क्रियापुत्रीले पनि गरे मतदान
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१ निवासी ९३ वर्षीया रुपा मल्लको नौं दिनअघि आफ्नै निवासमा निधन भएको थियो ।
मृतकका छोरा ललिजङ मल्ल, राजन मल्ल र बिनोद मल्लले बिहीबार बिहान १० बजेर ४४ मिनेटमा उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । त्यसै गरी सोही वडामा १० दिनअघि निधन भएकी अर्की ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द्र मल्ल र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्ने तयारी गरेको छिमेकी सुरेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष समेत रहेका क्रियापुत्री बिनोद मल्लले लोकतान्त्रिक अधिकार प्रयोग गर्नु सबै नागरिकको कर्तव्य भएको बताए । उनले भने, ‘घरमा शोकको अवस्था भए पनि मतदान नागरिकको महत्वपूर्ण अधिकार हो ।
लोकतन्त्रलाई बलियो बनाउन सबैले आफूसहित दुई दाजुले मताधिकार प्रयोग गर्नुपर्छ भन्ने सोचले हामीले मतदान गरेको बताए । मतदान केन्द्रमा मतदान गर्न पुगेका स्थानीयहरुले शोकका बीच पनि मताधिकार प्रयोग गर्न क्रियापुत्री स्वयं मतदान केन्द्र पुगेको घटना यहाँका लागि उदाहरणीय भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस !