारे व्यापक छलफल गर्नु हो,’ उनले भने।
प्रधानमन्त्री मोदीले सम्मेलनलाई विचार, नवप्रवर्तन र उद्देश्यको शक्तिशाली संगम भएको बताए। ‘यसले एआईको भविष्य निर्माणमा भारतीय प्रतिभाको सम्भावना उजागर गरेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मानव प्रगतिका लागि एआईलाई जिम्मेवार र समावेशी रूपमा प्रयोग गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ,’ उनले जोड दिए। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवलेले आगामी दुई वर्षभित्र एआई क्षेत्रमा ठूलो लगानी भित्र्याउने लक्ष्य रहेको बताए। उनले एआईलाई ‘पाँचौं औद्योगिक क्रान्ति’का रूपमा व्याख्या गर्दै यसको पहुँच आम नागरिकसम्म पुर्याउने रणनीति अघि सारिएको बताए।
सम्मेलनमा विभिन्न देशका प्राविधिक विज्ञ, उद्योगी र स्टार्टअप उद्यमीहरू पनि सहभागी छन्। सयभन्दा बढी स्टार्टअप र अन्तर्राष्ट्रिय पेवेलियनहरूले स्वास्थ्य, कृषि, जलवायु परिवर्तन, शिक्षा र सार्वजनिक सेवामा एआई प्रयोगसम्बन्धी नवीन परियोजनाहरू प्रदर्शन गरेका छन्। भारतले यस सम्मेलनमार्फत एआईलाई मानव–केन्द्रित, जिम्मेवार र समावेशी रूपमा विकास गर्न चाहेको छ।
सम्मेलनले एआई नीति, नवप्रवर्तन, लगानी र अन्तर्राष्ट्रिय सहकार्यलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ। जिम्मेवार एआई विकास, समावेशी पहुँच, वैश्विक सहकार्य, समाधान केन्द्रित नवप्रवर्तन, डेटा सुरक्षा, गोपनीयता, नैतिकता र पारदर्शितामा जोड दिइएको छ। एआईको फाइदा केवल विकसित देश वा ठूला कम्पनीमा सीमित नराखी विकासशील राष्ट्र र आम नागरिकसम्म पुर्याउने उद्देश्य भारतको छ।
- नयाँदिल्लीमा ‘एआई इम्प्याक्ट समिट २०२६’ सुरु, करिब ३ हजार सहभागी।
- प्रधानमन्त्री मोदीले बिहीबार मुख्य सत्रको उद्घाटन गर्ने
- सम्मेलनमा एआई नीति, लगानी, डेटा सुरक्षा, नैतिकता र अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित छलफल
- आगामी २ वर्षमा एआई क्षेत्रमा ठूलो लगानी भित्र्याउने भारतको लक्ष्य
- १०० भन्दा बढी स्टार्टअपले स्वास्थ्य, कृषि, शिक्षा र जलवायु क्षेत्रमा एआई समाधान प्रदर्शन
- गुगल भारतको एआई यात्रामा रणनीतिक साझेदार बन्न तयार रहेको घोषणा
- भारतले २४ घण्टामा एआई जिम्मेवारी अभियानका लागि सबैभन्दा धेरै प्रतिबद्धता संकलन गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम
भारतको एआई यात्रामा गुगल साझेदार बन्न तयार छ : सुन्दर पिचाइ
गुगलका सीईओ सुन्दर पिचाइले बुधबार एआई हाम्रो जीवनकालकै सबैभन्दा ठूलो प्लेटफर्म परिवर्तन भएको बताए। उनले यो प्रविधिसँग भारतले असाधारण प्रगतिको यात्रा तय गर्ने सम्भावना रहेको दाबी गरे। एआई सम्मेलनको अवसरमा गुगलले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पिचाइले भारतको एआई यात्रामा गुगल साझेदार बन्न इच्छुक रहेको बताए। उनले भने, ‘म विश्वास गर्छु कि एआईका साथ भारतले असाधारण प्रगतिपथ तय गर्नेछ। हामी त्यस यात्रामा साझेदार बन्न चाहन्छौं। एआई हाम्रो जीवनकालकै सबैभन्दा ठूलो प्लेटफर्म हो, जुन विश्वव्यापी स्तरमा समस्या समाधान तथा जीवनस्तर सुधार गर्ने सबैभन्दा शक्तिशाली उपकरणमध्ये एक हो।
पिचाइले एआईले रोग पहिचान र उपचारलाई अझ सहज बनाउन, समुदायलाई थप सुदृढ बनाउन तथा शिक्षालाई सबैका लागि पहुँचयोग्य बनाउन मद्दत गर्ने बताए। ‘भारतजस्ता देशका लागि एआईले पुराना संरचनागत अन्तरहरू हटाएर नयाँ अवसर सिर्जना गर्ने अवसर प्रदान गर्छ।’ गुगलले आफ्नो लक्ष्य अगाडि बढाउने सबैभन्दा महत्त्वपूर्ण माध्यमका रूपमा एआईलाई लिँदै एक दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा लगानी गर्दै आएको छ। पिचाइले उक्त अवसरमा इन्डिया अमेरिका कनेक्ड पहलको घोषणा पनि गरे। जसअन्तर्गत नयाँ समुद्रमुनि केबल मार्गहरू विस्तार गरी एआई कनेक्टिभिटी सुदृढ गरिने बताइएको छ।
गिनिज रेकर्ड
भारतमा सञ्चालन भइरहेको एआई इम्प्याक्ट समिटमा देशले एक ‘गिनिज वर्ल्ड रेकर्ड’ बनाएको छ। भारतले २४ घण्टाको अवधिमा कुल २,५०,९४६ वैध प्रतिबद्धता प्राप्त गर्दै यो उपाधि आफ्नो नाममा गरेको छ। मन्त्री अश्विनी वैष्णवले भारतले ‘२४ घण्टामा एआई जिम्मेवारी अभियानका लागि सबैभन्दा धेरै प्रतिबद्धता प्राप्त गर्ने’ गिनिज वर्ल्ड रेकर्ड हासिल गरेको बताए।
प्रतिक्रिया दिनुहोस !