झापामा करिब ६५ प्रतिशत मत खस्यो, आजै मतगणना हुने
झापा : झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ६५ प्रतिशत हाराहारीमा मतदान भएको हो।
अहिलेसम्म मतदान गरेको यकिन तथ्याङ्क आइपुगेको छैन। मतपेटिका सङ्कलनको काम धमाधम भइरहेको छ। प्रारम्भिक तथ्यांकअनुसार ६५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।
पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भएपश्चात आजै सर्वदलीय बैठक डाकेर मतगणना सुरु गरिने र त्यसको तयारी पूरा भइसकेको उनको भनाइ छ। जिल्लामा तीन अस्थायी र २८५ मतदान स्थलको ८१५ मतदान केन्द्रमा मतदान भएको थियो।
जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्। कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेका छन्। झापामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ७०.४७ प्रतिशत मतदान भएको थियो।
त्यसबेला जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेका थिए। २०७४ सालको अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो।
प्रतिक्रिया दिनुहोस !