दलहरूमा रूपान्तरणको खाँचो
प्रतिनिधिसभाको चुनावी परिणामले नयाँ दललाई हौसला बढाएको छ भने पुरानालाई झस्काएको छ। नेपालको संसदीय इतिहासमा यो एउटा राजनीतिक भूकम्पजस्तै बनेको छ, जसले दशकौंदेखि जरा गाडेर बसेका राजनीतिक किल्लाहरूलाई कमजोर बनाइदिएको छ।
भर्खरै सम्पन्न निर्वाचनको नतिजा केवल अंकको खेलमात्र होइन, यो नेपाली जनताको वर्षौंदेखिको गुम्सिएको आक्रोश र परिवर्तनको तीव्र भोकको प्रस्फुटन हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइको छनक देखाउनु र नेपाली कांग्रेस तथा नेकपा एमाले औंलामा सीमित सिटमा खुम्चिनुले नेपाली नागरिकमा परिवर्तनको भोक स्पष्ट देखिएको छ। इतिहास बोकेका दलहरू खुम्चिनुले स्पष्ट सन्देश दिएको छ— ‘अब पुरानो ढर्रा चल्दैन।’ २०४६ सालको परिवर्तनपछि नेपालको सत्ता राजनीतिमा कांग्रेस, एमाले र माओवादीको जुन ‘रजगज’ थियो, त्यसको एउटा कालखण्ड समाप्त भएको निर्वाचन परिणामले पुष्टि गरेको छ। यी दलहरूले आफूलाई लोकतन्त्रको पर्यायवाची ठाने, तर लोकतन्त्रभित्र हुनुपर्ने उत्तरदायित्व र पारदर्शितालाई कहिल्यै आत्मसात् गरेनन्।
सत्ताको लुछाचुँडी र गुटबन्दीले यो हाल भएको हो। अर्को मुख्य कारण हो, जनताको आधारभूत आवश्यकताभन्दा पनि आफ्ना कार्यकर्ता र आफन्तको व्यवस्थापनमा दलीय शीर्षनेताहरू पनि केन्द्रित हुनु। यो निर्वाचनमा युवा पुस्ता, विशेषगरी ‘जेन–जी’को भूमिका निर्णायक देखिएको छ। अन्यथा, दुई वर्षपछि यो निर्वाचन हुँदैथियो। प्रविधिको प्रयोग, विश्वव्यापी चेतना र पुराना नेताहरूको ‘हैकमी पारा’प्रतिको घृणाले नयाँ शक्तिलाई सत्ताको सोपानसम्म पुर्याएको छ।
पुराना दलका शीर्ष नेताहरूमा ‘म वा हामीबिना देश चल्दैन’ भन्नेजस्ता अहंकार थियो, त्यसलाई जनताले मतपत्रमार्फत कडा जवाफ दिएका छन्। सत्तामा रहँदा समयको पदचाप चिन्न नसक्नु र पुरानै आश्वासनको खेती गरिरहनु नै उनीहरूको हारको मुख्य कारण बन्यो। माओवादी त नाम नै परिवर्तन गरेर एक किसिमको विलयमा गएकै थियो, परिणामले त्यसलाई झनै पुष्टि गरिदियो। कांग्रेस र एमाले जस्ता पुराना दलहरूका लागि पनि यो निर्वाचन ‘अन्तिम चेतावनी’ बन्यो।
अब पनि नसच्चिने हो भने उनीहरू इतिहासको पानामा मात्र सीमित हुनेछन्। अब उनीहरूले सच्चिनका लागि फरक रणनीति अपनाउनु अनिवार्य छ। पुस्तान्तरण र रूपान्तरण पहिलो सर्त हो। केवल उमेरले होइन, विचार र कार्यशैलीमा पनि पुस्तान्तरण आवश्यक छ। पुराना र असफल सिद्ध भएका अनुहारहरूले विश्राम लिएर नयाँ र भिजन भएका युवाहरूलाई नेतृत्व सुम्पन सक्नुपर्छ। दोस्रो, आत्मालोचना र स्वीकारोक्ति। हारको दोष अरूलाई दिनुभन्दा पनि कमीकमजोरी स्वीकार्दै जनतामाझ ‘क्षमायाचना’सहित जानु बुद्धिमानी हुनेछ। हैकमी प्रवृत्ति त्याग तेस्रो सर्त हो। दलभित्रको आन्तरिक लोकतन्त्रलाई जीवित राख्दै, केही सीमित नेताको कब्जाबाट पार्टीलाई मुक्त गर्नुपर्छ। चौथो हो, जनस्तरमा जाने। एसी कोठा र सत्ताको वरिपरि घुम्ने प्रवृत्ति छाडेर पुनः गाउँबस्ती र जनताको पीर–मर्कामा जोडिनु पर्छ।
निर्वाचनको यो नतिजाले रास्वपालाई ठुलो जिम्मेवारी र पुराना दलहरूलाई गम्भीर सवक सिकाएको छ। जनताले विकल्प रोजिसकेका छन्। अब पुराना दलहरूले ‘हामीले नै देश चलाएका हौं’ भन्ने दम्भ छाडेर ‘अब कसरी देश बनाउने ?’ भन्ने सोचका साथ आफूलाई पुनर्संरचना गर्नुपर्छ। सत्ता सधैं एउटैको पेवा हुँदैन भन्ने लोकतन्त्रको सुन्दर पक्षलाई स्वीकार गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नु र आफूलाई भित्रैबाट सुधार्नु नै उनीहरूको अस्तित्व जोगाउने एकमात्र विकल्प हो।
प्रतिक्रिया दिनुहोस !