भक्तपुर-२ का नेकपा उम्मेदवार सापकोटाले सार्वजनिक गरे प्रतिबद्धता पत्र, 'ऐला'लाई ब्रान्डिङ गर्ने
भक्तपुर : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को भक्तपुर-२ का उम्मेदवार रामप्रसाद सापकोटाले स्थानीय मदिरा 'ऐला'लाई ब्राण्डिङ गर्ने नीति सार्वजनिक गरेका छन्। चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले विदेशी मदिरा प्रतिस्थापन गर्ने उल्लेख गरेका छन्।
सोमबार मध्यपुर थिमिको दुईपोखरीमा उनले परम्परागत घरेलु मदिरालाई उद्योगको रूपमा विकास गर्ने र ऐलालाई ब्राण्डिङ गरी अन्तराष्ट्रियकरण गरिने बताए। सापकोटाले ऐतिहासिक नगर मध्यपुर थिमि र सूर्यविनायकमा विदेशी पर्यटक ल्याउन नसक्नु कमजोरी भएको भन्दै आफूले पर्यटनमैत्री नीति बनाउन पहल गर्ने बताए। स्वदेशी तथा विदेशी पर्यटक भित्र्यउन पहल गर्ने र त्यसलाई स्थानीय उत्पादन र होमस्टेसँग जोडी स्थानीयको रोजगारी र आयस्रोत बढाउने उनको भनाइ छ।
उनले किसानको समस्या सम्बोधन गर्नेगरी कृषि नीति बनाउने र किसानलाई खुसी र सम्मानित स्थान दिइने दाबी गरे। थिमि, बोडे, नगदेश, सागबारी, गुन्डु र चखु क्षेत्रलाई तरकारीको आपूर्ति केन्द्रको रूपमा पुनर्जीवन दिइने उनको दाबी छ। 'किसानलाई तालिम र कृषि सामग्रीको उपलब्धता एवं कृषि उत्पादनलाई बजारसँग जोड्न बिक्री केन्द्रहरू र शीत भण्डारको स्थापना गरिनेछ,' उनले भने।
उनले युवा र विद्यार्थीलाई सूचना प्रविधिको ज्ञान दिइने र खाली रहेका सरकारी भवन र मर्जर गरिएका विद्यालयमा आइटी स्टेसन र स्टार्टअप केन्द्र निर्माण गरिने प्रतिबद्धता प्रकट गरे। सार्वजनिक स्थानहरूमा निशुल्क वाइफाइ जडान गर्ने र प्रविधि प्रयोगशाला निर्माण गरी युवालाई रोजगार र स्वरोजगारका लागि योग्य बनाइने उनले बताए।
उम्मेदवार सापकोटाले प्राविधिक शिक्षालाई महत्वका साथ अघि बढाइने र गरिखाने सक्षम जनशक्ति उत्पादन गरिने जिकिर ग । जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, नसर्ने रोगको स्क्रिनिङ र स्वास्थ्य बीमाको प्रभावकारिता बढाउने प्रतिबद्धता सार्वजनिक गरे उनको छ। त्यस्तै नगरपालिका अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गरिने उनले बताए। उनले भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको पहल गर्ने पनि प्रतिबद्धता प्रकट गरे। त्यस्दै सुविधा सम्पन्न खेल मैदान निर्माण र खेलाडीलाई प्रोत्साहनको नीति लिइने उनको भनाइ छ।
उनले पानीजहाजको सपना आफूले नबाँड्ने तर, स्वच्छ खानेपानीको आपूर्ति सरल र सहज बनाउने बताए। 'हामी अहिले नै बुलेट ट्रेनको आश्वासन दिदैनौं,' उनले भने, 'स्कुल, कलेज, कार्यालय र गन्तब्यमा भनेकै समयमा आवतजावत गर्न सक्षम सार्वजनिक यातायातको सुनिश्चितता गर्छौं।' उम्मेदवार सापकोटाले सार्वजनिक सडक र सार्वजनिक स्थलको सरसफाइ र हरियाली प्रवर्द्धनका लागि नीति अघि सार्दै स्वच्छ वातावरणका निर्माणलाई प्राथमिकता दिने बताए।
प्रतिक्रिया दिनुहोस !