पूर्वी पहाडमा रास्वपाको कमजोर धरातल: विश्वराज पोखरेलको एक्लो जित, ओखलढुंगामा भत्कियो परम्परागत गढ
विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाले नेपाली राजनीतिमा असाधारण मोड ल्याएको छ। लामो समयदेखि नेपाली कांग्रेस, नेकपा (एमाले)जस्ता परम्परागत दलहरूको वर्चस्व रहेको राजनीतिक संरचनालाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको हो। नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ठूलो जित निकाल्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति स्थापित गरेको छ।
देशभरको प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १२५ सिटमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। बाँकी ४० सिटमा मात्र अन्य दल र स्वतन्त्र उम्मेदवार सीमित भए। मतदातामा पुराना दलप्रति असन्तुष्टि र निराशा बढिरहेको मनोविज्ञानलाई सुशासन, पारदर्शिता एवं परिवर्तनको मुख्य एजेन्डामार्फत आफ्नो पक्षमा परिणत गर्न रास्वपा सफल भयो।
देशका धेरै ठाउँमा रास्वपाको लहर चलिरहँदा कोशी प्रदेशका पहाडी जिल्लाको राजनीतिक धरातल र अवस्था भने भिन्न रहयो। तराई र भित्री मधेश क्षेत्रमा अत्यन्त बलियो प्रदर्शन गरेको रास्वपा पूर्वी पहाडमा भने अपेक्षाकृत कमजोर देखिएको हो। निर्वाचनको परिणामबाट पूर्वी पहाडमा पार्टीको संगठन, जनआस्था र राजनीतिक प्रभाव अझै कमजोर रहेको स्पष्ट हुन्छ। यद्यपि, कोशीका पहाडी जिल्लाबाट पूर्ण रूपमा पराजित हुनबाट भने रास्वपा जोगिएको छ।
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (पूर्वएआईजी) विश्वराज पोखरेल कोशी प्रदेशको पहाडी क्षेत्रबाट प्रतिनिधिसभामा प्रवेश गर्ने रास्वपाका एक मात्र सांसद बनेका छन्। रास्वपाका उम्मेदवार पोखरेलले परम्परागत दलको गढ भत्काउँदै ओखलढुंगामा ऐतिहासिक जित दर्ता गराएका हुन्। पुराना दलमाथि हाबी हुने क्रममा अत्यन्तै कडा प्रतिस्पर्धाबीच उनी प्रतिनिधिसभा सदस्यमा विजयी हुन सफल भए।
पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए। दुवै उम्मेदवार बीचको मतान्तर ५ मात्रै रहेको छ। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा अन्य दलका उम्मेदवारले पनि उल्लेखनीय मत पाए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङको ११ हजार २९६ र नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापाको १० हजार ७२० मत छ।
चुनावी परिणामले ओखलढुंगामा निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको देखाउँछ। पाँच मतको अन्तरले विजयी भएको नतिजाले एकातिर स्थानीय राजनीतिक समीकरणको संवेदनशीलता देखाउँछ भने अर्कोतर्फ पोखरेलको व्यक्तिगत लोकप्रियता र प्रभाव पनि झल्काउँछ। पोखरेलको राजनीतिक यात्रा प्रहरी सेवा छाडेपछि सुरु भएको हो। उनी लामो समय नेपाल प्रहरीमा उच्च पदमा रहेर काम गरेका अनुभवी सुरक्षा अधिकारी हुन्।
२०७९ साल वैशाख १८ गते नेपाल प्रहरीको २९औं महानिरीक्षक नियुक्तिको क्रममा उनी ठूलै अन्यायमा परेका थिए। वरीयताको पहिलो नम्बरमा रहेका उनलाई पाखा लगाउँदै तेस्रो वरीयताका धीरजप्रताप सिंहलाई तत्कालीन सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको थियो। तकालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको उक्त निर्णयले प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेपको विषय व्यापक रूपमा उठायो। सरकारले सिंहलाई नै चाहेपछि पोखरेलको मुखैमा आएको आईजीपी खोसिएको थियो।
नेपाल प्रहरीमा २०४९ चैत ११ गते इन्स्पेक्टर (प्रहरी निरीक्षक) पदबाट सेवा सुरु गरेका पोखरेलले विभिन्न पदमा रहेर संगठनभित्र लामो समय योगदान गरेका छन्। २०७७ साल मंसिर २५ गते उनलाई एआईजीमा एकल बढुवा गरिएको थियो। एआईजी बनेसँगै नेपाल प्रहरीभित्र आफ्नो ‘ब्याच’बाट सबैभन्दा वरिष्ठ अधिकारी उनी नै भए। तर, पछि आईजीपीको जिम्मेवारी नदिइकन अन्याय गरियो।
त्यो विवादपछि प्रहरी सेवाबाट राजीनामा दिएर उनी राजनीतिमा लागे। अहिले रास्वपाबाट उम्मेदवार बनेर नीति निर्माण गर्ने थलो संसदमा पुग्ने उच्च प्रहरी अधिकारी मध्येमा परेका छन्। पुराना दलको किल्ला भत्काउँदै प्रतिनिधिसभामा पुगेका उनले अबको जीवन राजनीतिमार्फत समाजसेवामा समर्पित गर्ने बताए। पोखरेलको विजय पार्टीको लहरको परिणाम मात्रै नभएको स्थानीय विश्लेषण छ। उनको व्यक्तिगत छवि, सुरक्षा प्रशासनमा हासिल गरेको अनुभव, अनुशासन र शालीन व्यक्तित्वले मतदातालाई प्रभावित गरेको रास्वपाका स्थानीय नेता कार्यकर्ता बताउँछन्। ओखलढुंगा ऐतिहासिक रूपमा नेपाली कांग्रेसको बलियो आधार क्षेत्र मानिन्छ। प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरूको जिल्ला भनेर चिनिने ओखलढुंगामा कांग्रेसको भावनात्मक र राजनीतिक प्रभाव लामो समयदेखि कायम रहँदै आएको थियो।
यो जिल्लाबाट प्रजातन्त्रको आन्दोलनमा लीला दाहाल, ठगी दाहाल, गोकर्ण कार्की, पेशल दाहाल, महेश कोइराला, क्याप्टेन यज्ञबहादुर थापा, भैरव राईसहित ५६ जनाले बलिदानी दिएका थिए। ओखलढुंगा बारम्बार कार्यवाहक प्रधानमन्त्री बनेका बलबहादुर राईले नेतृत्व गरेको जिल्ला पनि हो। कांग्रेसको प्रभावसँगै नेकपा (एमाले)को पनि बलियो राजनीतिक आधार रहँदै आएको थियो। कांग्रेस र एमालेको आलोपालो नेतृत्व तथा बलियो उपस्थितिबीच ओखलढुंगामा नयाँ दल रास्वपाले विजय हासिल गर्नु राजनीतिक रूपमा निक्कै महत्वपूर्ण मानिएको छ।
स्थानीय तहहरूमा समेत कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को मात्र प्रतिनिधित्व रहेको जिल्लामा परम्परागत दलहरूको गढ भत्काएर विजय हासिल गर्नु सजिलो र चानचुने विषय नभएको रास्वपा ओखलढुंगाका नेता भक्त कटुवाल बताउँछन्। उनले विश्वराज पोखरेलको जित पार्टीका लागि ऐतिहासिक उपलब्धि भएको बताए। ‘धेरै चुनौतीबीच परम्परागत दलहरूको गढमा पार्टीको झण्डा फहराउनु सामान्य कुरा होइन। पोखरेलको उच्च व्यक्तित्व, राजनीतिक क्षमता र कडा मेहनतकै कारण सम्भव भएको हो,’ कटवालले भने।
कटुवालका अनुसार पोखरेलको इमान्दार छवि, शालीन व्यक्तित्व, अनुशासन र राजनीतिक सुझबुझले मतदातामा विश्वास जगाएको थियो। साथै, पोखरेल ओखलढुंगाकै भएकाले स्थानीय मतदातासँग भावनात्मक सम्बन्ध पनि स्थापित भयो। कटवालका अनुसार यदि अन्य व्यक्तिलाई उम्मेदवार बनाइएको भए रास्वपाले चुनाव जित्न कठिन हुने थियो। ‘रास्वपाले अन्य व्यक्तिलाई उम्मेदवार बनाएको भए हामी जित्न सक्ने थिएनौं। परिणाम निकाल्न गाह्रो हुन्थ्यो। फेरि पुरानाहरु नै आउने थिए,’ उनी भन्छन्। निर्वाचन परिणामले पूर्वी पहाडमा रास्वपाको संगठनात्मक प्रभाव र राजनीतिक धरातल अझै सीमित एवं कमजोर रहेको तथ्य उजागर गरेको कटवालको भनाइ छ।
‘पूर्वी पहाडबाट रास्वपाका तर्फबाट विजयी हुने पोखरेल एक्लै हुनुहुन्छ। यसले पहाडी क्षेत्रमा पार्टीको अवस्था कस्तो छ भन्ने देखाउँछ,’ उनले भने। सिंगो पूर्वी पहाडी क्षेत्रबाट एक्लो जित निकाल्न सफल पोखरेललाई मन्त्री बनाउनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको उनले बताए बताए। ‘पोखरेललाई मन्त्री बनाउनुपर्छ भनेर नेता कार्यकर्ताले आवाज उठाउन थाल्नु भएको छ। त्यो आवाजलाई हामीले केन्द्रमा पठाउँछौं,’ उनी भन्छन्।
नेता कार्यकर्ताहरुका अनुसार पहाडी क्षेत्रबाट विजयी हुने एक मात्र प्रतिनिधि भएकाले पोखरेललाई मन्त्रिपरिषद्मा समावेश गर्दा सकारात्मक सन्देश जानेछ। एक नेताले भने, ‘रास्वपाले पहाडलाई पनि स्थान दिन्छ भन्ने सन्देश दिन, आगामी दिनमा पहाडी क्षेत्रमा पार्टीको संगठन मजबुत बनाउन र कार्यकर्तामा ऊर्जा थप्न पनि पोखरेललाई मन्त्री बनाउनु उचित हुन्छ।’
पोखरेल सुरक्षा प्रशासनका अनुभवी व्यक्ति मानिन्छन्। प्रहरी संगठनको नीति निर्माण तहमा बसेर काम गरेको अनुभव, सुरक्षा विषयमा गहिरो ज्ञान र गृह प्रशासनसँग सम्बन्धित लामो अनुभवका कारण उनलाई सक्षम नेतृत्वका रूपमा हेरिन्छ।
कोशी प्रदेशको समग्र निर्वाचन परिणामले पनि रोचक राजनीतिक चित्र प्रस्तुत गरेको छ। प्रदेशमा कुल २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। तीमध्ये रास्वपाले १७ सिट जितेको छ। नेपाली कांग्रेस र एमालेले ४–४ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। तराई क्षेत्रमा पर्ने मोरङ, झापा र सुनसरीमा रास्वपाले अत्यन्त बलियो प्रदर्शन गरेको छ। मोरङ र झापामा ‘क्लिन स्वीप’ नै गरिदियो।
६ वटा क्षेत्र रहेको मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट यज्ञमणि न्यौपाने, २ बाट कृष्णकुमार कार्की, ३ बाट गणेश कार्की, ४ बाट सन्तोष राजवंशी, ५ बाट आशा झा र ६ बाट रुबिना आचार्य निर्वाचित भएका छन्। ५ वटा निर्वाचन क्षेत्र रहेको झापाको १ बाट निशा डाँगी, २ बाट पूर्वउपसभामुख इन्दिरा रानामगर, ३ बाट प्रकाश पाठक, ४ बाट शम्भुप्रसाद ढकाल र ५ बाट बालेन्द्र साह (बालेन) विजयी भएका छन्।
सुनसरीमा भने एउटा क्षेत्र मात्रै रास्वपाले जित्न सकेन। सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) विजयी भएका हुन्। अन्य ३ क्षेत्रमा भने रास्वपाका उम्मेदवार सफल भए। सुनसरी–२ बाट लालविक्रम थापा, ३ बाट अशोकुमार चौधरी र ४ बाट दीपककुमार साह निर्वाचित भएका छन्।
भित्री मधेश क्षेत्रमा पर्ने उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ। उदयपुर–१ बाट पारशमणि गेलाल र २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका हुन्। तर, पूर्वी पहाडी जिल्लाहरूमा भने परम्परागत दलहरूको प्रभाव कायम रहयो। इलाम–१ बाट कांग्रेसका निश्कल राई र इलाम–२ बाट एमालेका सुहाङ नेम्वाङ विजयी भए।
एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामध्ये एमालेबाट ताप्लेजुङमा क्षितिज थेवे, धनकुटामा राजेन्द्रकुमार राई, संखुवासभामा डा. अर्जुनकुमार कार्की तथा कांग्रेसबाट तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा, पाँचथरमा नरेन्द्रकुमार केरुङ र सोलुखुम्बुमा प्रकाशसिंह कार्की निर्वाचित भएका छन्। भोजपुर र खोटाङमा भने श्रम संस्कृति पार्टीले सफलता हासिल गरेको छ। भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई विजयी भए।
अधिकांश पूर्वी पहाडी जिल्लामा रास्वपा निकटतम प्रतिस्पर्धी समेत बन्न सकेन। संखुवासभाबाहेक अन्य जिल्ला तथा क्षेत्रमा कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी र नेकपाका उम्मेदवारबीच प्रतिस्पर्धा देखियो। यसरी हेर्दा कोशी प्रदेशमा रास्वपाले उल्लेखनीय सिट जिते पनि त्यो सफलता मुख्य रूपमा तराई तथा भित्री मधेश क्षेत्रमा केन्द्रित भएको देखिन्छ। निर्वाचन परिणामले पूर्वी पहाडमा पार्टीको संगठन विस्तार, जनाधार निर्माण र राजनीतिक प्रभाव बढाउने चुनौती अझै बाँकी रहेको देखाउँछ।
यही पृष्ठभूमिमा ओखलढुंगाबाट विश्वराज पोखरेलको विजय रास्वपाका लागि प्रतीकात्मक मात्रै नभएर रणनीतिक रूपमा पनि महत्वपूर्ण मानिएको हो। यसले पहाडी क्षेत्रमा पनि सम्भावना रहेको संकेत दिन्छ। तर, सम्भावनालाई बलियो जनाधारमा रूपान्तरण गर्न आगामी दिनमा पार्टीले थप प्रयास गर्नुपर्ने अवस्था रहेको नेता कार्यकर्ताहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस !