उत्तर-पूर्वी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, द्रुतमार्गहरू बन्द
टोकियो : जापानको उत्तर-पूर्वी तटीय क्षेत्रमा बिहीबार ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी नगरिएको र हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्। साथै, त्यहाँका आणविक केन्द्रहरूमा पनि कुनै समस्या नदेखिएको जापानी सञ्चारमाध्यम जापान टुडेले उल्लेख गरेकाे छ।
भूकम्प लगत्तै जापान सरकारले तोहोकु क्षेत्रमा जानकारी सङ्कलन गर्न र विपद् व्यवस्थापन तथा राहत कार्यका लागि एक आकस्मिक टोली गठन गरेको छ। मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले पत्रकारहरूसँग कुरा गर्दै सरकार राहत कार्यका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।
जापान मौसम विज्ञान विभाग (JMA) का अनुसार भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको तटीय क्षेत्रबाट करिब ५० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका कारण समुद्रको सतहमा सामान्य परिवर्तन आउन सक्ने भए तापनि सुनामीको कुनै जोखिम नरहेको विभागले प्रष्ट पारेको छ।
जापानको भूकम्पीय तीव्रता मापन गर्ने शून्यदेखि सात (०-७) को स्केल अनुसार, सबैभन्दा बढी प्रभावित आमौरी प्रान्तमा '६-प्लस'तीव्रता महसुस गरिएको थियो। यो तीव्रतामा मानिसहरूलाई सीधा उभिन वा बामे नसरी यताउता गर्न असम्भव प्रायः हुन्छ।
तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार ओनागावा र हाल बन्द अवस्थामा रहेको हिगासिदोरी आणविक ऊर्जा केन्द्रमा भूकम्पका कारण कुनै गडबडी देखिएको छैन। आणविक नियमन प्राधिकरणले पनि टोकियो इलेक्ट्रिक पावर र अन्य कम्पनीका नजिकै रहेका आणविक केन्द्रहरू सुरक्षित रहेको जनाएको छ।
भूकम्पपछि सुरक्षा सतर्कता अपनाउँदै इस्ट जापान रेलवेले तोहोकु सिन्कान्सेन द्रुतगतिको रेल (बुलेट ट्रेन) सहित केही रेल सेवाहरू स्थगित गरेको छ। यस्तै, प्राविधिक निरीक्षणका लागि आमौरी क्षेत्रका एक्सप्रेस-वे (द्रुतमार्ग) हरू पनि बन्द गरिएको छ।
भौगोलिक बनोटका कारण जापान विश्वकै सबैभन्दा बढी भूकम्पीय जोखिम भएको क्षेत्रहरू मध्ये एक हो। विश्वभरि जाने ६ म्याग्निच्युड वा सोभन्दा ठूला भूकम्पहरू मध्ये करिब पाँच भागको एक भाग जापानमै जाने गर्दछ।
प्रतिक्रिया दिनुहोस !