पुलिसको दोस्रो जित, नव जनजागृतिको लगातार सातौं हार
काठमाडौैं : एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत नेपाल पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० ले हराएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिसले लिगमा दोस्रो जित दर्ता गरेको हो ।
पहिलो हाफमा ५ गोल गरेको पुलिसले दोस्रो हाफमा २ गोल थप्यो । पुलिसका धिरेन्द्रबहादुर शाह र सञ्जीव लामाले २–२ गोल गरे । दशरथ गिरी, भरत शाह र विजय उरानले १–१ गोल गरे । खेलको ३६ औं मिनेटमा धिरेन्द्रबहादुर शाहले पहिलो गोल गर्दै पुलिसको खाता खोलेका थिए । ४२ औं मिनेटमा दशरथ गिरीले टिमको लागि दोस्रो गोल गरे । पुलिसको लागि तेस्रो गोल ४५ औं मिनेटमा भरत शाहले गोल गरे ।
पहिलो हाफको थप गरिएको तीन मिनेटमा सञ्जीव लामाले दुई गोल गरे । दोस्रो हाफमा ४८ औं मिनेटमा धिरेन्द्रले व्यक्तिगत दोस्रो र टिमका लागि छैटौं गोल गरे । टिमको लागि सातौं गोल विजय उरानले गरे । उनले ६१ औं मिनेटमा टिमको लागि सातौं गोल गरे । पुलिस ७ खेलबाट ७ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ । नव जनजागृतिको भने यो सातौं हार हो । हालसम्म यो क्लबले अंक तालिकामा खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !