प्लानिङ ब्वाइज र एनआरटीले अंक बाँडे
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेड र न्यूरोड क्लब (एनआरटी) ले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको दोस्रो खेलमा प्लानिङ ब्वाइज र एनआरटीले १–१ बराबरी खेलेका हुन् ।
पहिलो हाफमा नै दुई टिमले १–१ गोल गरेका थिए । दोस्रो हाफमा कुनै पनि गोल भएन । खेलको ४१ औं मिनेटमा प्लानिङ ब्वाइजको लागि प्रतापसिंह राईले गोल गर्दै अग्रता बनाएका थिए । त्यसको केही मिनेटमा नै एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा नै बराबरी गोल फर्काए ।
दोस्रो हाफमा भने कुनै पनि गोल भएन । खेलको ८६ औं मिनेट एनआरटीका ओमोलाजा करिमले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाए । त्यसपछि १० खेलाडीमा सीमित भएको एनआरटीविरुद्ध प्लानिङ ब्वाइजले गोल गर्न सकेन ।
बराबरीपछि ८ खेलबाट १७ अंक जोडेर प्लानिङ ब्वाइज दोस्रो स्थानमा उक्लेको छ । एपीएफ १९ अंकसहित शीर्ष स्थानमा छ । एनआरटी ८ खेलबाट १५ अंकसहित पाँचौ स्थानमै यथावत छ । आजको तेस्रो खेल त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबिच हुनेछ ।
प्रतिक्रिया दिनुहोस !