आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडाैं : हाल नेपालको वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा बादल लाग्ने, वर्षा हुने र हिमपात हुने क्रम जारी रहनेछ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ।
तराईका केही स्थानमा बिहानको समयमा हुस्सु र तुवाँलो लागेको छ। दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा आंशिकदेखि साधारणतया बादल लाग्नेछ। यी प्रदेशका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बादल लाग्ने देखिएको छ।
महाशाखाले आगामी केही घण्टाका लागि विशेष अपिल जारी गर्दै हुस्सु, तुवाँलो, हिमपात र वर्षा हुने क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ। पहाडी र हिमाली भेगमा यात्रा गर्दा त सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस !