निर्वाचनअघि मोरङमा उच्च सुरक्षा सतर्कता, दुर्गा प्रसाईंको अभियानमा आबद्ध तीनजना पक्राउ

निर्वाचनअघि मोरङमा उच्च सुरक्षा सतर्कता, दुर्गा प्रसाईंको अभियानमा आबद्ध तीनजना पक्राउ

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचनअघि जिल्लाभर सुरक्षा सतर्कता अपनाइएको हो। 

आगामी निर्वाचन बिथोल्ने खालका गतिविधि हुनसक्ने आशंकाका आधारमा प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग आबद्ध तीनजना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार बूढीगंगा गाउँपालिका–७ का ४७ वर्षीय डोलेश्वर रेग्मी, पथरीशनिश्चरे नगरपालिका–३ का ६३ वर्षीय सूर्य चौधरी र ५८ वर्षीय चूडामणि राई बिहीबार पक्राउ गरिएको हो। 

रेग्मी प्रसाईंको अभियानका मोरङ जिल्ला संयोजक हुन् भने चौधरी र राई अभियानका सक्रिय कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेर मतदान प्रक्रियामा अवरोध पुर्‍याउने सम्भावना देखिएकाले उनीहरूलाई पक्राउ गरिएको चौधरीले बताए। उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। सम्भवतः उनीहरू चुनाव अवधिभर प्रहरी हिरासतमै रहने छन्। 

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको भन्दै निर्वाचन आयोगको पत्राचारपछि प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। तर, सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बिना कारण र पर्याप्त आधार बिना थुनामा राखिएको भन्दै रिहा गर्न आदेश दिएपछि उनी बुधबार छुटेका थिए। त्यसअघि पनि बारम्बार पक्राउ परिसकेका प्रसाईंविरुद्ध विभिन्न मुद्दामा अनुसन्धान गरिएको थियो। 

निर्वाचन बहिष्कार र अवरोध सिर्जना गर्ने खालका गतिविधिका बारेमा सूचना प्राप्त भएपछि निगरानी बढाइएको प्रहरीको भनाइ छ। निर्वाचन नजिकिँदै जाँदा मोरङमा संवेदनशीलताका आधारमा मतदान केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएका छन्। तीमध्ये ४७ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
 
निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई समन्वयात्मक रूपमा खटाइएको छ। मतदान केन्द्र वरपर अनावश्यक भीडभाड हुन नदिन विशेष निगरानी सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। सम्भावित जोखिम क्षेत्रको पहिचान गरी निर्वाचन लक्षित आवश्यक रणनीति तय गरिएको जानकारी उनले दिए। 

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयमुक्त वातावरणमा सम्पन्न गराउन कुनै पनि प्रकारका अवरोध मान्य नहुने र त्यस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिइने उनको भनाइ छ। निर्वाचन विरोधी गतिविधि भइरहेको वा हुनसक्ने सूचना पाएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सबैमा एसपी कटवालको आग्रह छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.