सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित
सिन्धुपाल्चोक : समय सकिन लाग्दा समेत २५ प्रतिशतमात्रै सडक स्तरोन्नति भएको भन्दै चौतारा साँगाचोकगढी– ६ पिपलडाँडाका स्थानीय आन्दोलित भएका छन्।
शुक्रबार नारा जुलुस गर्दै पूर्वाधार विकास कार्यालय पुगेका उनीहरुले समयमै सडक स्तरोन्नति सम्पन्न नहुँदा स्थानीयले सास्ती भोगिरहनुपरेको बताए। ‘समय सकिन अब ४ महिना मात्रै बाँकी छ तर अहिलेसम्म चौथाइ काम पनि सकिएको छैन,’ स्थानीय सुनिल बुढाथोकीले भने– ‘समयमै सडक स्तरोन्नति नहुँदा स्थानीयलाई हिँड्नै मुस्किल परेको छ भने धुवाँ धुलोले स्वास्थ्यमा समेत असर पुर्याइरहेको छ।’
चौतारा–नवलपुर–मेलम्ची सडक खण्ड अन्तर्गत चौतारा–झ्याँडी खण्डको काम सुस्त भएको स्थानीयको भनाई छ। २०८२ असार मसान्तसम्म सडकको स्तरोन्नतिसहित कालोपत्रे सक्ने सम्झौता गरी काम थालेको सिद्धबाबा कन्स्ट्रक्सनले ढिलासुस्ती गरेको स्थानीय कृष्णबहादुर कुँवर बताउँछन्। ‘ढेकेदारले समयमा काम नगर्दा हामीले सास्ती पाउनु परेको छ। समयसीमा भित्रै काम सम्पन्न गराउनको लागि हामीले आन्दोलन गरेका हौं,’ उनले भने।
स्थानीयहरुले ‘हाम्रो माग पूरा गर,’ ‘हाम्रो करः हाम्रो’, ‘शिद्वबाबा कम्पनी खारेज गर,’ ‘पूर्वाधार कार्यालय होसियार,’ जस्ता नारा लगाएर पूर्वाधार विकास कार्यालय पुगेका थिए। आन्दोलनरत स्थानीयको माग सम्बोधन गर्न र समयमै काम सम्पन्न गर्न आफूहरूले ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश पौडेलले बताए। चौतारा नवलपुर, मेलम्ची सडक स्तरोन्नति आयोजनामा मापदण्ड अनुसार काम गर्न प्राविधिकले आफ्नो जिम्मेवारी वहन गरेको बताउदै निमार्ण पक्षले पनि छिटो छरितो काम गरेमा मात्र तोकिएको समयमा सकिने भौतिक उनले जनाए।
सिद्धबाबा कन्स्ट्रक्सनले चौतारादेखि झ्याडीसम्मको ८ दशमलव २ किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रेको लागि २०८० असार २२ गते ठेक्का सम्झौता गरेको थियो। २६ करोड ८२ लाख ९३ हजार २ सय ६० रुपैयाँ लागतमा २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको कम्पनीले सम्झौता सकिन ४ महिना बाँकी रहँदा २५ प्रतिशत मात्रै काम सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
ठेक्का सम्झौताको गरेको ६ महिनापछि मात्रै काम सुरु गरेको कम्पनीले ढिलासुस्ती गरेको भन्दै बागमती प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले समयमै काम सक्न निर्देशन दिएका थिए। सो सडकखण्ड स्तरोन्नतिको शिलान्यास गरेको दुलालले १ वर्षमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको भन्दै गुणस्तरीय कामसहित तोकिएको समयभित्र सम्पन्न गर्न अनुरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस !