ग्लोबल साउथका लागि एआई महत्वपूर्ण छ, यसलाई लोकतान्त्रिक बनाइनु पर्छ : भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एआई सबैका लागि लोकतान्त्रिक हुनुपर्ने बताएका छन् । नयाँदिल्लीमा बिहीबार एआई इम्प्याक्ट समिटको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले एआई प्रविधिलाई देशका सबै नागरिकसम्म लोकतान्त्रिक रूपमा पहुँचयोग्य बनाउनु पर्ने भारतको दृष्टिकोण स्पष्ट पारे ।
‘म तपाईं सबैलाई विश्वकै ऐतिहासिक एआई समिटमा स्वागत गर्छु । भारत विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रतिभाको केन्द्र हो । ग्लोबल साउथका लागि गर्वको विषय हो कि एआई समिट भारतमा आयोजना भइरहेको छ । जब पहिलो पटक वायरलेसको विकास भयो, त्यसबेला सिंगो विश्व रियल टाइममा जोडिने कल्पना पनि गरिएको थिएन । कृत्रिम बुद्धिमत्ता मानव इतिहासको यस्तै रूपान्तरणकारी परिवर्तन हो । आज हामीले जे देखिरहेका छौं र जे पूर्वानुमान गरिरहेका छौं, त्यो यसको प्रभावको सुरुवात मात्र हो,’ प्रधानमन्त्री मोदीले भने ।
उनले भारत एआईलाई मानवहितमा प्रयोग गर्ने पक्षमा रहेको बताए । ‘सर्वजन हिताय, सर्वजन सुखाय’ लाई समिटको मूल विषय बनाइएको मोदीको भनाइ छ । ‘एआई सबैका लागि लोकतान्त्रिक बनाउनु पर्छ, विशेषगरी ग्लोबल साउथका लागि । एआईले मेशिनलाई मात्र बुद्धिमान बनाएको छैन, यसले मानव क्षमतामा धेरै गुणा वृद्धि गरेको छ,’ उनले भने ।
उनले एआई प्रभावको दायरा अकल्पनीय रहेको बताए । ‘पहिले प्रविधिको प्रभाव देखिन दशकौं लाग्थ्यो, आज ‘मेशिन लर्निङ’ बाट ‘लर्निङ मेशिन’ सम्मको यात्रा अझ छिटो, गहिरो र व्यापक भएको छ,’ मोदीले भने। उनले एआईलाई सार्वभौम रूपमा प्रयोग गरी सशक्त राष्ट्र निर्माण गर्न सकिने बताए।
‘हामीसँग ठूलो दृष्टि र उत्तिकै ठूलो जिम्मेवारी हुनुपर्छ । वर्तमान पुस्तासँगै भावी पुस्तालाई कस्तो प्रकारको एआई हस्तान्तरण गर्ने भन्ने विषयमा पनि सोच्नु पर्छ । आजको वास्तविक प्रश्न भविष्यमा एआईले के गर्न सक्छ भन्ने होइन, बरु वर्तमानमा हामी एआईसँग के गर्छौं भन्ने हो । यस्ता प्रश्न मानव इतिहासमा पहिले पनि आएका छन्,’ उनले भने ।
त्यसको सबैभन्दा शक्तिशाली उदाहरण आणविक ऊर्जा रहेको प्रधानमन्त्री मोदीको भनाइ छ । ‘हामीले यसको विनाशकारी रूप पनि देखेका छौं र सकारात्मक योगदान पनि,’ उनले भने । प्रधानमन्त्री मोदीले एआईलाई मानव केन्द्रित बनाउनु पर्ने बताए ।
एआई एक रूपान्तरणकारी शक्ति रहेको बताउँदै उनले दिशाहीन बनाइए यसले अव्यवस्था पनि निम्त्याउन सक्ने संकेत गरे । त्यसैले एआईलाई सही दिशामा लैजानुपर्ने उनको भनाइ छ । ‘मेशिन केन्द्रित एआईलाई कसरी मानव केन्द्रित बनाउने, कसरी यसलाई संवेदनशील र उत्तरदायी बनाउने ? ग्लोबल एआई इम्प्याक्ट समिटको मूल उद्देश्य नै यही हो,’ उनले भने ।
त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले एआईको भविष्य ‘प्रविधि र मानवता’ सँगै जोड्नुपर्ने बताए। भारतले डिजिटल प्रविधिमा गरेको प्रगतिको प्रशंसा गर्दै उनले एआई केवल ठूलो कम्पनीहरूका लागि मात्र नभएर मानवता र जिम्मेवार नवीनतालाई सँगै अघि बढ्नेहरूका लागि पनि हुनुपर्ने बताए।
फ्रान्स र भारतले संयुक्तरूपमा यसलाई अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए। राष्ट्रपति म्याक्रोनले एआई स्वास्थ्य, ऊर्जा, मोबिलिटी, कृषि तथा सार्वजनिक सेवामा मानवतालाई अझ छिटो र प्रभावकारी रूपमा विकसित गर्न मद्दत गर्ने एउटा साधन बन्नुपर्नेमा जोड दिएका थिए।
उनले मुम्बईको एउटा उदाहरण दिँदै भने, ‘१० वर्षअघि बैंक खाता खोल्न नसक्ने त्यो विक्रेता आज फोनमार्फत भुक्तानी स्वीकार गर्न सक्षम छ । यसले डिजिटल टेक्नोलोजीले मानिसको जीवनमा कसरी सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने स्पष्ट देखाउँछ।’ त्यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एआई सबैका लागि हुनुपर्ने बताए।
‘एआईको भविष्य केही चुनिएका देशहरूले मात्र तय गर्न सक्दैनन्, यसलाई केही अरबपतिहरूको मर्जीमा पनि छोड्न मिल्दैन,’ उनले भने। एआईले सामाजिक असमानता बढाउन, पूर्वाग्रहलाई सुदृढ बनाउन र हानिकारक परिणाम ल्याउन सक्ने भन्दै सबैलाई ध्यानाकर्षण गराए। एआईले समाज, अर्थतन्त्र र शासन संरचनाहरूलाई तीव्र गतिमा परिवर्तन गरिरहेको बताउँदै यसले समावेशी तथा समान अवसरका साथ सबैका लागि उपलब्ध हुनुपर्ने बताए ।
त्यस्तै गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईले एआईबाट सबैले जिम्मेवार र समावेशी तरिकाले फाइदा लिनुपर्ने बताए। उनले भारतमा गुगलले एआई हबका रूपमा विकास गर्न खोजेको र र त्यसका लागि १५ अर्ब डलर लगानी गरेको बताए।
यसको विकासपछि भारतमा एआई प्रविधिको नयाँ आयाम सुरू हुने उनले विश्वास दिलाए। ’एआईलाई विश्वव्यापी साझेदारी, दिगो विकास र सबैका लागि पहुँचयोग्य बनाउनु आवश्यक छ, ताकी यसको फाइदा सबैले पाउन सकून् र प्रगति सबै क्षेत्र र समुदायसम्म फैलिइहालोस्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !