उदयपुरमा प्रहरीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति
विराटनगर : उदयपुरको कटारी नगरपालिका–३ स्थित तावाखोला (ख) मतदान केन्द्रमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । घटना बिहीबार बिहान करिब ७:१० बजेतिर भएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सुरक्षा खटिएका प्रहरी अचानक लड्दा काँधमा भिरेको सटगन भुइँमा खसेर आफैं गोली पड्केको प्रारम्भिक विवरण छ । यस क्रममा मानवीय तथा अन्य भौतिक क्षति भने भएको छैन ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले यसलाई सामान्य घटना भनेका छन् । ‘मतपेटिकामा सामान्य क्षति पुगे पनि मतदान सुचारु राख्न कुनै अवरोध छैन । मतपेटिका परिवर्तन गरेर मतदान प्रक्रियालाई निरन्तर जारी राखिएको छ,’ उनले भने ।
प्रहरी स्रोतका अनुसार सुरक्षा व्यवस्था कडा राखिँदा पनि अप्रत्याशित दुर्घटना हुन सक्ने देखिएको छ । तर, आकस्मिक रुपमा हुने घटनाले निर्वाचन प्रक्रियामा कुनै ठूलो प्रभाव नपर्ने प्रहरी अधिकारीले बताए ।
मतदान केन्द्रमा प्रहरीको सक्रिय निगरानीका कारण मतदाता सुरक्षित रूपमा मतदानमा संलग्न भएका छन् । यस घटनाले मतदान सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले हतियारको प्रयोग र सुरक्षा व्यवस्थामा अझ सतर्क रहनुपर्ने आवश्यकता देखाएको छ ।
प्रतिक्रिया दिनुहोस !