लन्डनमा नेपाली विद्यार्थीलाई ठक्कर दिने कार चालक र्यापरलाई १२ वर्षको जेल सजाय
लन्डन : उत्तर-पूर्वी लन्डनमा एक नेपाली विद्यार्थीलाई कारले ठक्कर दिएर फरार भएको घटनामा दोषी ठहर गर्दै ४१ वर्षीय एक चर्चित र्यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ ।
गेट्स नामले चिनिने बेलायतका अवार्ड विनिङ र्यापर जसको वास्तविक नाम जस्टिन क्लार्क-स्यामुएल हो। यी र्यापरले २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको लापरवाहीपूर्ण सवारी चलाएर मृत्यु गराएको स्वीकार गरेपछि ओल्ड बेली अदालतले यो फैसला सुनाएको हो।
१८ अक्टोबर २०२५ को साँझ इल्फोर्डको रेडब्रिज लेन इस्टमा क्लार्क-स्यामुएलको कारले ठक्कर दिँदा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी तामाङ गम्भीर घाइते भएका थिए। उनको दुई दिनपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
अदालतमा पेश गरिएको विवरण अनुसार, ३० माइल प्रतिघण्टाको गति सीमा भएको क्षेत्रमा क्लार्क-स्यामुएलले आफ्नो बीएमडब्लूकार ६० माइल प्रतिघण्टाभन्दा बढीको गतिमा चलाएका थिए। बाटो काट्दै गरेका तामाङलाई ठक्कर दिएपछि उनी घटनास्थलमा नरोकी फरार भएका थिए।
प्रहरीले घट्नाको भोलिपल्ट बिहानै वुडफोर्डस्थित उनको घरमा खोजतलास गरेको थियो । उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी प्रहरीले ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला पारेको थियो ।उक्त घटनामा दोषी ठहर गर्दैन्यायाधीश मार्क लुक्राफ्ट केसीले क्लार्क-स्यामुएललाई १७ वर्षसम्म सवारी चालक अनुमतिपत्र लिन नपाउने गरी प्रतिबन्ध समेत लगाएका छन्। सीसीटीभी फुटेजमा देखिएको भिडियोमा न्यायाधीशले दुर्घटनाअघिका दृश्यहरू 'अत्यन्तै भयावह र स्तब्ध पार्ने' खालको रहेको बताए।
सरकारी वकिल फिलिप म्याग्घीका अनुसार, दुर्घटनाको साँझ क्लार्क-स्यामुएलले मादक पदार्थ सेवन गरेका थिए। उनको शरीरमा कानूनी सीमाभन्दा डेढ गुणा बढी अल्कोहल पाइएको थियो।
अदालतलाई बताइए अनुसार, क्लार्क-स्यामुएलले घरतर्फ जाँदै गर्दा बाटोमा छ वटा रातो ट्राफिक लाइटहरू मिचेका थिए। उनले पटक-पटक गलत दिशाबाट गाडी चलाउने, फुटपाथमा चढाउने र एक मोटरसाइकल तथा मर्सिडीज कारलाई समेत ठक्कर दिएका थिए। बाटो काट्दै गरेका तामाङलाई ठक्कर दिँदा उनी हावामा उछिट्टिएर सडकमा बजारिन पुगेका थिए, जसका कारण उनलाई अत्यन्तै चोट लागेको थियो।
धरान ११ निवासी बाबा विकास तामाङ र आमा शर्मिला मगर तामाङका एक्ला छोरा युबिन उच्च शिक्षाका लागि गत २०२४ सेप्टेम्बरमा बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोस्रो वर्षमा अध्ययनरत थिए ।
प्रतिक्रिया दिनुहोस !