मन्त्रीबाट राजीनामा दिएर चुनाव लडेका चारमध्ये एक जना पराजित
काठमाडौं : फागुन २१ को प्रतिनिधिसभा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिएका चारमध्ये एक जना भने पराजित भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिई ललितपुर–२ बाट चुनाव लडेका जगदीश खरेर भारी मतले विजयी भएका छन् ।
खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चिन्हबाट ललितपुर–२ बाट प्रत्यक्ष निर्वाचन लडेका थिए । खरेल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको प्रवक्ता समेत थिए । खरेलले माघ ५ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । यस्तै सोही सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा होमिएका थिए ।
रास्वपाबाटै सिरहा–१ को उम्मेदवार रहेका गुप्ताले पनि ठूलो मतान्तरसहित चुनाव जितेका छन् । गुप्ताले पनि माघ ५ गते पदबाट राजीनामा दिएका थिए । यस्तै अन्तरिम सरकारकै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिइ चुनाव लडेका डा. महावीर पुन पनि निर्वाचित भएका छन् । डा. पुन म्याग्दीबाट स्वतन्त्र रुपमा निर्वाचित भएका छन् ।
यता सुशीला कार्की नेतृत्वकै सरकारको उर्जा जलस्रोत तथा सिंचाइमन्त्रीबाट राजीनामा दिएर चुनाव लडेका कुलमान घिसिङ भने पराजित भएका छन् । उनी आफै अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीबाट काठमाडौं–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए । उनलाई रास्वपाका राजुनाथ पाण्डेले हराएका हुन् ।
प्रतिक्रिया दिनुहोस !