वाचा, प्रतिज्ञा र घोषणापत्र : अबको आशा
सानो र राम्रो देश नेपाल। विश्वभर नेपालको परिचय यही हो। अनि नेपाली– शान्त स्वभाव, मनकारी र स्वाभिमानी। पुर्खादेखिको यो पहिचानले नेपालीको शिर सधैं उँचो राखेको छ। नेपाली जहिले जहाँ रहे पनि आफ्नो जन्मभूमि र आफ्नो परिचयका कारण खुट्टा कमाउनुपर्ने छैन, पर्दैन। अपार सम्भावना बोक्दाबोक्दै पनि हामीले देश विकासमा छलाङ मार्न भने सकेका छैनौं। अतित र वर्तमानका, प्रकृति र स्वभावका गौरवगाथा जति गाए पनि हामी विश्वमानचित्रमा अघि बढ्न नसकेको चाहिँ हाम्रो वास्तविकता हो।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन फगत एक चुनाव मात्र हुँदै छैन। नेपालको राजनीतिक इतिहासमा यो एक निर्णायक घडी बन्दैछ। परम्परागत शक्ति बदलिएर, नयाँले अनुभव चिरफार गरेर देश र जनतालाई आफ्नो गौरवपूर्ण परिचयलाई बलियो बनाउने दिन हुँदैछ। सोही कारण चुनावका दिन जनतासामु कसैले वाचा गरेका छन्, कोहीले प्रतिज्ञा गरे। कोहीले घोषणा गरेका छन्। हो, चुनावका सन्दर्भमा साना, ठूला, नयाँ, पुराना प्रायः सबै दलले अबको ५ वर्षमा आफूले गर्ने काम र देशलाई पुर्याउने योगदानको फेहरिस्त सार्वजनिक गरिसकेका छन्। नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा, मधेस केन्द्रित दलसहितले आफ्ना धारणा, कार्ययोजना, गन्तव्य बाहिर ल्याएका छन्। बिहीबारमात्र पनि एमालेले ११ बुँदामा आफ्नो घोषणापत्र जनतामाझ सार्वजनिक गरेको छ। रास्वपाले पनि वाचा पत्रमार्फत देश विकासको खाका ल्याएको छ। अघिल्लो दिन कांग्रेसले मधेसभूमिबाट प्रतिज्ञापत्र ल्याएको छ।
वाचा, प्रतिज्ञा वा घोषणापत्र नाममा जे भए पनि सबै दलहरूले फागुन २१ लाई आफ्नो पक्षमा पार्न घनिभूत प्रयत्न गरेको देखिन्छ। हामी यो अवधिमा यो काम गर्छौं , युवा, महिला, जनजाति, विपन्न, गरिब वर्गलाई माथि उकास्न यस्तो काम गर्छौं भन्ने खाका आएको छ। परम्परागत शक्ति एमालेले पुरानो ट्रेन्डलाई भत्काउँदै नयाँ डिजिटलाइज्ड घोषणापत्र जनतामाझ पस्किएको छ। नवयुवा, युवा पुस्ता र महिलालाई अग्रस्थान दिएर, स्वदेशमै सफल बनाउन सकिने खालको घोषणापत्रलाई एमालेले बोकेको छ। मधेसबाट जागेको कांग्रेसले सुशासन, समान अवसर र विकास केन्द्रित प्रतिज्ञा गरेको छ। रास्वपाले कर्णालीबाट सुशासनयुक्त देशको सन्देश प्रवाह गरेको छ।
अरू दलले पनि केही न केही नयाँ घोषणा गर्दै देश बनाउने कसम खाएका छन्। यसरी हेर्दा फागुन २१ को चुनावमा मतदाताले मत दिनु अघि दलका योजना र प्रतिबद्धता राम्रोसँग केलाउने मौका पाएका छन्। यो सुखद पक्ष हो। तर, हामीले आत्मसमीक्षा गर्नैपर्छ, यी आशालाग्दा र रहरलाग्दा प्रतिबद्धताहरू किन चुनावपछि सबै कार्यान्वयन हुन सक्दैनन् ? चुनावका बेला ल्याइएका सकरात्मक र रचनात्मक विकास निर्माणका खाका व्यवहारमा कति लागू हुन्छन् ? वा हुन सक्दैनन्। केही व्यवहारमा कार्यान्वयन भएका पनि छन्, तिनको निरन्तरता के कारणले हुन सक्दैन ? राम्रा कामको योजना चुनावलाई मात्र हो कि चुनाव पछि बन्ने सरकारको काम गराईलाई समेत हो ? यसको मसिनो अध्ययन, विश्लेषण हुन सके चुनावी नाराले सार्थकता पाउनेछ।
हरेक चुनावमा बोलिएका, भनिएका कुरा कुनै कार्यान्वयन नभएका होइनन्, हुनुपर्ने जति नभएका मात्र हुन्। यसपटक केही सकरात्मक पाटा देखिएका छन्, पुराना सच्चिएका छन्। हामीले कति गर्न सक्यौं, सबै किन काम हुन सकेन। अब के गर्दा विगतका गल्ती दोहोरिने छैन भन्ने वाचा आएका छन्। नयाँले पनि पुरानैलाई गाली गरेर मात्र उम्कन सक्ने अवस्था छैन। नकारात्मकता, नैराश्यता वा गाली संस्कृति कुनै कोणमा कतै कामयावी होला, देश बनाउने सन्दर्भमा भने कतै काम लाग्दैन। गाली हाम्रो संस्कृति होइन। अरूलाई गाली गरेरभन्दा म यो काम यति समयमा गर्छु भन्दा चुनावी यात्रा पनि स्वच्छ र प्रभावकारी हुन्छ। यी दुवै पक्षलाई समान अवसर ल्याइदिएको छ यसपटकको आम चुनावले। त्यसैले, देश कस्तो बनाउने, जनताको मुहारमा कसरी खुसी भर्ने र विश्वले चिनेको जस्तो स्वाभिमानी कसरी रहिरहने भन्नेमा यसपटकको चुनाव केन्द्रित हुनुपर्छ।
मतदाता चनाखो हुनुपर्छ। सबै कुराले सम्पन्न, धनी हुँदाहुँदै गरिब रहिरहुनुपर्नेको पीडाबोध आज यी दलहरूलाई पनि छ। यो कुरा चुनावी वाचा, प्रतिज्ञा र घोषणापत्रमा प्रष्ट देखिन्छ। कतिपय नयाँ प्रयोग भएका छन्। यो बीचमा हुन नसकेका, गर्न नसकेका, गर्न नचाहेका कामहरूप्रति गल्तीअनुभूति ती प्रतिबद्धतापत्रमा हुनुलाई एक हदसम्म सकारात्मक रूपमा लिनुपर्छ। अब गल्ती गर्ने छुट कसैलाई छैन, तिनलाई जनताले प्रष्ट मूल्यांकन गर्नेछन् भन्ने स्वीकारोक्ति एक कदम अग्रपथ नै हो। यसलाई मनन् गर्ने र चुनावका बेला बोलेका कुरा पूरा गर्न सके नेपालको आर्थिक, सामाजिक र राजनीतिक स्तरमाथि उठ्न कुनैबेर लाग्ने छैन। सबैले जाँन्दाजाँन्दै पनि हुन नसकेका, छुटेका यी काम मनन् गरी अबका दिनमा सक्रियता देखाउनु नै बुद्धिमत्तापूर्ण निर्णय हुनेछ।
प्रतिक्रिया दिनुहोस !