सुरक्षा अवस्था बुझ्न दोलखा पुगे गृहमन्त्री
दोलखा : दोलखाको बैतेश्वर गाउँपालिका गैरीमुदीमा गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सरकारी टोलीले स्थलगत अनुगमन गरेको छ।
शुक्रबार हेलिकोप्टरमार्फत गृहमन्त्रीलगायत कार्यवाहक निर्वाचन आयुक्त तथा सुरक्षा निकायका उच्च अधिकारीहरू बैतेश्वरको गैरीमुदी पुगेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।
बैतेश्वर गाउँपालिकामा ८ वटा मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेका छन्। विगतका निर्वाचनमा बैतेश्वर गाउँपालिकामा पटक-पटक अशान्ति देखिँदै आएको पृष्ठभूमिमा यसपटकको अनुगमनलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको प्रमुख जिल्ला अधिकारीले बताए।
अनुगमनका क्रममा गृहमन्त्रीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउन निर्देशन दिएका थिए। विगतमा भएका गल्ती र कमजोरी सच्याउँदै मतदाताले शान्तिपूर्ण वातावरणमा निर्भीक भएर मतदान गर्न पाउने अवस्था सुनिश्चित गर्न जोड दिनुपर्ने गृहमन्त्रीको भनाइ थियो। जिल्लाका सबै मतदानस्थलको सुरक्षा व्यवस्था मिलाउन, मतदानस्थलको व्यवस्थापन चुस्त बनाउन र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सबै तयारी अघि बढाउनसमेत निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस !