पीसीओडी महिनावारीमात्र होइन, जीवनशैलीसँग गाँसिएको पीडा
अस्पतालको बहिरंग विभाग (ओपीडी)मा युवतीको पीडा बारम्बार सुनिन्छ, त्यो हो पीसीओडी वा पीसीओएस। अहिले यो समस्या कलेज र सामाजिक सञ्जालमा समेत पोखिन थालेको छ। धेरै युवतीका लागि यो शब्द महिनावारी अनियमित हुने, शरीरमा पुरुष जस्तै रौं आउने, बाझोपन वा तौल बढ्नुको पर्यायवाची जस्तै बनेको छ। तर वास्तवमा पीसीओडी केवल प्रजनन स्वास्थ्यको समस्यामात्र होइन। यो हर्मोनहरूको असन्तुलन, मेटाबोलिज्म प्रक्रियामा गडबडी, जीवनशैली र भविष्यको स्वास्थ्यसँग गहिरो रूपमा गाँसिएको जटिल अवस्था हो। नेपाली समाजमा महिलाको स्वास्थ्य अझै पनि ‘सहने विषय’ मानिन्छ। त्यसैले पीसीओडी चुपचाप फैलिँदै गएको छ।
पीसीओडीलाई गम्भीर रूपमा लिनुपर्छ ?
पोलिसिस्टिक ओभेरियन डिजिज (पीसीओडी) लाई अहिले पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)पनि भनिन्छ। विश्वभर नै प्रजनन उमेरका महिलामा सबैभन्दा बढी देखिने हर्मोनल असन्तुनल तथा मेटाबोलिक असन्तुलनहरूमध्ये पीसीओडी प्रमुख हो भन्दा फरक नपर्ला। यसको मुख्य लक्षणहरूमा महिनावारी अनियमित हुने, अण्डा ननिस्कने (जसले गर्दा बाँझोपन हुने), पुरुष हर्मोन (एन्ड्रोजेन) को मात्रा बढ्ने, तौल बढ्ने, शरीरमा अनावश्यक रौं बढ्नु आदि हुन्।
तर यसको वास्तविक चुनौती यति मै सकिँदैन। आज विश्वभर पोलिसिस्टिक ओभेरियन डिजिज (पीसीओडी) लाई मेटाबोलिक डिस्अर्डरका रूपमा लिन थालिएको छ। यसले हाम्रो शरीरमा ग्लुकोज अर्थात् चिनीको मात्रा नियन्त्रण गर्ने इन्सिुलिनको रेसिस्टान्स अर्थात् इन्सुलिनले प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्थाको सिर्जना गर्छ। त्यसैले मोटोपन, मधुमेह, उच्च रक्तचापजस्ता समस्या निम्त्याउने र भविष्यमा हृदय रोगको जोखिम बढाउनेसँग पनि पीसीओडीलाई जोडिएर हेर्न थालिएको छ।
नेपालमा पीसीओडीको राष्ट्रिय स्तरको ठोस तथ्यांकहरू उपलब्ध छैन। तर अस्पताल–आधारित अध्ययन र चिकित्सकीय अनुभवले यो समस्या चिन्ताजनक रूपमा बढ्दो रहेको संकेत गर्छ। जनकपुरको जानकी मेडिकल कलेजमा गरिएको एक अध्ययनले बाँझोपनका कारण उपचारका लागि आउने महिलाहरू मध्ये ७ देखि १० प्रतिशतमा पीसीओडी रहेको देखाएको थियो। त्यस्तै, पोखराको मणिपाल अस्पतालमा गरिएको एक अध्ययनले पीसीओडी भएका महिलाहरूमध्ये ६० प्रतिशतभन्दा बढीमा मोटोपन अर्थात् शरीरको तौल बढिरहेको पाइएको थियो। सो अध्ययनले सहरी क्षेत्रमा बसोबास गर्ने, सेडेन्टरी जीवनशैली अपनाउने र बजारिया जंक फुड (प्रोसेस्ट फुड) बढी खाने युवतीमा पीसीओडीको सम्भावना अझ बढी देखिएको प्रमाणित गरेको छ।
पीसीओडी र मोटोपन
अझै पनि धेरैले पीसीओडीलाई ‘अन्डासयमा सानो सानो सिस्ट देखिनु’ भनेर मात्र बुझ्छन्। तर पीसीओडीको महत्त्वपूर्ण अर्को पक्ष पनि छ, त्यो हो इन्सुलिन रेसिस्टेन्ट। पीसीओडी भएका धेरै महिलामा शरीरले उत्पादन गरेको इन्सुलिनको प्रभावकारितामा कमी आउँछ। यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा मात्र होइन, अण्डाशयको हर्मोन उत्पादन प्रक्रियालाई पनि असर गर्छ।
त्यस्तै, मोटोपनले पनि शरीरमा परिवर्तन गर्छन्। मोटोपनले पनि इन्सुलिनको प्रभावकारितामा कमी ल्याउँछ। दीर्घकालीन रूपमा सुजन अर्थात् इन्फलामेसन कायम राख्दछ र एन्ड्रोजेनको उत्पादन बढाउने हुन्छ। त्यसैले महिनावारी अझ अनियमित हुने, अन्डा उत्पादन नहुने, बाँझोपनको जोखिम बढाउने तथा दीर्घकालमा मधुमेह र हृदय रोगको जोखिम बढाउने हुन्छ। यी सबै पीसीओडीका जस्तै समान लक्षण र असरहरू हुन्। त्यसैले मोटोपन आफैंमा पीसीओडीका कारण नहुन सक्छ, तर सबैभन्दा शक्तिशाली कारण हो भन्दा फरक नपर्ला।
वजन घटाउनु नै उपचारको आधार हो ?
पीसीओडी भएका महिला वा किशोरीहरूलाई ‘तौल घटाउनुहोस्’ भनेर पहिलो सल्लाह दिइन्छ। धेरैलाई यो सामान्य सल्लाह जस्तो लाग्न सक्छ तर यसको पछाडि गहिरो वैज्ञानिक आधार छ। केवल ५ देखि १० प्रतिशत शारीरिक तौल घटाउँदा पनि महिनावारी नियमित हुने गरेको अध्ययनहरूले देखाएका छन्। त्यस्तै तौल घटाउनाले अन्डाको उत्पादन हुने र गर्भधारण भएका प्रशस्त उदाहरणहरू छन्। त्यस्तै शारीरिक तौल घटाउनाले हर्मोनहरूको सन्तुलन कायम हुने, विशेषतः एन्ड्रोजेन हर्मोनको मात्रा कम हुने र इन्सुलिनको प्रभावकारितामा पनि सुधार आउने तथ्य अध्ययनहरूले पुष्टि गरेका छन्। त्यसैले तौल घटाउनु पीसीओडीको औषधिभन्दा पनि प्रभावकारी प्राथमिक उपचार हो भन्न सकिन्छ।
तौल घटाउन भन्नु र तौल घटाउनु फरक कुरा हो। यो भने जस्तो सजिलो छैन। तौल घटाउने भन्नेबित्तिकै दुईटा कुरा सबैको दिमागमा आउँछ, एउटा खाना कम खाने र अर्को व्यायाम गर्ने। साँच्चिकै यही दुई तरिकालाई अपनाउन सके निश्चित रूपमा तौल घट्ने हुन्छ। तर कम खानेभन्दा सही तरिकाले खाने गरेको अवस्थामा स्वास्थ्य राम्रो हुन्छ। पीसीओडी भएकाहरूले भोकै बस्ने, डायटिङ गर्ने वा एकपछि अर्को ‘ट्रेन्ड डाइट’ पछ्याउने गर्छन्। तर यसमा खानाको लक्ष्य भोकै बस्नुभन्दा पनि इन्सुलिन नियन्त्रण गर्नु हो। त्यसैले कम ग्लासेमिक इन्डेक्स भएका तथा प्रोटिन भएका खानेकुराहरू ढिँडो, जौ, गहुँ, दाल, सागसब्जी, फलफूल, गेडागुडी, अन्डा, माछा, दूधजन्य पदार्थ आदिलाई पहिलो रोजाइमा राख्नुपर्छ। चिनी भएका तथा प्रोसेस्ड गरेका तयारी खानेकुराहरूलाई त्याग्नु र चिल्लो, बोसोयुक्त खानालाई कम गर्नु बुद्धिमानी हुन्छ। हाम्रो परम्परागत खानामा नै धेरै राम्रो विकल्प हुन सक्छ।
खानासँगै शारीरिक व्यायम अति महत्त्वपूर्ण हुन्छ। शारीरिक गतिविधि तथा व्यायामले तौल घटाउनुका साथै इन्सुलिनको प्रभावकारितालाई पनि बढाउँछ। त्यसैले पीसीओडी नभएकाहरूलाई पनि नियमितको व्यायामले मधुमेहको जोखिम र नियन्त्रणमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ। त्यस्तै व्यायामले कोर्टिसोल नामक हर्मोनको उत्पादन घटाएर तनाव नियन्त्रणमा पनि मद्दत गर्छ। व्यायामले मानसिक स्वास्थ्य राम्रो बनाउने, हर्मोनहरूको सन्तुलन कायम गर्ने, शारीरिक बोसोहरूको सन्तुलनमा समेत मद्दत गर्ने भएकाले हरेक मानिसले व्यायाम गर्नु लाभदायी हुन्छ। पीसीओडी भएका महिला तथा किशोरीहरूलाई हप्तामा कम्तीमा १५० मिनेट मध्यमस्तरको शारीरिक गतिविधि (हिँड्ने, साइकल चलाउने, योग गर्ने) अत्यन्त उपयोगी हुन्छ भन्ने अध्ययनहरूले देखाएको छ।
पीसीओडी केवल शारीरिक समस्या होइन। अनियमित महिनावारी, बाँझोपनको डर, शरीरको स्वरूपमा परिवर्तनजस्ता समस्याहरूले महिलाहरूको आत्मसम्मान र मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ। नेपालमा अझै पनि विवाहपछि छिटो बच्चा नुहुँदा महिलाहरूलाई दोषी मानिन्छ। पीसीओडीलाई गम्भीरतापूर्वक लिँदैनन् र समयमा नै उपचार खोजिँदैन। जबकि यसको समाधान केवल अस्पतालको ओपीडीमा सीमित हुन सक्दैन। यसलाई नियन्त्रण गर्न विद्यालय र कलेजस्तरमै महिनावारी र हर्मोन स्वास्थ्यबारे शिक्षा दिनुपर्छ।
उनीहरूमा मोटोपन, शारीरिक व्यायाम र खानामा सचेत बनाउनुपर्छ। प्राथमिक स्वास्थ्य केन्द्रमा स्क्रिनिङ गर्ने, परामर्श दिने कार्यक्रमहरू अगाडि बढाउनु पर्छ। समाजमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, जीवनशैलीमैत्री कार्यक्रमहरू बनाउनु आवश्यक छ। यी सबै बिना पीसीओडीको नियन्त्रण सम्भव छैन। पीसीओडी महिनावारीको समस्यामात्र होइन। यो आजको जीवनशैली, खानपान, मानसिक दबाब र सामाजिक संरचनाको प्रतिबिम्ब हो। शरीरको तौल (मोटोपन) व्यवस्थापन, सन्तुलित आहार र सक्रिय जीवनशैली अपनाउनु कुनै फेसन होइन। यो नै स्वस्थ महिला, स्वस्थ परिवार र स्वस्थ समाजको आधार हो।
डा. बालकृष्ण साह
प्रतिक्रिया दिनुहोस !