सुनसरी–१ का उम्मेदवारको उद्योग-व्यवसाय, सडक र पर्यटन विकासमा प्रतिबद्धता जनाए
सुनसरी : सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले सुनसरी उद्योग वाणिज्य संघसँग सार्वजनिक तथा आर्थिक विकाससँग सम्बन्धित विभिन्न प्रतिबद्धता व्यक्त गरेका छन्। संघले सोमबार धरानमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी उम्मेदवारहरूले उद्योग, व्यापार, पर्यटन, सडक, सिँचाइ, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै लिखित प्रतिबद्धता जनाएका विषय सार्वजनिक गरेको छ।
उम्मेदवारहरूले औद्योगिक क्षेत्रको विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, सडक तथा पुल निर्माण, कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ सुविधा विस्तार र बेरोजगारी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने बताएका छन्। उम्मेदवारहरूले उद्योगी-व्यवसायीको समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि संसदमा आवाज उठाउने, कर प्रणालीलाई व्यवस्थित बनाउने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रसँग सहकार्य गरेर विकास योजना अघि बढाउने प्रतिबद्धता जनाएको उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठले बताए। उनले उम्मेदवारले १५ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् भने केही उम्मेदवारले थप बुँदा समेत समावेश गर्दै आफ्नो धारणा प्रस्तुत गरेको बताए।
प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने उम्मेदवारहरूमा नेकपाका मनोज भट्टराई, एमालेका टीका लिम्बू, रास्वपाका गोमा तामाङ, श्रम संस्कृति पार्टीका हर्कराज राई, कांग्रेसका सुजेन्द्र तामाङले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको संघका महासचिव प्रभाव खतिवडाले बताए। केही उम्मेदवारले अतिरिक्त बुँदा थप गरी धार्मिक पर्यटन, जलाधार संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
संघले उद्योग-व्यवसायमैत्री नीति निर्माण, पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारलाई दबाब पुग्ने संघका कोषाध्यक्ष शैलेस आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !