पार्किन्सन हुँदैमा नआत्तिऔं, व्यवस्थापन गर्न सकिन्छ

पार्किन्सन हुँदैमा नआत्तिऔं, व्यवस्थापन गर्न सकिन्छ
फोटो : सुनिता डंगोल

पार्किन्सन कस्तो किसिमको रोग हो ? 

पार्किन्सन रोग मस्तिष्कसँग सम्बन्धित रोग हो। सरल भाषामा भन्नुपर्दा मध्यमस्तिष्क (मिड ब्रेन)को नसा सुक्ने रोग नै पार्किन्सन हो। यो रोग प्रायः ज्येष्ठ नागरिकलाई हुने गर्छ। त्यसैले बुढेसकालको रोगका रूपमा पनि कतिपयले बुझ्छन्। ६० वर्ष नाघेका कुल जनसंख्याको एक प्रतिशत ज्येष्ठ नागरिकलाई यो रोग हुने अनुमान छ। तर, वयस्क उमेरमै पनि पार्किन्सन रोग लाग्न सक्छ।

मध्यमस्तिष्कको नसा के कारणले सुक्छ ? 

यसको यकिन कारण त छैन। तर, अन्य केही कारणहरू पत्ता लागेका छन्। मस्तिष्कमा पाइने एक प्रकारको प्रोटिन हो, अल्फा सिनुक्लिन। मध्यमस्तिष्क (विशेषगरी सब्सट्यान्सिया नाइग्रा)मा अल्फा सिनुक्लिन प्रोटिन जम्मा भइरह्यो भने असामान्य रूपमा गाँठो पर्न सक्छ। जसका कारण कोषको नियमित प्रक्रिया नै रोकिन पुग्छ। स्नायु कोषहरूलाई नै क्रमशः क्षति गर्छ। विस्तारै मस्तिष्कको नसा पनि सुक्न थाल्छ।

मस्तिष्कको नसा सुक्दै गए पनि पार्किन्सन रोग देखिन सुरु गर्छ। पार्किसन रोगका लक्षण देखिँदासम्म झन्डै ७० देखि ८० प्रतिशत कोषमा क्षति पुगिसकेको हुन्छ।

लक्षणहरू कस्ता देखिन्छन् ? 

यसको मुख्य लक्षण नै सुस्तता (स्लोनेस) हो। अचानक सुस्तता आउँछ। हिँडडुल गर्न गाह्रो हुन्छ। उठेर हिँड्न लाग्दा सुरुको खुट्टा उचाल्न धौ–धौ हुन्छ। उठेर हिँड्न र रोकिन (स्टार्टिङ र इन्डिङ प्वाइन्ट) पनि गाह्रो हुन्छ।

चिकित्सकीय कक्षाहरूमा हामी ट्र्याप ‐टीआरएपी) भनेर पढाउँछौं। टी को अर्थ टे«मर (हातखुट्टा काम्ने) हो। आरको अर्थ रेगिडिटी (मांसपेशीमा कडापन हुने) हो। एको अर्थ अकेनेसिया (चल्न, हिँड्न गाह्रो हुने) र पीको अर्थ पोस्चरल इन्स्ट्याबिलिटी (शारीरिक अवस्था अस्थिर भई उँभिदा /हिँड्दा लड्ने जोखिम) हो। यस खालका लक्षण पाइएमा पार्किन्सन रोग हो कि भनेर जँचाउनु उपयुक्त हुन्छ।

मुभमेन्ट डिसअर्डर र पार्किन्सनमा के फरक छ ? 

मुभमेन्ट डिसअर्डर भनेको ठूलो सञ्जाल हो। त्यो सञ्जालभित्रको एउटा युनिट पार्किन्सन हो। मुभमेन्ट डिसअर्डर हुँदा चल्ने, हिँड्ने, बोल्ने, खानेलगायतका दैनिक गतिविधि गर्न असहज हुन्छ। यही असजिलो अवस्था नै मुभमेन्ट डिसअर्डर हो। मुभमेन्ट डिसअर्डरको मुख्य कम्पोनेन्ट पार्किन्सन हो।
पार्किन्सन रोगको पहिचान (डायग्नोसिस) कसरी गरिन्छ ? 

क्लिनिकल फिचर्सको आधारमा पहिचान गर्न सकिन्छ। बिरामीमा भएको क्लिनिकल फिचर्सको आधारमा पहिचान गर्ने हो। ९० देखि ९५ प्रतिशत केसहरूमा त क्लिनिकल फिचर्सका आधारमा नै पहिचान गरिन्छ। एमआरआईको समेत आवश्यकता नपर्न सक्छ। ५ देखि १० प्रतिशत केसहरू मात्र द्विविधा गराउने खालका हुन सक्छन्। त्यसमा थप अतिरिक्त अध्ययन र परीक्षण गर्नुपर्ने हुन सक्छ।

जीवनशैली र पार्किन्सन रोगबीच अन्तरसम्बन्ध के कस्तो छ ? 

मस्तिष्कमा डोपामिन हर्मोन बन्ने प्रक्रियामा असर पुग्यो भने पार्किन्सन रोग देखिने भइहाल्यो। कतिपय औषधिले साइड इफेक्टका रूपमा नसालाई असर गरी पार्किन्सनको झैं समस्या देखिने पनि हुन सक्छ।

नेपालमा पार्किन्सन रोग बढ्दो छ। किन ? 

हो, नेपालमा पार्किन्सन रोग बढ्दो नै छ। अहिले नेपालीहरूको औसत आयु बढेर ७२ वर्ष पुगेको छ। उमेर बढ्दै जाँदा स्वाभाविक रूपमा पार्किन्सनको जोखिम पनि बढ्ने नै भयो। औसत आयु बढेका कारण नै पार्किन्सन रोग बढेको पाइएको हो। 

वंशाणुगत कारणले पनि जोखिम हुन्छ ? 

५ देखि १० प्रतिशत वंशाणुगत कारण पनि जोडिन्छ। मस्तिष्कघातमा केही प्रतिशतमात्र जोडिन्छ।

पार्किन्सन रोग पूर्ण रूपमा निको हुन्छ कि दीर्घकालीन व्यवस्थापन मात्र सम्भव हुन्छ ? 

अहिलेसम्म पार्किन्सन पूर्णरूपमा निको गर्न सक्ने उपचार विधि विकास भइसकेको छैन। यसलाई औषधि, फिजियोथेरापी, सर्जरीलगायतका उपचार विधिबाट व्यवस्थापन गर्न सकिन्छ। उपचारद्वारा व्यवस्थापन गर्न सकिने भएकोले लामो समय जिउन सकिन्छ। सम्बन्धित विज्ञसँग चिकित्सकसँग बेलैमा परामर्श गरी औषधि सेवनबाट पनि व्यवस्थापन गर्न सकिन्छ। पार्किन्सन लागिसक्यो भने धेरैजना अत्तालिएको पाइन्छ। पार्किन्सन हुँदा तुरुन्तै ज्यान जाँदैन। समयमै व्यवस्थापन प्राकृतिक जीवन जस्तो छ, त्यहीअनुसार जीवन चलाउन सकिन्छ। 

समयमा पहिचान उपचार गर्न नसक्दा थप जटिलता केही हुन सक्छ ?
 दैनिक जीवनयापन असहज हुन सक्छ। मिस डायग्नोसिस भएर पनि समस्या हुन सक्छ। जसले गर्दा जीवन जटिल र दुःखदायी हुन पुग्छ। आर्थिक र सामाजिक जीवन बिग्रन पुग्छ। त्यसैले पार्किन्सन र पार्किन्सन जस्तै अन्य समस्या हो कि होइन छुट्ट्याउन जरुरी छ। त्यसपछि पहिचान गरी पार्किन्सनको उपचार सुरु गर्ने हो भने थप जटिलता हुन पाउँदैन।

पार्किन्सनको उपचार व्यवस्थापनमा विज्ञ जनशक्तिको व्यवस्थापन कस्तो छ ? 

 पार्किन्सनको उपचार गर्ने न्युरोलोजिस्टको संख्या पर्याप्त छैन। जनशक्ति न्यून नै छ।

विकसित र विकासोन्मुख मुलुकमा पार्किन्सन रोगको अवस्था कस्तो छ ? 
रोग पहिचान गर्ने विधि प्रक्रिया उस्तै नै हो। औसत आयु धेरै भएका मुलुकहरूमा यो पार्किन्सन बढी देखिन्छ। सर्जिकल अन्य केही उपचार विकसित मुलुकमा उच्च स्तरको हुन सक्छ।

पार्किन्सनको सम्भावित जोखिमबाट जोगिन के गर्न सकिन्छ ? 

स्वस्थ र सक्रिय जीवनशैली अपनाउनु पर्छ। स्वस्थ खानपान, नियमित शारीरिक एवं मानसिक व्यायाम, समयमै सुत्ने र पर्याप्त निदाउने गर्दा पनि पार्किन्सनको सम्भावित जोखिमबाट जोगिन सकिन्छ। दिनहुँ हिँड्ने अभ्यास गर्दा पनि फाइदा हुन्छ। जनचेतना फैलाउन सकेमा पनि धेरै रोगहरूबाट जोगाउन सकिन्छ।

                                                                             प्रस्तुति:  दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.