उदाउँदो सहर बुटवलका प्रतिनिधि दोहोरिएलान् कि फेरिएलान् ?

उदाउँदो सहर बुटवलका प्रतिनिधि दोहोरिएलान् कि फेरिएलान् ?
पछिल्लो समय पूर्वाधार विकासले फड्को मारेको बुटवल सहरसहित रूपन्देही क्षेत्र।

बुटवल :  बहुसंख्यक मतदाता पहाडबाट बसाइँ सरेर आएपछि विकसित भएको बुटवल सहर यतिबेला नयाँ नेतृत्वको पर्खाइमा छ। देशका प्रमुख सहरमध्येको एक बुटवल सहर औद्योगिक एवं शैक्षिक क्षेत्रको हबका रूपमा विकसित हुँदै गएको छ। यही सहरबाट निर्वाचित नेतृत्वले पटक–पटक सत्ताको स्वाद चाखे। आधारभूत विकास निर्माणका काम भएकै छन्। ठूला भौतिक पूर्वाधार निर्माणका कामले पनि गति लिएका छन्। 

विडम्बना करोडौं खर्चेर बनेका पूर्वाधारहरू निरन्तर चल्ने टुंगो छैन। राज्यले अर्बौं लगानी गरेर बनाएका ठूला विकास निर्माणका आयोजनापछि मख्ख बनेका यहाँका उद्योगी व्यवसायीहरू अहिले त्यति उत्साहित छैनन्। देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको बुटवल र यस क्षेत्रका उद्योगी व्यवसायीहरू अबको नेतृत्वले आफ्ना पीडामा मल्हम लगाउनेमा आशावादी पनि छन्। उहीँ नेतृत्व दोहोरिएला वा नयाँ फेरिएला भन्ने तीव्र चासोका साथ बुटवललाई हेरिएको छ।

त्यो बटौली यो बुटवल

अहिले बुटवल सहर भएको ठाउँ बगर थियो। तिनाउ नदीपारी भने बटौली बजार थियो। भारतबाट बेथरी हुँदै बटौलीमा सामान आउँथ्यो। पहाडबाट घ्यूको भारी बोकेर मानिसहरू बटौली झर्थे। घ्यू बेचेको पैसाले नुन/लत्ताकपडा बोकेर पहाड उक्लिन्थे। त्यो बेला दिनमा मात्र होइन, रातमा समेत बटौली व्यस्त हुन्थ्यो, गुल्जार हुन्थ्यो। अहिलेजस्तो पहाडी जिल्लामा सडक थिएन। त्यसैले पहाडबाट घ्यू बोकेर मानिसहरू हिँडेरै बटौली आउँथे। घ्यूसँग नुन र लत्ताकपडा साट्न रातभर खस्यौली जागाराम हुन्थ्यो।

२०६२/६३ को जनआन्दोलनपछि बुटवल झर्ने लहड चल्यो। बुटवल हुँदै भैरहवासम्म बस्ती बस्यो। बुटवलमा गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्जा, बागलुङ, पर्वत, पोखरा, म्याग्दीलगायतका जिल्लाबाट बसाइँसराइ गरेर आएका छन्। बटौलीबाट सुरु भएको व्यापार बिस्तारै बढ्दै गयो। बजार पनि विस्तार हुन थाल्यो। व्यापारसँगै आवादी पनि बढ्दै गयो। त्यसपछि विस्तारै–विस्तारै बजारको स्वरूपमा बुटवल फैलिँदै गयो। 

  •     रूपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र धेरैजसोमा एमाले, रास्वपा र कांग्रेसबीच नै तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
  •     ठूला पूर्वाधारहरू निर्माण भए पनि निरन्तरता नहुँदा र दीर्घकालीन योजना नबनाउँदा उद्योगी तथा व्यवसायीहरू अपेक्षित उत्साहित छैनन्। राजधानी सरेपछि विकासमा ब्रेक लाग्नु यसकै उदाहरण हो।
  •     बुटवलमा बारम्बार सरकार परिवर्तन हुँदा नीति र योजना अस्थिर रहँदा व्यवसाय, औद्योगिक र सामाजिक विकासले गति लिन सकेको छैन। स्थानीय व्यवसायीहरू दीर्घकालीन कानुन र स्थिर नेतृत्वको माग गर्छन्।
  •     बुटवल व्यापारिक हब बन्न सक्ने स्थिति भए पनि सीमाना नाकासँग प्रतिस्पर्धा गर्न नसक्नु, स्थानीय उत्पादन कमजोर हुनु र अन्य उपसहरले आकर्षण घटाउनु जस्ता चुनौतीहरूले यसलाई प्रभावकारी बनाएको छैन।
  •     स्थानीयहरूले नयाँ नेतृत्वबाट औद्योगिक, शैक्षिक, स्वास्थ्य र पर्यटन क्षेत्रमा केन्द्रित विकास, रोजगारी सिर्जना, उत्पादन प्रवर्धन र दीर्घकालीन योजनाको कार्यान्वयन चाहन्छन्। केवल चुनावी नारा मात्रै नभई व्यावहारिक विकास आवश्यक देखिन्छ।

अहिले बुटवल निकै विस्तार भइसकेको छ। यो सहर शिक्षा, स्वास्थ्य, पर्यटनको केन्द्रका रूपमा उदाउनुपर्ने हो। के बुटवल पहिलेजस्तै आकर्षणको केन्द्र छ त ?    स्थानीय नमनारायण बेलबासे पछिल्लो समय त्यो आकर्षण नरहेको बताउँछन्। ‘बुटवल पहाडी जिल्लाको बेंसी हो। पहिले बुटवलप्रति धेरै आकर्षण थियो। अहिले त्यो आकर्षण कम भएको छ’, उनी भन्छन्, ‘पछिल्लो समय निश्चित समय र कामका लागि आउनेहरू मात्रै बढी छन्। त्यो काम पूरा भएपछि फर्किन्छन्।’

के छ जनताको अपेक्षा ?   
निर्वाचन नजिकिएसँगै विभिन्न समूह, क्षेत्र, धर्म र सम्प्रदाय र व्यक्तिको आआफ्नै आशा र अपेक्षा छन्। बुटवलका स्थानीयको पनि नयाँ नेतृत्वबाट भिन्नभिन्न आशा र अपेक्षा छन्।

२० वर्षदेखि निरन्तर बुटवलमा बस्दै आएका युवा प्रकाश खनाल अब आउने नेतृत्वले बुटवल र सिंगो रुपन्देही जिल्लामा उत्पादनमा जोड दिनुपर्ने बताउँछन्। उनी सीमा नाकाका कारण यहाँको बजारले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा धेरै व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताउँदै त्यसको समाधान गर्न सक्ने नेतृत्व बुटवललाई चाहिएको स्पष्ट पार्छन्। 

‘बुटवल आउनु भनेकै व्यापार व्यवसायका लागि हो भन्ने प्रचलन अहिले पनि छ। सीमानाकाका कारण बुटवलमा व्यापार व्यवसाय पछिल्लो समय कम हुन थालेको छ। भारतीय बजारसँग यहाँको बजारले प्रतिस्पर्धा गर्न सकेको छैन। कृषिजन्य क्षेत्रमा पनि यहाँको उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन’, उनी भन्छन्।

राजधानी सरेपछि विकासमा ब्रेक
२०७९ मा लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा स्थानान्तरण भएपछि बुटवल केही छायामा परेको र यहाँको विकास निर्माणको काम पनि ओझेलमा परेको स्थानीयको बुझाइ छ। बुटवल चाँदबारीका स्थानीय ६४ वर्षीय नमनारायण बेलबासे राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ क्षेत्रमा सरेपछि बुटवलमा विकास निर्माणको काममा ब्रेक लागेको बताउँछन्। 

‘बुटवलमा विकासका राम्रै कार्यक्रम सुरु भएको थियो। २०७९ मा राजधानी दाङ सरेपछि विकासका कार्यक्रममा ब्रेक लाग्न पुग्यो। विकासका मोडल पनि दीर्घकालीन रूपको हुन सकेन। अर्थात् अनावश्यक विकास धेरै भएका छन्। तर, दीर्घकालीन विकासका काम हुन सकेको छैन’, उनी भन्छन्, ‘बुटवल नवोधित सहरका रूपमा विकास हुनुपर्ने हो। तर, त्यो हुन सकेको छैन।’

अस्थिर राजनीतिको छाया
बुटवललाई उदाउँदो सहरका रुपमा हेरिन्छ। कतिपयले यसलाई विभिन्न क्षेत्रको ‘हब’का रूपमा पनि चित्रण गर्ने गरेका छन्। तर, विगत लामो समयदेखि बुटवलमा व्यवसाय गर्दै आएका व्यवसायी, सामाजिक अभियन्ताहरू भने अस्थिर राजनीतिका कारण बुटवल सोचेअनुरूप विकास हुन नसकेको दाबी गर्छन्। युवा व्यवसायी प्यूठानका बसन्त जिसी राजनीतिक अस्थिरताले गर्दा पनि बुटवल सोंचे अनुरूप विकास हुन नसकेको बताउँछन्। 
उनी सरकार परिवर्तनसँगै परिवर्तन हुने नीति नियमले व्यवसायीलाई हतोत्साहित बनाउँदै आएको दाबी गर्छन्। ‘कानुन बनाउँदा विशेष ध्यान दिनुपर्छ। कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको कानुन एउटै हुनुहुँदैन। भूगोलअनुसारको कानुन निर्माण हुनु अपरिहार्य छ। आम्दानीको स्रोतलाई सुनिश्चित गरेर कानुन बनाउनुपर्छ। यो काम गर्न सक्ने नेतृत्व चाहिन्छ’, उनी भन्छन्। स्थानीय नमनारायण बेलबासे पनि राजनीतिक अस्थिरता र दीर्घकालीन 
मोडल नभएका कारण बुटवलले छलाङ मार्न नसकेको बताउँछन्। 
‘बुटवलमा विकास नभएको होइन, विकास भएको छ। तर, त्यो प्रभावकारी बन्न सकेको छैन। विकासका दीर्घकालीन मोडल नहुँदा र राजनीतिक अस्थिरका कारण पनि बुटवलले फड्को मार्न सकेन’, उनी भन्छन्, ‘बुटवललाई व्यापारिक केन्द्रबिन्दु हुनुपर्ने हो, त्यो हुन सकेन। यसका लागि राजनीतिक स्थिरता हुनुपर्छ।’

साँच्चै बन्छ त व्यापारिक हब ?    
उदाउँदो सहरसँगै व्यापारिक हबका रूपमा विस्तार भइरहेको अवस्थामा राजधानी दाङ सरेपछि बुटवल समस्यामा परेको स्थानीयको बुझाइ छ। सामाजिक अगुवा ऋषि आजाद बुटवलमा पाइने सेवा सुविधा र सामग्री अन्यत्र पनि पाउन थालेकाले त्यसकै लागि मात्रै कोही पनि बुटवलमा नआउने दाबी गर्छन्। ‘यहाँ पाइने सबै सुविधा अन्यत्र पनि छ। 

पहिलेजस्तो सामान किन्न मात्र मानिस बुटवल आउँदैनन्। त्यो सामान अहिले जता पनि पाइन्छ’, उनी भन्छन्, ‘सबैभन्दा मुख्य कुरा यहाँको उत्पादन हुनुपर्‍यो। यहाँको उत्पादन भयो भने बुटवल बाँच्छ, भएन भने बाँच्दैन।’ 

उनी पछिल्लो समय जताततै उपसहर बन्ने क्रम पनि बढेकाले बुटवलको भविष्य ओझेलमा पर्न थालेको बताउँछन्। ‘हामीले पर्यटनको विकास गर्नुपर्छ। तिनाउ पुलमा ड्याम बनाएर स्टिमर चलाउने र सिग्नेचर पुल बनाउने हो भने त्यो हेर्न पनि मानिसहरू यहाँ आउँछन्। अहिले बुटवलमा रमाउने र मनोरञ्जन गर्ने ठाउँको अभाव छ। पर्यटकलाई आकर्षित गर्न सक्ने पूर्वाधार निर्माण गर्न सक्यौं भने त त्यसले सबैलाई लोभ्याउँछ। अर्को कुरा हामीले औद्योगिक क्षेत्रलाई विशेष प्रोत्साहन गर्नुपर्छ र रोजगारीको सिर्जना गर्नुपर्छ। 

बुटवलमा रोजगारी पाउन थाल्यो भने मानिसहरू आइहाल्छन् नि ! हामीले बोलाइरहनु नै पर्दैन’, उनी भन्छन्, ‘त्यसैले साँच्चिकै बुटवल बनाउने हो भने स्वप्नद्रष्टा नेता चाहिन्छ।’ स्थानीय युवा खनाल पनि निर्माण भइरहेको प्रादेशिक अस्पताललाई समयमै सम्पन्न गरेर स्वास्थ्यको पहुँच बढाउनुपर्ने र पर्यटकीय क्षेत्रलाई पनि व्यवस्थित गर्नुका साथै अव्यवस्थित बसाइँलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिन्छन्। ‘अब बुटवललाई औद्योगिक हब, शैक्षिक हब र स्वास्थ्यको हब बनाउनुपर्छ। 

विकासलाई चुनावी नारा मात्रै बनाउनुको अर्थ छैन’, उनी भन्छन्, ‘हिजो बुटवल बन्द हुँदा सिंगो देश बन्द हुन्थ्यो। अर्थात् देशै बन्द गर्ने शक्ति 
बुटवलसँग थियो। अहिले त्यो छैन। पुरानो त्यो शक्तिलाई बुटवलले फेरि ल्याउनु जरुरी छ। यसका लागि बुटवल आर्थिक, सामाजिक, सांस्कृतिकसँगै राजनीतिक रूपमा बलियो बन्नुपर्छ। अनि मात्रै त्यो सम्भव हुन्छ।’

स्थानीय बेलबासे बुटवल लुम्बिनी प्रदेशको राजधानी रहँदा व्यापारिक केन्द्रका रूपमा रहेको र राजधानी सरेपछि भने चमक हराउँदै गएको बताउँछन्। ‘बुटवल राजधानी हुँदा अर्कै चमक थियो। दैनिक दुई/तीन हजार कर्मचारीको चहलपहल थियो। क्रयशक्ति पनि बढेको थियो। तर, राजधानी सरेपछि यो चमक हरायो’, उनी भन्छन्, ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन भएको भए पनि राजधानी सर्दा फरक पर्दैन थियो। तर, राजधानी पनि सर्नु र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन हुन नसक्दा बुटवल समस्यामा परेको छ।’

यी हुन्, पछिल्ला केही वर्षमा भएका महत्वपूर्ण विकास योजनाहरू

  • बुटवल बेलहिया ६ लेन सडक
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 
  • लुम्बिनी विकास गुरु योजना
  • लुम्बिनी बौद्ध विश्वविद्यालय 
  • सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पोखरा सडक स्तरोन्नति 
  • सिद्धबाब सुरुङमार्ग 
  • बुटवल नारायणगढ सडक
  • सेमलार कृषि बजार 
  • ज्योतिनगर पहिरो संरक्षण 
  • बुटवल गोरुसिङे चन्द्रौटा सडक 
  • तिनाउमा सिंग्नेचर पुल
  • झुम्साखोला खानेपानी आयोजना 
  • बुटवल बेलवासदेखि पाल्पाको नुवाकोट सडक 
  • मुर्गीया लुम्बिनी सडक
  • रामापुर लुम्बिनी कक्रहवा सडक
  • सैनामैना चक्रपथ
  • बोलवम धाम 
  • प्राकृतिक चिकित्सालय
  • तिनाऊ दानब नदी कोरिडोर सडक
  • आकर्षक कालिका पथ सडक
  • कालिकापथमा निर्माण भएको सुरक्षित र आकर्षक मोनोपोल
  • रूपन्देहीका सामुदायिक विद्यालयको सुधारमा खेलेको भूमिका 
  • कोरिया नेपाल पोलिटेक्निक इन्स्टिच्युट तामनगर
  • बुटवल मेडिकल कलेज, तिलोत्तमा
  • लुम्बिनी प्रादेशिक अस्पताल 
  • बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हल) 
  • बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल 
  • बेलबास बेथरी भारतीय सीमासडक 
  • भुमही परासी भैरहवा लुम्बिनी तौलिहवा सडक 
  • तिनाऊ दानब नदी तटबन्ध 
  • चार तपाहा र सोह्र/छत्तीस सिँचाइ परियोजना 
  • तिनाऊ दानब नदी कोरिडोर सडक 
  • मोतीपुर औद्योगिक क्षेत्र 
  • तिलोत्तमा ६ मा निर्माणाधिन १५ शय्याको अस्पताल
  • सैनामैनामा निर्माण सम्पन्न भएको १५ शय्याको अस्पताल
  • बुटवलका भित्री र वाइपास सडकहरू 
  • सिद्धार्थ क्रिकेट रंगशाला 
  • चौराहा गोलपार्क सडक विस्तार 
  • तिनाऊ र दानव नदीमा निर्माण भएका १८ वटा पक्की पुल 
  • बेलबास चोक–सालघारी–लाहुरे चोकदेखि उजिरसिंह रंगशाला जोड्ने सडक 
  • बुटवल –१३ 
  • योगीकुटीदेखि मेडिकल कलेज जाने सडक तिलोत्तमा 
  • योगीकुटी–शान्तिचोक–डिंगरनगर–गोरकट्टा हँुदै पश्चिम पहुनी जाने सडक
  • सुकुम्बासी समस्या समाधानमा लिएका प्रयास 
  • ट्रमा सेन्टर 
  • कालीगण्डकी तिनाऊ डाइभर्सन बहुउदेश्यीय आयोजना 
  • एकीकृत जाँच चौकी बेलहिया 
  • लामिरह बहुउदेश्यीय उच्च बाँध आयोजना 
  • हाइटेन्सनको स्थानान्तरण
  • बुद्ध सर्किट सडक 
  • मेजर रोड 
  • गोलपार्क बुटवल मावि जितगढी बँदेलपोखरी तामनगर सडक 
  • तपाहा लाइन सडक 
  • रामनगर बस्ती विकास 
  • सुन्दर बगर बस्ती विकास
  • मैनाबगर बस्ती विकास 
  • जितगढी किल्ला
  • पुरानो बटौलीको विकास र संग्रहालय
  • सैनामैना फोहोर प्रशोधन केन्द्र

देशको धरातल नहेरिकन घोषणापत्र 
व्यवसायी खनाल राजनीतिक दलले देशको धरातललाई नहेरिकन घोषणापत्र ल्याएको र त्यो पूरा हुन सक्ने अवस्था नरहेको बताउँछन्। ‘घोषणापत्र तयार पार्दा कुनै पनि राजनीतिक दलले देशको धरातल हेरेको देखिँदैन। अधिकांश कोठामा बसेर तयार पारिएको छ।

देशको मूल नीति र स्रोतसाधनसँग तालमेल मिल्दैन’, उनी भन्छन्, ‘पुराना दलले पहिलेकै ‘कपिपेस्ट’ गरेका छन् भने नयाँ दलले स्थानीय सरकारले गर्ने कामलाई आफ्नो नारा बनाएका छन्।’ उनी दलहरूले बाचा गरेका कतिपय कामहरू पूरै गर्न नसकिने खालको रहेको बताउँछन्। ‘पहिले त राज्यले प्रतिनिधिसभा भनेको के हो र यसले के–के काम गर्छ भनेर बुझाउन सकेको छैन। 

प्रतिनिधिसभा सदस्यको मुख्य काम नीति बनाउने हो। विकास निर्माण होइन भन्ने कुरा जनतालाई बुझाउनुपर्‍यो’, उनी भन्छन्, ‘यसो भयो भने सांसदले नीति बनाउने हो, विकासका काम गर्ने होइन भन्ने कुरा जनताले बुझ्ने थिए र उनीहरूको अपेक्षा पनि कम हुन्थ्यो।’

यस्तो छ, विगतको गणित
सर्वाधिक चर्चाको रूपमा हेरिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ बुटवल सहर। यही निर्वाचन क्षेत्रबाट ०७९ मा एमालेका विष्णुप्रसाद पौडेल निर्वाचित भएका थिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ७० मतान्तरले पछि पार्दै चुनाव जितेका थिए। विष्णुले २७ हजार १ सय ६५ र गणेशले २५ हजार ७ सय ९५ मत लिएका थिए। रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र धेरैजसोमा एमाले, रास्वपा र कांग्रेसबीच नै तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.