डिप्रेसनबाट कसरी जोगिने ?
उत्साहहीन अवस्था नै उदासीनता हो। उदासीनता अर्थात् डिप्रेसनले भावनात्मक र शारीरिक समस्या निम्त्याउन सक्छ। उदासीनताको समस्याबाट प्रभावित व्यक्तिलाई आनन्द वा खुसीयालीप्रति कुनै चाख हुँदैन। डिप्रेसन प्रकारको मानसिक स्वास्थ्यको अवस्था पनि हो।
यो समस्या बढ्दै गएमा व्यक्तिलाई जीवनप्रतिको लगाव घट्नुका साथै परिवार, साथीभाइ तथा समाजसँगको सम्बन्धमा गडबडी आउन सक्छ। यसको समयमा नै व्यवस्थापन गर्न नसक्दा व्यक्ति आत्महत्याको अवस्थासम्म पनि पुग्न सक्दछ। यद्यपि परिवारजन, आफन्त एवं साथीभाइको सकारात्मक सहयोगले यो समस्याबाट बाहिर आउन मद्दत पुग्दछ।
लक्षणहरू
- आत्मग्लानी महसुस हुनु।
- इच्छा शक्तिमा कमी आउनु।
- शारीरिक शक्तिमा कमी आउनु।
- आत्मविश्वास घट्दै जानु।
- निद्रामा गडबडी देखा पर्ने।
- खानामा रुचि घट्नु।
- दैनिक काममा ध्यान दिन नसक्नु।
- कार्यक्षमतामा ह्रास आउनु।
- निर्णय लिने क्षमतामा कमी आउनु।
- रमाइलो लाग्ने कुरा विस्तारै नरमाइलो लाग्नु।
- जीवन व्यर्थ लाग्नु।
- बाँच्ने इच्छा कम हुँदै जानु।
डिप्रेसन कसरी गर्ने व्यवस्थापन ?
डिप्रेसनलाई व्यवस्थापन गर्न सकिन्छ। व्यवस्थापनका लागि स्वयं व्यक्तिको भूमिका आवश्यक पर्छ। घरायसी वा सामाजिक कार्यमा आफूलाई व्यस्त राख्न कोसिस गर्नु पर्छ। मनमा लागेको कुरा खुलस्त भन्ने र आवश्यकताअनुसार परिवार, साथीभाइ वा नजिकका कोही व्यक्तिसँग सहयोग माग्नुपर्छ। साथीभाइ, आफन्तसँग घुलमिल हुन प्रयत्न गर्नुपर्छ।
उदासीनताको अवस्थामा रहेको व्यक्तिको परिवार वा साथीभाइले केही कुरा गर्न खोज्दैछन् भने त्यसलाई राम्रोसँग सुनिदिने र खुलस्त व्यक्त गर्न वातावरण प्रदान गर्नुपर्छ। व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउने कार्य गर्नु हुँदैन। ‘म तिमीसँगै छु’ भन्ने जस्ता मनोबल र हौसला बढाउने कुराको आभास दिलाउनु पर्छ।
समस्यामा रहेको व्यक्तिलाई अरूसँग तुलना गर्नु हुँदैन। व्यक्तिको मनोदशा बुझन् प्रयास गर्नुपर्छ। समस्या सुनिदिने बानीको विकास गर्नुपर्छ। आत्महानीको सोच आएमा मनोविमर्शकर्ता वा मनोचिकित्सकको सहयोग लिन उत्प्रेरित गर्नुपर्छ।
- दैनिक कार्यतालिका बनाई कार्य गर्ने।
- पोषणयुक्त खानपान गर्नुपर्ने।
- दैनिक व्यायाम गर्नुपर्ने।
- योग अभ्यास गर्नुपर्ने।
- सुत्ने र उठ्ने निश्चित समय निर्धारण गर्ने।
- धार्मिक कार्यमा संलग्न हुने।
- मनोविमर्शकर्ता र मनोचिकित्सकको सहयोग लिने।
समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। शारीरिक तथा मानसिक स्वास्थ्य सेवाको सहज पहुँचको व्यवस्था गर्नुपर्छ। बिना अवरोध समुदायमा सहयोग लिनका लागि उपयुक्त वातावरणको सिर्जना गर्नुपर्छ। सामाजिक सहयोग र सद्भावको विकास गर्नुपर्छ।
स्कुल, क्लब, युवा समूह, आमा समूह आदिमा सहभागी हुने वातावरण मिलाउनु पर्छ। कलंक र भेदभावविरुद्ध कार्यक्रम सञ्चालन गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !