चुपचाप मतदाता, अन्योलमा उम्मेदवार
जनकपुरधाम : ७६ वर्षीय सोगारथ मण्डल भैंसीहरू खेतमा चराउँदै भेटिए। ‘यसपाली कस्तो लागेको छ चुनाव ? भोट कसलाई दिने ?’ प्रश्न अन्नपूर्णकर्मीबाट सुनेपछि एकछिन् उनी चुपचाप भए। केही सोचविचार गरेर बल्ल उत्तर दिए, ‘जसले राम्रो र हाम्रो काम गर्छ, उसैलाई भोट दिन्छु।’
धनुषा जिल्ला–४ कचुरी गाउँमा भेटिएका सोगारथ उमेरले वृद्ध छन्। उनले यसभन्दा पहिला पनि थुप्रै पटक मतदान गरिसकेका छन् तर पहिला जस्तो यसपाली मतदान नरहेको कुरामा उनी स्पष्ट छन्। ‘हाम्रो पालामा भोट दिँदा खाने/खुवाउने कुरा बढी हुन्थ्यो। तर, यसपाली त खाने सबैको र भोट दिने आफ्नो मन पराएकालाई भन्ने खालको माहोल छ,’ सोगारथले हाँस्दै भने, ‘म जस्ता बुढाहरूले होइन् अब घरका छोराछोरीले जहाँ भन्छन् त्यहीँ मत हाल्ने हो। उनीहरूले बढी बुझेका छन्, हामीभन्दा बढी पढेलेखेका छन्। उनीहरूको कुरा मानेर नै भोट हाल्छु।’
विशेष परिस्थितिका कारण हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा यसपटक मधेसका मतदाताहरू आफ्नो मतका विषयमा निकै संवेदनशील र मौन रहेको स्थलगत अनुगमनका क्रममा देखिएको छ। विगतका निर्वाचनहरूमा मतदान नजिकिन थालेपछि उम्मेदवारहरूको पक्षमा खुलेर बोल्ने, निर्वाचन लक्षित सभा तथा कार्यक्रमहरूमा जथाभावी भिड लाग्ने, उम्मेदवारहरूले बाँड्ने गरेका कोसेली र अन्य उपहारहरू सहजै स्वीकार गर्ने मधेसका मतदाताहरू यसपटक भने फरक मुडमा छन्। ‘सधैं त हामीले दियौं नै कहिले श्रम, कहिले कर त कहिल्यै मत तर बदलामा के पायौं,’ धनुषाको मिथिला बिहारीकी सुनयना यादव भन्छिन्, ‘चुनावको बेलामा सबै नेताहरू घरघरमा हात जोडेर आइपुग्छन्। हामीलाई आमा, दिदी बहिनी, काकी सबै भन्छन्। मत माग्छन् र जान्छन्। यदि जितिहाले पनि फर्केर आउँदैनन् र हारे पनि मुख देखाउँदैनन्। हाम्रो मतले जितेकाहरू कम्तीमा हामीलाई दुःखसुख पर्दा त साथ दिन आउनुप¥यो, त्यो पनि नभएपछि यसपाली मत चुपचाप दिने हो। जो आए पनि सबैको कुरा सुन्ने तर मत आफूलाई मन परेकालाई दिने।’
३६ लाख ३६ हजार ४ सय १४ मतदाता रहेको यस प्रदेशले प्रत्यक्षतर्फ ३२ र समानुपातिक गरी करिब ५५ सांसद संघीय सदनमा पठाउँछ। देशका कुल मतदाताको करिब २० प्रतिशत हिस्सा ओगटेको मधेसले प्रतिनिधिसभाको कुल प्रत्यक्ष सिटको झन्डै १९ प्रतिशत हात पार्ने गर्दछ। मधेसको मतले सत्ता समीकरण फेरबदल गर्ने गराउने सामथ्र्य राख्ने हुनाले चुनावको बेला यो केन्द्र बन्ने पुरानो चलन छ।
चुनावी रणनीति, नेतृत्वको उपस्थिति, घोषणापत्रको एजेन्डा र नाराहरू मधेसकेन्द्रित भए पनि सत्तामा पुगेपछिको परिदृश्य हालसम्म फरक हुँदै आएको छ। जसले गर्दा मधेसी जनताहरू सधैं उपेक्षा र मारमा पर्ने गरेको जनगुनासो व्यापक छ। ‘मतदान भनेको देश निर्माणको विषय हो। यसपटकको निर्वाचन त अझै संवेदनशील छ। यसपटक कुनै बाटो वा ढल निर्माणका लागि नभई देशको भविष्य सुनिश्चित गर्नका लागि मतदान गर्नुछ यदि गलत व्यक्ति फेरि सत्तामा पुग्यो भने हामी जनताहरूले ठूलो क्षति बेहोर्नुपर्छ त्यसैले सोचेर, बुझेर र जानेर मात्रै मतदान गर्नेछौं,’ जनकपुरधाम उपमहानगरपालिका–४ का जयराम ठाकुर भन्छन्, ‘झुठफुसिया नेताहरूको कुरामा अल्मलिने र थोरबहुत पैसाहरूको लोभमा बिक्ने समय गयो। अब जनता जागरुक भएका छन् र आफ्नो मतको सही सदुपयोग गर्नेछन्।’
सचेत छन् महिला मतदाताहरू
हातहातमा मोबाइल र मोबाइलहरूमा इन्टरनेटको सहज पहुँचले गर्दा सामाजिक सञ्जालमा प्रायः गाउँघरका महिलाहरूको उपस्थिति छ। मधेसका महिला मतदाताहरूलाई यसपटकको चुनावमा मतदान प्रयोगका विषयमा सचेत बनाउने ठूलो माध्यम सामाजिक सञ्जाल पनि बनेको छ। आफ्नो मतको प्रयोग कसरी गर्ने, अर्काको दबाबभन्दा पनि आफ्नो विवेक प्रयोग गरेर सही मतदाता कसरी छान्ने र कुन मतदाताहरू कस्ता छन् भन्ने विषयहरूमा सामाजिक सञ्जालमार्फत जानकारी पाउने गरेका महिला मतदाताहरू यसपटक जिम्मेवार भई मत दिने बताउँछन्।
‘यसपटक पुरानो नेताहरूलाई भोट दिँदैनौं काम गर्ने युवाहरूलाई भोट दिन्छौं,’ महोत्तरीको निर्वाचन–३ मनरासिसवा नगरपालिका–१० मधवा गाउँकी मुसहर समुदायकी सरिता सदा भन्छिन्, ‘पहिला पहिला त गाउँमा हाम्रो टोलको मतको जिम्मा कुनै एकजना ठूलाबडाले लिइहाल्थे। उनीहरूले चुनावभन्दा केही दिन पहिलादेखिनै घरघरमा पाँच सय रुपैयाँ र एउटा बोतल दारु हाम्रा घरका पुरुषहरूलाई दिने गर्थे र त्यक्ति भएपछि पूरा टोलको भोट कहाँ हाल्ने भन्ने निधो हुन्थ्यो। तर, अब त्यस्तो छैन। अब हामी महिलाहरू आफैं सजग भएका छौं। हाम्रा बालबच्चाहरू पढ्न थालेका छन्। कमाउनका लागि विदेश गएका छन्। पहिलाको जस्तो छैन कि हामी दारु र पैसामा भोट बेच्ने।’
प्रतिक्रिया दिनुहोस !