कृषि फार्ममा आगलागी, ११ लाखको क्षति
विराटनगर : कृषि फार्ममा सोमबार बिहान आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मोरङको रंगेली नगरपालिका–२ मंगलबारेमा टिकुमाया अधिकारीको नाममा दर्ता रहेर जीवन अधिकारीले सञ्चालन गर्दै आएको फार्ममा बिहान ५ः४५ बजेतिर आगलागी सुरु भएको थियो ।
टिनको छानो र बाँसको टाटीबेरा भएको भुइँ तले फार्ममा लागेको आगो नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् ।
आगोले फार्मसहित त्यहाँभित्र रहेको धान, कोदो, मकै, गहुँ, काठपात, युरिया र डीएपी मल ध्वस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस !