गुल्मीका मतदानस्थलमा प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी रहने
गुल्मी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गुल्मीमा प्राथमिक उपचार डेक्स स्थापना हुने भएको छ। जिल्लामा रहेका सम्पूर्ण मतदान स्थलमा पहिलो पटक प्राथमिक उपचार डेस्क स्थापना गरिने भएको हो। केन्द्रीय निर्देशन वा नीति अन्तर्गत नभए पनि जिल्लाले आफ्नै पहलमा स्वास्थ्यकर्मी खटाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
मंगलबार निर्वाचन सम्बन्धी गतिविधि पत्रकारलाई जानकारी दिँदै उनले हालसम्मको निर्वाचन तयारी र आगामी कार्ययोजनाबारे जानकारी दिँदै सबै मतदान स्थलमा स्वास्थ्यकर्मी खटाइने बताए। अन्य जिल्लामा यस्तै प्रयास भएको हुनसक्ने भए पनि गुल्मीमा भने पहिलो पटक यस्तो व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए।
जिल्लाका १४५ मतदानस्थलमा एक–एक जना स्वास्थ्यकर्मी खटिने छन्। स्वास्थ्यकर्मीका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ। जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर १ मा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ। क्षेत्र नम्बर २ मा ६२ मतदान स्थल र १२९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको विवरण अनुसार क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना मतदाता छन्। जसमा ६२ हजार २७२ महिला र ५९ हजार ९१४ पुरुष रहेका छन्। क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ मतदाता रहेका छन्। जसमा ५२ हजार ९३८ महिला, ५४ हजार ४२३ पुरुष र दुई जना अन्य मतदाता रहेका छन्।
जिल्लामा हाल निर्वाचन सुरक्षा व्यवस्थापन, निर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, आवश्यक स्रोत साधनको व्यवस्थापन, निर्वाचन आचारसंहिता कार्यान्वयन लगायतका कार्य भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !