एप्स्टिन प्रकरणमा अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनको सफाइ : मैले केही गलत गरेको छैन
अमेरिका : अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले एक संसदीय समितिलाई आफूले जेफ्री एप्स्टिनको गतिविधिबारे 'केही नदेखेको र आफूले केही गलत ' नगरेको बताएका छन्।
बीबीसीका अनुसार शुक्रबार न्युयोर्कमा भएको दिनभरको गोप्य सुनुवाइका क्रममा पूर्व राष्ट्रपतिलाई एप्स्टिनसँग सम्बन्धित भर्खरै सार्वजनिक गरिएका फाइलहरूबारे प्रश्न सोधिएको थियो। ती फाइलहरूमा एक अपरिचित व्यक्तिसँग 'हट टब' मा बसेको क्लिन्टनको एउटा फोटो पनि समावेश छ।यसैका कारण उनी यस प्रकरणमा मुछिएका हुन् जस कारण उनको शुक्रबार दिनभर बयान लिईएको थियो।
क्लिन्टनको यो बयान उनकी पत्नी तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले सोही समितिलाई एप्स्टिनको अपराधबारे आफूलाई 'कुनै सुइँको नभएको' बताएको भोलिपल्ट आएको हो। एप्स्टिनसँग सम्बन्धित फाइलहरूमा नाम हुनुले नै कुनै गलत काम गरेको प्रमाण भने हुँदैन। अहिलेसम्म अगाडि आएका एप्स्टिनका पीडितहरूमध्ये कसैले पनि क्लिन्टन दम्पतीमाथि दुर्व्यवहारको आरोप लगाएका छैनन्।
क्लिन्टनको बचाउ र बयान
क्लिन्टनले भनेका छन् कि-यदि उनलाई एप्स्टिनको कर्तुतबारे 'अलिकति पनि थाहा भएको भए' उनीसँगको सम्बन्ध तोडिदिने थिए र उनको विमानमा कहिल्यै यात्रा गर्ने थिएनन्। 'मैले आफै उनलाई प्रहरीको जिम्मा लगाउने थिएँ,' सार्वजनिक गरिएको आफ्नो प्रारम्भिक बयानमा उनले भनेका छन्।
सुनुवाइपछि उनले एक भिडियो सन्देश जारी गर्दै भने, 'मबारे जतिसुकै फोटोहरू देखाइयोस्, मलाई एप्स्टिनको अपराधबारे केही थाहा थिएन।' उनले थपे, 'मेरो बयानको भिडियो सार्वजनिक भएपछि अरू मानिसहरू पनि कांग्रेस (संसद्) मा आएर आफूलाई थाहा भएको कुरा भन्न प्रेरित हुनेछन् भन्ने आशा छ। न्याय विभागले पनि सबै फाइलहरू सार्वजनिक गरोस् ताकि यस्तो घटना फेरि नदोहोरियोस्। पीडितहरू न्यायका हकदार छन्।'
'हट टब' फोटोको स्पष्टीकरण
एक अज्ञात महिला (जसको पहिचान लुकाउन अनुहार कालो बनाइएको छ) सँग हट टबमा बसिरहेको तस्बिरबारे सोधिएको प्रश्नमा क्लिन्टनले आफूले ती महिलालाई नचिनेको बताए। स्रोतका अनुसार, ती महिलासँग यौन सम्बन्ध थियो कि भन्ने प्रश्नमा क्लिन्टनले 'थिएन' भन्ने जवाफ दिएका छन्।
ऐतिहासिक सुनुवाइ
हाउस ओभरसाइट कमिटीका रिपब्लिकन अध्यक्ष जेम्स कोमरले यस अन्तर्वार्तालाई 'निकै फलदायी' बताएका छन्। उनले भने, 'राष्ट्रपति क्लिन्टनले हरेक प्रश्नको जवाफ दिए।' यो सुनुवाइलाई 'ऐतिहासिक' मानिएको छ किनभने संसदीय समितिले बयान लिएका अधिकारीहरूमध्ये क्लिन्टन दम्पती सबैभन्दा उच्च पदस्थ हुन्। अमेरिकी इतिहासमा बहालवाला वा पूर्व गरी सात जना राष्ट्रपतिहरूले मात्र संसदीय समितिमा बयान दिएका छन्, जसमा क्लिन्टन सातौँ बनेका छन्।
डोनाल्ड ट्रम्पको प्रसङ्ग
सुनुवाइका क्रममा डोनाल्ड ट्रम्प र एप्स्टिनको सम्बन्धबारे पनि छलफल भयो। डेमोक्र्याट सदस्यहरूले क्लिन्टनको बयानपछि ट्रम्पका बारेमा 'थप जानकारी'आएको भन्दै ट्रम्पलाई पनि सोधपुछका लागि बोलाउन माग गरेका छन्। यद्यपि, जेम्स कोमरले भने क्लिन्टनले ट्रम्पको अपराधमा संलग्नताबारे आफूलाई केही थाहा नभएको बताएको जानकारी दिए। ट्रम्पले भने क्लिन्टनको बयानबारे टिप्पणी गर्दै आफूलाई क्लिन्टनको बयान लिएको मन नपरेको बताएका छन्।
पृष्ठभूमि
बिल क्लिन्टनले सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि आफ्नो परोपकारी संस्थाको कामको सिलसिलामा एप्स्टिनसँग सम्पर्क भएको बताउँदै आएका छन्। एप्स्टिनको सन् २०१९ मा न्युयोर्कको जेलमा मानव तस्करीको मुद्दा चलिरहेकै बेला मृत्यु भएको थियो। एप्स्टिनका फाइलहरूमा क्लिन्टन दम्पतीको नाम सयौँ पटक उल्लेख भए पनि त्यसले कुनै कानुनी अपराध नै गरेको भने पुष्टि गरेको छैन्।
प्रतिक्रिया दिनुहोस !