थबाङमा यसपाली उत्साहजनक रुपमा मतदान हुँदै
रोल्पा: विगतमा कहिले शून्य र कहिले सतप्रतिशत मतदान हुने रोल्पाको थबाङमा यसपटक उत्साहजनक रुपमा मतदान हुँदैछ। पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रकालका प्रायः चुनावको विपक्षामा उभिएको थबाङमा यसपटक भने धमाधम मतदान भैरहेको छ।
२०७० सालको चुनावमा थबाङमा शून्य मतदान भएको थियो । पञ्चायती व्यवस्थामा बहुदलको पक्षमा थबाङले शून्य मतदान गरेको इतिहास छ। सशस्त्र युद्धताका माओवादीको आधार किल्ला मानिने थबाङमा शून्य मतदान हुँदै आएको थियो। गणतन्त्रकालमा नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीको कित्तामा उभिएर शून्य मतदान गरेको थियो। विप्लव नेतृत्वको पार्टीले चुनाव बहिस्कारको नीति लिएको बेला भएका २०७४ र २०७९ सालका चुनावमा तनावका बीच मतदान भएको थियो।
यसपाली विप्लव नेतृत्वको नेकपा माओवादीले चुनावमा भाग लिएपछि थबाङमा इतिहासमै सहज र उत्साहजनक रुपमा मतदान भैरहेको छ। 'थबाङमा शान्तिपूर्ण बाताबरणमा चुनाव भैरहेको छ।', मतदान केन्द्रमा खटिएका एक अधिकारीले जनाए।
देश संघीयतामा गएपछि साविकका थबाङ, मिरुल र उवा गाविसलाई मिसाएर थबाङ गाउँपालिका बनाईएको थियो । जिल्लाको उत्तरी भेगमा अवस्थित थबाङ ठुलो गाउँको मतदानलाई रोचक मानिएको छ। विगतमा एकलौटी राजनीतिक केन्द्र मानिने थबाङमा पछिल्लो समय बहुदलीय अभ्यास हुँदै आएको छ । चुनाव प्रचार-प्रसारका बेला समेत प्रायः उम्मेदवारहरु सहजै थबाङमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस !