भक्तपुरका दुवै क्षेत्रमा रास्वपाकाे जित सुनिश्चित
भक्तपुर : भक्तपुरका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारको जित सुनिश्चित भएको छ । भक्तपुर-१ बाट रुकेश रन्जितले निरन्तरको अग्रता कायम गर्दै जित सुनिश्चित गरेका छन् भने भक्तपुर-२ मा भारी मतान्तरले राजिव खत्रीको जित सुनिश्चित भएको छ ।
५ हजार २२ मत गनिसक्दा भक्तपुर-२ मा रास्वपाका खत्रीले ३३ हजार १३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी पूर्व मन्त्री एवं नेकपा एमालेका उम्मेदवार महेश बस्नेत ८ हजार ३४ मत मात्र प्राप्त गरेका छन् ।
त्यसैगरी अघिल्लो पटक जित हासिल गरेको नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका कविर राणा६ हजार ९ सय ९५ मत प्राप्त गरी तेस्रो स्थानबाट उक्लिन सकेका छैनन् । यहाँ अब २२ हजार ८ सय ६९ मत गन्न बाकी छ ।
भक्तपुर-१ मा पनि रास्वपाका उम्मेदवार रुकेश रन्जितले निरन्तरको अग्रता कायम गर्दै ३० हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ३० हजार बढी मतान्तरले बिजयी बनेका नेमकिपाका सचिव प्रेम सुवाल २६ हजार ९ सय ९० मतमा खुम्चिएर दोश्रो स्थानमै छन् । त्यसैगरी नेपाली कांग्रेसका किरण न्यौपानेले ३ हजार ९ सय ६९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
भक्तपुर-१ को यो नतिजा ७२ हजार २ सय ५८ मत गणना गर्दाको हो । यहाँ ७७ हजार ८ सय ७१ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस !