सत्ता, शक्ति र मतको दुरुपयोगले डुबायो मधेसको सामुदायिक विद्यालय
पूर्व शिक्षामन्त्री उम्मेदवार रहेको क्षेत्रका मतदाता भन्छन्, ‘शिक्षालय कि सत्तालय ?’
बर्दिबास (महोत्तरी) : प्रतिनिधिसभा सदस्यको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू मतदातालाई रिझाउन गाउँ–गाउँ डुलिरहेका छन् । तर, मत माग्ने भाषण र विकासका नाराबीच महोत्तरी क्षेत्र नम्बर–१ स्थित बर्दिबास नगरपालिका–१३, डाँडाटोल बिजलपुराको जनता माध्यमिक विद्यालयको कक्षा कोठाले भने अर्कै व्यथा सुनाइरहेको छ–मत दुरुपयोग र राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको सामुदायिक शिक्षाको कथा ।
विद्यालय पुग्दा लाग्यो यो पनि विद्यालय हुन्छ र ? कक्षा १ मा दुईवटा बेञ्च, दुई जना विद्यार्थी, एउटा कुर्सी र एक जना शिक्षिकाले दर्शाउँछ स्कुलको हालत । धुलाम्य कोठामा शिक्षिका पुनिताकुमारी महतोले पाठ पढाइरहेकी छिन् अबोध बालबालिकाहरुलाई । स्कुल बाहिर नजिकै गाउँहरुमा उम्मेदवाहरु नाम बताउँदै भोट मागि रहेका छन् । कक्षा १ का ६ वर्षका शिवम सहनीले आफ्नो नाम बताउँछन्, तर अर्का विद्यार्थीले नाम समेत भन्न सक्दैनन् ।
यहाँबाट पटक–पटक भोट लिएर नेता जिते । उसको पार्टीको सरकार पनि बन्यो । तर कुनै बेला भरिभराउ हुने बर्दिबास नगरपालिकाको पहिलो हाइस्कुल बन्द हुने अवस्थामा जेनतेन चलिरहेको छ । स्कुलको अवस्था हेर्दा लाग्छ भान हुन्छ–मृत्यु शैंयामा एउटा बिरामीझैं स्कुल पुग्यो ।
कक्षा १ की शिक्षिका पुनिता भन्छिन्, ‘स्कुलमा नाम धेरैको विद्यार्थीको छ तर, उनीहरु सबै बोडिङ्ग स्कुलमा भेटिन्छ । हामी के गर्ने, डेक्स-बेञ्चलाई पढाउन आएको कि विद्यार्थीलाई ?’ जनता माध्यमिक विद्यालय डाँडाटोल पूर्व विद्यार्थी मञ्चका सदस्य बीरेन्द्रकुमार महतोका अनुसार कुनै समय यही विद्यालयमा एउटै कक्षामा १५० जनासम्म विद्यार्थी हुन्थे । कुल विद्यार्थी संख्या १५ सय नाघेको थियो । महोत्तरी जिल्लामा एसएलसीमा उत्कृष्ट नतिजा ल्याए पुरस्कार पाएको थियो । तर, अब विद्यालय चरम राजनीतिकरणले धवस्तै बनेको छ।
विद्यालयमा एक शिक्षक भन्छन्, ‘अहिले मुस्किलले स्कुलमा त्यस्तै ३ सय हाराहारी विद्यार्थी होलान् । भवन पक्की छ, डेक्स–बेञ्च छन्, शिक्षकहरु छन् । तर, कक्षा कोठा रित्तिँदै गएका छन् । सब पार्टीको गलत राजनीतिले गर्दा भयो । जो जितेर आउँछ उसैले स्कुलमा हैकमबाद चलाउँछ । हामी के गर्ने ?’
यो केवल विद्यार्थी घटेको कथा होइन । नेताले चुनावमा मतदातासँग गरेकोे बाचा तोडेर दिएको पीडाको सत्य कथा हो । कुरुप राजनीतक अभ्यासले एउटा समुदायको बालबालिकाहरु पढ्ने स्कुल कसरी बन्द हुँदैछ, त्यसको ज्वलन्त उदाहरण हो ।
मतदाता रामवृक्ष चौधरी भन्छन्, ‘गाउँको स्कुल ध्वस्त बनेपछि ४५ डिग्री तापक्रममा खाडीमा काम गर्दै स्थानीयहरु बच्चाहरुलाई निजी स्कुलमा पढाउन बाध्य छन् । जसो त्यो पनि हुत्ति छैन, उनीहरुको बच्चा बाख्रा-भैंसी चढाइरहेका छन् । के गर्ने गाउँ बनाउने नेता नै भेटिएन अहिलेसम्म, कयौं पटक भोट हालिसके । अब कसलाई हाल्ने विश्वास पनि मर्दै गयो ।’
करिब ९ हजार जनसंख्या भएको बिजलपुराको माझ छ जनता माध्यमिक विद्यालय । अहिले आफैलाई रुपान्तरण गरिदिने नेताको खोजीमा मतदाता मात्रै होइन् विचरा स्कुल पनि छ । स्कुल पुग्दा यस्तै भान हुन्छ कक्षा कोठा हेरेर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही विद्यालयमा मतदान केन्द्र तोकिएको छ ।
प्रहरी–प्रशासन र निर्वाचन अधिकृतको टोली तयारीमा जुटेको छ। महोत्तरी क्षेत्र नम्बर १ मा २५ जना उम्मेदवार चुनावी प्रतिपपर्धामा छन्। प्रमुख उम्मेदवारहरूमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल, लक्ष्मी महतो कोइरी, मुकेशराज काफ्ले, प्रमोदकुमार महतो, योगनारायण महतो र बीरेन्द्र महतो छन् ।
०७९ सालको निर्वाचनमा लक्ष्मी महतो विजयी भएका थिए । त्यसअघि यही क्षेत्रबाट मत लिएर गिरिराजमणि पोखरेल पटक–पटक मन्त्री बने-शिक्षा र स्वास्थ्यमन्त्रीको सुविधा लिए । ०७४ यता प्रदेश तहमा शारदादेवी थापा निरन्तर निर्वाचित भइ राज्यमन्त्री समेत बनिन् । स्थानीय तहमा २०७४ मा मा माओवादीका बिदुर कार्की र कांग्रेस (बागी) प्रह्लादकुमार क्षेत्री विजयी भए ।
तर, बिजलपुराका करिब ६ हजार मतदाताको प्रश्न एउटै छ, ‘देशकै शिक्षा मन्त्री बनाउने निर्वाचन क्षेत्रका स्कुल पनि सुधार गर्ने नीति, विधि किन बनाएनन्, बनाएको नीति पनि किन लागु नगराएको ? अब फेरि बर्दिबासलाई शिक्षाको हब बनाउन मत दिनु पर्ने ती नेताहरुलाई ।’ मतदाताहरुले गम्भीर छलफलमा जुटेको स्थानीय रामपूजन महतो सुनाउँछन् ।
चिया पसलमा भेटिएका ६४ वर्षीय मतदाता बलबहादुर श्रेष्ठ भन्छन्, ‘स्कुल देख्दा–देख्दै राजनीतिले खाएर ध्वस्त भयो । हाम्रा बाबुनानीलाई पढाउने स्कुल सुधार गर्छ भनेर भोट दिन्छौं, तर जितेपछि कसैले फर्केर हेर्दैन ।’ उनका अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक छनोट, सेवा सुविधा—सबैमा पार्टीगत भागबण्डा भयो । ‘नेताहरू जितेपछि खाओवादी कार्यकर्तालाई जिम्मा दिन्छन्, अनि स्कुल कमाउने थलो बन्छ,’ उनी स्कुलको व्यथा सुनाउँछन् ।
विद्यालय अनुशासनहीनता र मनोमानीको शिकार भएको बताउँछन् मतदाता राजकुमार महतो । ‘जो जित्यो उसैले आफन्त र कार्यकर्ता भर्ती केन्द्र बनायो । यस्तो अवस्थामा स्कुलले कसरी गुणस्तरीय शिक्षा दिन्छ ?’ उनी भन्छन्, ‘माध्यमिक तहमा स्थानीय सरकार चार वटा दरबन्दीको शिक्षक अरु स्थानमा पठायो । त्यो ठाउँमा रित्त राख्यो अनि आसेपासेलाई शिक्षकको रुपमा भर्ना गर्यो । अनि स्कुलमा अभिभावक र बच्चाको पढाईप्रति विश्वास नै खस्कियो । राम्रा शिक्षक भए पो स्कुलमा पढाई राम्रो हुने हो ।’
विद्यालयसँग करिब २० बिघा जग्गा रहेको स्थानीय बताउँछन् । तर, हिसाब–किताब पारदर्शी छैन । सूचना माग्दा दुव्र्यवहार सहनु परेको आरोप छ । त्यसमा नेताहरु नै हाबी हुने गरेको मतदाता महेन्द्र महतो सुनाउँछन् । अर्का मतदाता रामचन्द्र महतो भन्छन्, ‘पैसा हुनेले बच्चा बोर्डिङमा पढाउँछन् । नेताहरू आफ्ना बच्चाको नाम राजनीति गर्न, समितिमा बस्नका लागि सरकारी स्कूुमा मात्रै राख्छन्, बच्चा निजीमा पठाउँछन् । सरकारी स्कुल राजनीति गर्ने अखडा भयो ।’
अभिभावकको विश्वास गुम्दा निजी विद्यालय भरिभराउ छन् । गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएको छ । यसले गरिव तथा विपन्न बच्चाहरु गुणस्तरीय शिक्षाबाट वञ्चित भएका छन् । वि.सं. २०१६ मा स्थापना भएको यो विद्यालय बर्दिबास नगरपालिकाको पहिलो हाइस्कुल हो । कुनै समय बाँस र खरको छानोमुनि पढाइ हुन्थ्यो । भुइँमा बसेर पढेका हजारौं विद्यार्थी देश–विदेशमा सेवा गरिरहेका छन्।
२०६० सालमा एसएलसीमा महोत्तरी जिल्लाभर प्रथम भई एक लाख पुरस्कार जितेको विद्यालय २०८१ सालको एसईईमा ६६ जना सहभागीमध्ये २२ जना मात्र पास ३३.३ प्रतिशत नतिजा हात लाग्यो । करिब ६७ प्रतिशत नतिजा राजनीतिको दुष्चक्रमा नै परेको स्थानीयहरु विश्लेषण हो । २२ वर्षअघिको गौरव र आजको परिणामबीच आकाश–जमिनको फरक छ ।
यतिखेर चुनावमा उम्मेदवारहरुले फेरि पुरानै कुरा दोहोराइरहेका छन् मतदाताहरुसँग, सामुदायिक शिक्षा सुधार्न आफ्नो पार्टीको सत्ता चाहियो । तर मतदाताले यसअघि भोट दिए सत्तामा पुर्याउँदा पनि विद्यालय जस्ता महत्वपूर्ण संस्था सुधार नेताहरुले काम नगरेकोमा आक्रोशित बनिरहेका छन् ।
विद्यालयले विद्यार्थीलाई तीन कुरा दिनुपर्छ-ज्ञान, सीप र आचरण । तर, कक्षामा विद्यार्थी छैनन् । व्यवस्थापनमा पारदर्शिता छैन । समुदायमा विश्वास छैन । स्कुलमा पार्टी राजनीति धमिरासरी सरेर सखाप बनाएको मतदाता श्याम पासवानले बताए । उनले भने, ‘अब कुन नेता आउँछ ? कुन पार्टी आउँछ ? जसले हाम्रो स्कुल बनाउँछ, उसैलाई खोजेर भोट हालेर जिताउँछौं ।’
चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू विकासका भाषण गरिरहेका छन् । तर, यही विद्यालयको अवस्था उनीहरूकै राजनीतिक संस्कारको ऐना बनेको छ । मतदाताहरू अब छलफल जुटिरहेका छन् । भन्दै छन्, ‘अब पार्टी होइन, स्कुल बनाउने उम्मेदवार रोज्ने ।’
स्थानीयस्तरमा ‘बिजलपुरा रुपान्तरण अभियान’ सञ्चालन गरिरहेका युवाहरुले उम्मेदवारहरुसँग राजनीतिक हस्तक्षेपबाट विद्यालय मुक्त बनाएर सुधार गर्नुपर्ने माग राखिरहेका छन् । अभियानी ज्ञानेन्द्र महतो सुनाउँछन्, ‘जनता माध्यमिक विद्यालय डाँडाटोलको पीडा एउटा विद्यालयको मात्रै होइन् देशैभरीको हो । यो मतको दुरुपयोग, राजनीतिक भागबण्डा र कमजोर शैक्षिक नेतृत्वको परिणामले गर्दा भयो । अब हामीले उम्मेदवार छान्ने बेलामै ध्यान दिनु पर्छ ।’
प्रतिक्रिया दिनुहोस !