घुम्दैफिर्दै ‘इपिसेन्टर’ आएका प्रचण्ड
रुकुमपूर्व : २०५२ सालमा माओवादीको इपिसेन्टर थियो रुकुम। रोल्पासँगै रुकुम माओवादी जनयुद्धको उद्गमस्थल बन्यो। माओवादी विद्रोहका नेता पुष्पकमल दाहाल ओत खोज्दै संसदीय निर्वाचनको यात्रामा निस्किएको १८ वर्षपछि रुकुम आएका छन्।
२०६४ सालको पहिलो संविधानसभामा रोल्पाबाट संसदीय यात्रा आरम्भ गरेका दाहाल तीन दिनपछि हुने निर्वाचनमा रुकुमबाट मैदानमा उत्रिएका छन्।
यही उद्गमस्थलबाट ‘प्रचण्डपथ’को यात्रामा निस्किएका दाहाल घुम्दै आएका छन्। कुनै बेला ‘गुरिल्ला गोरेटो’मा हतारहतार बिहानी हिँडाइमा लम्किने दाहालका पाइलाहरू अहिले रुकुमेली बाटोमा अहिले निर्वाचन केन्द्रित ‘मर्निङ वाक’मा परिणत भएका छन्। उनले चुनावी अभियानको क्रममा सम्भवत: जनयुद्धका दिनपछि धेरै समय रुकुममा बिताएका छन्।
हरेक निर्वाचनमा नयाँ जिल्ला घुम्ने विशेषता बोकेका दाहाललाई यसपटक आफ्नै ‘इपिसेन्टर’ले तानेको छ। रोल्पा, काठमाडौं, सिरहा, चितवन, गोरखा हुँदै दाहाल पूर्वीरुकुमको हिमाली क्षेत्रमा यसपटक पुगेका छन्। राजनीतिक रूपमा अझै यात्रा नाप्ने अभियानमा दाहाल देखिन्छन्।
७२ बर्से दाहालले आफ्नो यो यात्रालाई राजनीतिक जीवनको अन्तिम इनिङ भनेका छन्। यो इनिङलाई सफलताका लागि केही ‘कम्युनिस्ट’ पार्टीलाई एकीकृत गरेका छन्। बरु आफ्नो राजनीतिक इतिहास गाँसिएको ‘माओवादी’ अनि माओवादसमेत छोडेका छन्।
दाहालसँगै इपिसेन्टरमा चुनावी प्रतिस्पर्धामा छन् दाहालका सहयात्री सूर्यप्रकाश पुन र परम्परा गौतमका पुत्र सन्दीप पुन। सन्दीप सहिद पुत्र हुन तर अहिले दाहालका मुख्य प्रतिस्पर्धी छन्। ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ का अध्यक्षसमेत भएर युद्धकालीन पीडित परिवारको पक्षमा वकालत गर्दै आएका पुनले दाहाललाई नै चुनौती दिँदैछन्। उनी दाहालकै सहयोद्धा बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार भएका हुन्।
दाहालसँग कांग्रेसकी कुसुमदेवी थापा, एमालेका लीलामणि गौतम, प्रलोपाका सन्दीप पुन र रास्वपाका लखनकुमार थापासहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रचण्ड अघिल्लो निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए। २०६४ सालमा उनले रोल्पा–२ बाट चुनाव लडेका थिए र त्यहाँबाट पनि जित हासिल गरेका थिए। सोही वर्ष काठमाडौं–१० बाट समेत उम्मेदवारी दिएका उनले पछि रोल्पा क्षेत्र छाडेर काठमाडौं रोजेका थिए।
२०७० सालको संविधानसभा निर्वाचनमा उनले काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवारी दिएका थिए। त्यस निर्वाचनमा काठमाडौं–१० बाट पराजित भए पनि सिरहा–५ बाट विजयी भए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँगको गठबन्धनका कारण चितवन–३ बाट दाहालले सहज जित निकालेका थिए।
किन रोजे ?
एकपछि अर्को निर्वाचन क्षेत्रमा असुरक्षित हुँदै गएका दाहालले रुकुमपूर्व रोज्नुको पछाडि भने चुनावी रणनीति मात्र होइन, गहिरो ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको उनी बताउँछन्। यही भूमिबाट पहिलोपल्ट जनयुद्धको घोषणा गरिएको थियो र यहीँबाट गणतन्त्रका लागि निर्णायक कदम चालिएको थियो। दाहालले यसलाई ‘क्रान्तिको उद्गम भूमि मात्र नभई शान्ति प्रक्रियाको निर्णय गर्ने थलो’ भनेका छन्। उनले रुकुमको विकास र समृद्धिमा आफ्नो भूमिका निभाउने अभियानका लागि आएकोसमेत बताउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !