एउटा चर्चित सडक : जति आकर्षक छ, उति नै छ खतरनाक पनि
भियतनाम : हनोइ ट्रेन स्ट्रिट भियतनामको राजधानी हनोइमा रहेको सबैभन्दा चर्चित सडकहरूमध्ये एक हो–तर यो जति आकर्षक देखिन्छ, त्यति नै खतरनाक पनि हुन सक्छ ।
एक साँघुरो गल्ली, दुवै छेउमा क्याफेहरू र बीचबाट गुड्ने रेलमार्ग । रेल आइपुग्नै लाग्दा पर्यटकहरू सामाजिक सञ्जालका लागि तस्वीर खिच्न रेलको ट्रयाकमै उभिन्छन् । रेलको सिटी बज्दै, केही इञ्चको दूरीमा तीव्र गतिमा गुड्दा, मानिसहरू अन्तिम क्षणमा पछाडि हट्छन्। क्लिक, पोस्ट ।
साधारण गल्लीबाट ‘मस्ट–सी’ आकर्षणसम्म
सबै कुरा २०१७ तिर सामाजिक सञ्जालमा भाइरल भएपछि बदलियो । एक स्थानीय बासिन्दाले ट्रयाक छेउमा कफी र बियर बेच्न थाले । छिमेकीहरूले पनि क्याफे खोले । गल्ली रंगीन लालटिन र बत्तीहरूले सजियो । पर्यटकहरू रेल आउने समय मिलाएर ३० मिनेटअघि पुग्थे, पेय पदार्थ अर्डर गर्थे र रेल चिच्याउँदै नजिकबाट गुड्दा रोमाञ्च अनुभव गर्थे । आज इन्स्टाग्राममा मात्र एक लाख भन्दा बढी पोस्टहरू ट्रेन स्ट्रिक ट्याग गरिएका छन् ।
सरकारको चिन्ता र प्रतिबन्ध
यसको लोकप्रियतासँगै जोखिम पनि बढ्यो । २०१९ र २०२२ मा भियतनामी सरकारले बन्द गर्ने प्रयास गर्यो । २०२५ मा एक पर्यटक सेल्फी खिच्ने क्रममा लगभग रेलमुनि पर्नै लागेपछि पुनः कडा कारबाही सुरु भयो । रेल आउँदा प्रहरीले बाटो छेक्छ, बारहरूलाई चेतावनी दिइन्छ–तर पर्यटकहरू फेरि पनि पुग्छन् ।
किन यति आकर्षण ?
विशेषज्ञहरूका अनुसार, यो …Fear of Missing OutÚ (FOMO) अर्थात् अरूले गरेको अनुभव छुट्ने डर हो । सामाजिक प्राणीका रूपमा, हामी अरूले रमाइलो गरिरहेको देख्दा आफू पनि त्यही गर्न चाहन्छौं । जोखिमको तत्व पनि आकर्षणको भाग हो । युरोप वा बेलायत जस्ता देशमा कडा सुरक्षा नियमहरूमा अभ्यस्त मानिसहरूका लागि, यस्तो खुला र अनियन्त्रित वातावरण अविश्वसनीय लाग्छ र त्यही नै यसको रोमाञ्च हो ।
वास्तविकता र फोटो
कतिपय आगन्तुकहरू भन्छन्–यो फोटोमा देखिए जति रमाइलो वास्तविकतामा हुँदैन । भीड, महँगो कफी र धक्का–मुक्का अनुभवलाई कम रमाइलो बनाउँछ । तर अरूहरू भन्छन्–यही अराजकतालाई व्यवसायमा रूपान्तरण गरेको स्थानीयहरूको सिर्जनशीलता नै यसको सौन्दर्य हो । सानो गल्लीमा एउटा पूरा अर्थतन्त्र फस्टाउनु आफैंमा चमत्कार हो ।
स्थानीय गाइडहरू भन्छन्–आर्थिक फाइदा त छ, तर सांस्कृतिक पहिचान हराउने खतरा पनि छ । धेरै पर्यटकहरू केवल फोटो लिएर फर्किन्छन्, रेलमार्गको ऐतिहासिक महत्व र यहाँको जीवनशैलीबारे नबुझीकन । हनोइ ट्रेन स्ट्रिट रोमाञ्चक, अनौठो र इन्स्टाग्राममैत्री हुन सक्छ । तर यो कसैको दैनिक जीवन पनि हो–जहाँ रेल हरेक दिन घरको ढोकै अगाडि गुड्छ ।
प्रतिक्रिया दिनुहोस !