उडेको ६ मिनेटमै बुद्ध एयरको जहाजमा समस्या, विराटनगरमै सुरक्षित अवतरण
विराटनगर : विराटनगर विमानस्थलबाट बुधबार राति काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा उडान भरेको केही मिनेटमै प्राविधिक समस्या देखिएपछि जहाज पुनः विराटनगरमै फर्काइएको छ। यू–४ ७१४९ एन–ए एन क्यू नम्बरको उक्त जहाज राति ९:४९ बजे विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो।
तर, उडान भरेको करिब ६ मिनेटमै जहाजको दाहिनेतर्फको इन्जिनमा प्राविधिक गडबडी देखिएको जानकारी चालक दलका सदस्यले गराएका थिए। त्यसपछि जहाजलाई सावधानीपूर्वक फर्काएर राति १०:१३ बजे विराटनगर विमानस्थलमै सुरक्षित अवतरण गराइएको हो।
जहाजमा २५ पुरुष र ५ महिलासहित ३० जना यात्रु तथा चालक दलका ४ सदस्य गरी कुल ३४ जना सवार थिए। सबै यात्रु सकुशल रहेको विराटनगर विमानस्थलका प्रमुख सुवास झाले बताए। उडेको ६ मिनेटमै समस्या देखिएपछि जहाजलाई आकाशबाटै विराटनगर फर्काइएको र कुनै अतिरिक्त जोखिम नदेखिएको उनको भनाइ छ।
उनका अनुसार काठमाडौंबाट प्राविधिक टोली झिकाएर विस्तृत परीक्षणपछि मात्रै जहाजलाई पुनः उडानका लागि अनुमति दिइनेछ। काठमाडौं जान नसकेर फर्किएका यात्रुलाई भने काठमाडौंबाटै आएको बुद्ध एयरको अर्को जहाजमार्फत बुधबार राति गन्तव्यतर्फ पठाइएको विमानस्थल प्रमुख झाले बताए।
प्रतिक्रिया दिनुहोस !