ताप्लेजुङमा हालसम्म १५ प्रतिशत मतदान
ताप्लेजुङ : ताप्लेजुङमा अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । ताप्लेजुङमा ९० हजार ३ सय २७ जना मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार विहान ११ः१५ बजेसम्ममा १३ हजार ८ सय ७७ मत खसेको हो ।
८ वटा गाउँपालिका र एक नगरपालिका रहेको यहाँ मतदानको कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको बताइएको छ । यता अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत खसेको हो ।
ताप्लेजुङको सदरमुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा गरी दुई अस्थायी मतदान केन्द्र तोकिएको थियो । जिल्लामा एक हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । जसमा एक हजार दुई सय १९ पुरुष र चार सय ६४ महिला मतदाता रहेका छन् ।
अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका स्थित हिमाली क्षेत्रमा पर्ने फले, याङमा, घुन्सा र ओलाङ्चुङगोलामा पनि मतदान भइरहको प्रजिअ सेढाँइले जानकारी दिए । मौसमले साथ दिए आज नै हेलिकोप्टरको सहायतामार्फत मतपेटिका फुङलिङ ल्याउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस !